Comments Add Comment

बीपी प्रतिष्ठानका उपकुलपति गिरीद्वारा आन्दोलनरत् पक्षलाई वार्तामा आउन आह्वान

१७ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत् पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । डा. गिरीले विज्ञप्ति जारी गर्दै आन्दोलनरत् पक्षको माग जायज भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले संस्थागत सुदृढीकरणका लागि आन्दोलनरत् पक्षले उठाएको माग जायज भएको र आपसी छलफल र सहकार्यबाट यसको निकास दिन तयार रहेको जनाएका छन् । मंगलबार डा. गिरी आन्दोलनरत् संघर्ष समितिलाई वार्तामा बोलाएको भए पनि उनले मादक पदार्थ सेवन गरेर आएको भन्दै वार्ता भंग भएको थियो ।

वार्तामा डा. गिरीले अस्वभाविक स्वभाव देखाएका कारण वार्ता गर्न नसकिने भन्दै आन्दोलनरत् पक्षका सदस्यहरु वार्ता कक्षबाट बाहिरिएका थिए । वार्ता समितिका सदस्यहरु बाहिरिएपछि उपकुलपति डा. गिरीसहित अन्य पदाधिकारीहरु भित्रबाट चुक्कुल लगाएर बसेको संघर्ष समितिका सदस्य तथा जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए ।

संयुक्त संघर्ष समितिले डा. गिरीले मादक पदार्थ सेवन गरेर वार्तामा आएको भन्दै उनको मापसे जाँच गर्न माग गर्दै उपकुलपतिको कार्यकक्ष बाहिर चर्को नाराबाजी गर्नुका साथै मोबाइल मार्च गरेका थिए । त्यसपछि प्रहरी परिचालन गरी कार्यकक्ष बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो । राति ९ बजेपछि उपकुलपति डा. गिरीलाई प्रहरी सुरक्षाबीच विराटनगरस्थित निवास पुर्‍याइएको थियो ।

यस विषयमा डा. गिरीले प्रतिष्ठानमा सिर्जित वातावरण सम्हाल्न रातदिन तल्लीन भई लामो समयसम्म काम गर्दा भौतिक र मानसिक चिन्ताका कारण शारीरिक अवस्था कमजोर भएको विज्ञप्तिमार्फत बताएका छन् ।

प्रतिष्ठानमा भएको बेतिथि रोक्न माग गर्दै प्रतिष्ठानका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले असार १ गतेदेखि संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् ।

बुधबार उपकुलपतिसहित प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा ताला लगाउँदै संघर्ष समितिले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा. डा. गुरु खनाल र मेडिकल डाइरेक्टर प्रा. डा. गौरीशंकर साहको बहिर्गमनलाई मुख्य मुद्दा बनाएका छन् । यस्तै प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्ड पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने माग पनि आन्दोलनरत् पक्षले राखेको छ  ।

प्रतिष्ठानका पदाधिकारीसँग वार्तामा बस्दैनौं : संयुक्त संघर्ष समिति

प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन–मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी संयुक्त संघर्ष समितिले बुधबार नै विज्ञप्ति जारी गर्दै अब प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नहुने बताएका छन् ।

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएकाले अब कुनै पनि खालको वार्ता नगर्ने निर्णय गरेको संघर्ष समितिका सदस्य तथा जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए ।

संघर्ष समितिले प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भए मात्रै वार्तामा बस्ने जनाएको छ । यसका साथै उनीहरुले एक साताभित्रै माग सम्बोधन नभए सामूहिक राजीनामा दिने घोषणा गर्ने र असार २३ सम्मको माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी समेत दिएका छन् ।

संयुक्त संघर्ष समितिले बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिँदै बिहान ८ बजेदेखि १० सम्म उपकुलपतिको कार्यकक्ष बाहिर सभा गरेको छ ।

उपकुलपति डा. गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई स्पष्टीकरण सोधेपछि प्रतिष्ठानमा आन्दोलन शुरु भएको थियो । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment