Comments Add Comment

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला 

१७ असार, विराटनगर । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो ।

बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै रहनेछ । विभागको सूचना अनुसार ३१ डिसेम्बरसम्म मात्रै आयात खुला गरिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई राहत मिलेको विराटनगरका उद्योगी विपिन काबराले बताए । भारतले आयात खुला गरे पनि नेपालबाट निकासी शुरु गर्न केही दिन लाग्ने उनले बताए ।

विराटनगरका उद्योगी उद्योगी अभिनाश बोहराका अनुसार एक महिनापछि मात्रै पाम तेलको निर्यात सहज हुनेछ । भारतले आयात बन्द गरेका कारण उद्योगहरुले कच्चा पदार्थ नल्याएको भन्दै उनले मलेसियाबाट कच्चा पदार्थ आयातपछि मात्रै निर्यात नियमित हुने बताए । ६ महिनाका लागि खुला भएको निकासीले निर्यातको व्यापारलाई बढाउने बताए ।

उनका अनुसार मोरङमा मात्रै सात वटा पाम तेलका उद्योगहरु छन् भने देशभर २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु छन् ।

ती उद्योगले मलेसियाबाट कच्चा पदार्थ आयात गरी पाम तेल बनाएर भारततर्फ निकासी गर्दै आएका थिए । भारतले आयात बन्द गरेपछि उद्योगहरुले उत्पादन कटौती गरेका थिए । नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment