Comments Add Comment

अधिकारीको प्रश्न : राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्र गरेर पुग्ने हो ?

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले गणतन्त्रको प्रतीक राष्ट्रपतिबारे सबैले मनन् गर्नेबेला आएको बताएका छन् । राष्ट्रियसभा बैठकमा अधिकारीले राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गर्नुपर्ने हो भनी प्रश्नसमेत उठाए ।

‘सम्माननीय राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्र गरेर पुग्ने हो ? गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपतिको संस्थाको रक्षाकवज हुनुपरेन ?’ अधिकारीले सोधे । यसबारे सम्बन्धित सबैले सोच्नुपर्ने अवस्था आएको अधिकारीले बताए ।

प्रधानमन्त्री ओलीले जनताको संस्थागत संघीय संसद् माथि विश्वास नगर्दा थप समस्याहरु देखिदै आएको अधिकारीले बताए । ‘प्रमले जनताको संस्था संघीय संसदमाथि विश्वास गर्नु भएन । परिणाम आज पाँच सदस्यीय काम चलाउ सरकारको प्धानमन्त्री भएर खुम्चिनु परेको छ’, अधिकारीले भने ।

सिडिओमार्फत् सरकार चलाइँदैछ

आमजनताले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नुपरेको अधिकारीले बताए । ‘आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइँदैछ । यो कहिलेसम्म जाने हो ?’, उनले प्रश्न गरे । कोरोना महामारीका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरिएको बारेमा पनि अधिकारीले प्रश्न उठाएका छन् ।

‘म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ?’ अधिकारीले थपे, ‘विशषेज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’

प्रधानमन्त्रीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले अहिलेको परिस्थिति आइलागेको उनले बताए । आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको पनि अधिकारीले बताए ।

निषेधाज्ञा तोडेर चुनाव ?

अहिलेको परिस्थिति चुनाव अनुकुल नभएपनि सरकारले हठ देखाइरहेको उनको भनाइ छ । ‘के सरकारको विषेधाज्ञा–लकडाउन तोडेर निर्वाचन जान भनिएको हो ?’, अधिकारीले प्रश्न गरे । अर्थात् चुनावमा जान पनि सरकारकै उर्दी बाधक रहेको उनको तर्क छ ।

भारतमै पनि मध्यावधि चुनाव नभएको अधिकारीले संस्मरण गराए । युरोपतिर चुनाव भएको जिकिर प्रधानमन्त्रीले गर्दै आएपनि नेपालमा त्यस्तो नरहको उनले बताए । ती देशहरुमा घोषणा भएको २१ दिनमै चुनाव हुनसक्ने उनको भनाइ थियो ।

अझ कोरोना महामारी कहिले सकिने भन्ने प्रक्षेपण समेत सरकारसँग नभएको उनको भनाइ छ । ‘विशेषज्ञहरु कोभिडको तेस्रो लहर कात्तिक–मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’, उनले प्रश्न गरे ।

कोरोना नियन्त्रणमा सरकार असफल

अधिकारीले कोरोना संक्रमणमा सरकार पूर्णतः असफल भएको बताएका छन् । ‘कोभिड कालमै स्वास्थ्यमन्त्री तीन पटक फेरिनु मात्र यसको प्रमाण हैन, उपप्रधानमन्त्रीको अध्यक्षताको सीसीएमसीको पुनर्गठन गर्नुपरेको छ र प्रधानमन्त्रीले बागडोर आफ्नो हातमा लिनुभएको छ’ अधिकारीले भने ।

निषेधाज्ञा कायमै रहनुको अर्थ कोभिडको जोखिम उच्च रहेको अधिकारीले बताए । तर सरकारले प्रचार गरे जस्तो खोप ल्याउन नसकेको उनले बताए ।

‘दुखका साथ भन्नुपरेको छ– खोप ल्याउने भनेर जति सरकारले प्रचारित गर्‍यो, खोप आउन सकेन । छिमेकीसँग पनि हाम्रो कुटनीति फलदायी हुन सकेन’, अधिकारीले भने । अनुदान र खरीदबाट आएको खोप ७.५ प्रतिशत जनताले मात्रै पाएको तथ्य उनले प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment