Comments Add Comment

गण्डकीमा पत्रकारका लागि दुई करोड बजेट !

१६ असार, पोखरा । गण्डकी प्रदेश सरकारले पत्रकारलाई आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेटको व्यवस्था गरेको बताएको छ । कांग्रेस निकट प्रेस युनियन कास्कीसँगको भेटमा सामाजिक विकासमन्त्री तथा प्रवक्ता कुमार खड्काले पत्रकारका लागि उक्त रकम छुट्याएको बताएका हुन् ।

प्रवक्ता खड्काले आफ्नो सरकारले पत्रकारका लागि ‘नयाँ कार्यक्रम’ ल्याएको भन्दै उक्त रकम छुट्याएको बताए । ‘पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माण गर्न ६० लाख बजेटको प्रस्ताव पनि गरिएको छ,’ उनले भने ।

अहिलेको नवगठित सरकार जनताको पक्षमा रहेको प्रवक्ता खड्काले दाबी गरे । उनले पत्रकारको हकहितका लागि पत्रकारहरुसँगै सल्लाह गरेर अघि बढ्नेसमेत बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा प्रदेश सरकारले पत्रकार भवन निर्माणदेखि पत्रकार महासंघको प्रदेश शाखाले स्थापना गरेको कोषमा रकम दिनेसम्मका योजना उल्लेख छ ।

भेटमा प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने बताए । युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले मिडियाको अवस्था हेरेर उनीहरुको मर्म बुझ्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । वैशाख २९ गते गठन भएको प्रदेश सरकारको मन्त्रालय बाँडफाँड मिल्न नसक्दा बजेटमाथिको छलफल भने शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment