+
+

रूपाले विद्रोह रोजिन्, हामीले के रोज्ने ?

राजेश विद्रोही राजेश विद्रोही
२०७८ असार १८ गते १५:२२

यतिबेला रूपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान पनि निकै चर्चामा छिन् । उनलाई मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नै जमानतमा प्रहरी हिरासतबाट निकाले । त्यस्तै, काठमाडौं मध्यपुर ठिमीका मेयर मदन सुन्दास श्रेष्ठ लगायतका समूहले ‘जातीय विभेद ठीक होइन तर, कसैको निजी सम्पत्तिमाथि दाबी गर्न पाउँदैन’ भनेर प्रधानको पक्षमा हस्ताक्षर अभियान नै चलाए । यतिबेला सुनार र प्रधानबीचमा दोहोरी चलिरहेको छ । सुनारमाथि भएको विभेदको विरुद्धमा मानिस सडकमा उत्रिएका छन् भने प्रधानको पक्षमा पनि केही मानिस देखिएका छन् ।

यसरी यतिबेला सुनार र प्रधानको पक्षमा छुट्टाछुट्टै माहोल छ । आखिर सत्य के हो ? विदेशी डलरको प्रभाव कि विभेद ? त्यो त व्यवहारले पुष्टि गर्ने कुरा हो । तर, प्रमाणित कुरा यही हो कि रूपा सुनारमाथि जातीय विभेद भएकै हो । घटना सुनियोजित होस् वा यथार्थ; घटना, घटना नै हो । घटना भएकै हो । दिनप्रतिदिन यस्ता घटना घटिरहेकै छन् । कुरा जति लुकाए पनि सामाजिक मनोविज्ञान छर्लङ्ग छ ।

छुवाछूत र जातीय विभेदलाई कलंकको रूपमा स्वीकारिएको छ । कानूनतः यस्ता गतिविधि अपराध नै हुन् । यसलाई न्यूनीकरण गर्न डलर पनि लगानी भएका होलान् । राज्यको लगानी पनि कम छैन । तर समस्या जहाँको त्यहीं छ । विभेदबाट दलित समुदाय मुक्त हुनसकेको छैन । सम्भ्रान्त र केही कुलीन वर्गको राज्यका धेरै निकायमा अहिले पनि हालीमुहाली नै छ । किन अझै पनि एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नै गन्ने पक्षमा छैन ? यसमा खास जड कुरा के हो ? हामी त्यसलाई कोट्याउन चाहन्छौं । र, हाम्रो ध्यान पनि त्यता केन्द्रित हुन जरूरी छ । समस्याको वैज्ञानिक पहिचान र उचित उपचार नगरी समाधान निकाल्न सकिंदैन ।

उन्मूलन गर्नुपर्ने छुवाछूतको मुद्दालाई केही पुरातन र परम्परावादी सोचका मान्छेहरूले पालेर बसेका छन् । र, यसलाई परम्परादेखि नै मसलाको रूपमा प्रयोग गर्दै आइएको छ । तर, उनीहरू उल्टै विभेद विरुद्ध उर्लिएको अभियानलाई परम्परामाथि विभेद गरेको र जातीय दंगा भड्काउन मसलाको रूपमा प्रयोग गरेको भनेर केही हिन्दुवादी संगठनहरू त खुलेरै विरोधमा उत्रिएका छन् ।

काठमाडौंमा दलितले कोठा नपाउने आजको समस्या होइन । यो घटना नयाँ ढंगले उद्घाटित भएको मात्रै हो । रूपासँग सहने कि विद्रोह गर्ने भन्ने दुई विकल्प थियो । अन्याय सहने विकल्प उनले रोजिनन् । रूपाको यही रोजाइलाई समाजको संस्थापनले पचाउन सकेन । स्वयम् मन्त्रीले पीडकको पक्षमा खुलेर राज्यशक्तिको डण्डा बर्साए ।

यसले के प्रमाणित गर्छ भने हाम्रो समाजमा लामो समयदेखि जातीय र धार्मिक विभेद छ । यसलाई तोड्न समाजले निकै प्रसव वेदना झेलिरहेको छ । यसको ठूलो मारमा छन् दलित समुदाय । त्यसैले पहिलेको प्रत्यक्ष विभेदभन्दा वर्तमानमा देखिएको अप्रत्यक्ष विभेद अझ खतरनाक देखिएको छ । हरियो घाँसभित्रको हरियो सर्पले डसेजस्तै यतिबेला पनि विभेदका विषालु सर्पहरूले डसिरहेका छन् । र, दर्जनौंको संख्यामा ज्यान लिइरहेका छन् । यसकै परिणाम हो– रूपा सुनारहरू र लकडाउनमा विभिन्न कारणले मृत्युवरण गरेका नवराज विक, शम्भु सदा, विजय राम, अंगिरा पासी, त्रिभुवन राम, राजु सदा, राजेश ऋषिदेव, सुकदेव खंग, रोशन राम, मलर सदाहरू ।

यतिबेला विभेदको स्वरुप हेर्दा लाग्छ यसलाई फाल्न लामै समय खर्चिनुपर्नेछ । लामो समय लाग्छ भन्दैमा फेरि अभियन्ताहरूले बाटो बिराउने र पछि आफैं भइहाल्छ नि भनेर झन् पछाडि धकेल्ने होइन । नभए यो विभेदको शृङ्खला समय र परिस्थितिनुसार फरक–फरक स्वरूपमा सल्किरहने जात हो । विभेदको सबैभन्दा ठूलो कारण समाजमा जमीनदारी प्रथाले लामो समयदेखि गरीब–धनीबीच ठूलो खाडल बनायो । आर्थिक हैसियतले विभेदको निर्धारण गरिदियो । यसैकारण समाजमा शोषक र शाषित वर्ग देखिएका छन्, रहँदै आएका छन् । जमीनकै कारण यतिबेला सरस्वती प्रधानहरू सडकमा हस्ताक्षर अभियान चलाउने भन्दै हिंडेका छन् । उनीहरू भनिरहेका छन्– ‘विभेद हाम्रो रोजाइ होइन तर, विभेदको नाममा कसैले कसैको निजी सम्पत्तिमाथि दाबी गर्न पाउँदैन ।’ यो भनेको के हो ? जुनसुकै भाषामा, चाहे कडा होस् वा नरम, कसैमाथिको विभेदको हतियार चलाउन पाइँदैन । समाजमा विभेदको जरा गाड्ने कामले समृद्धिको सपना पूरा हुँदैन । समाजमा विभेद कायम राखेर विकासको गफ चुट्नुको कुनै तुक छैन ।

सरस्वती प्रधानले दाबी गरेको आफ्नो निजी सम्पत्ति कहाँबाट आयो ? प्राकृतिक सम्पत्ति कसरी प्रधानहरूको निजी सम्पत्ति भयो ? के सरस्वती प्रधानले आफ्नो गर्भबाट जन्माएकी हुन् यो सम्पत्ति ? यसमा राज्य पूरै दोषी छ । जबसम्म प्राकृतिक सम्पत्ति जल, जमीन र जंगल लगायत राष्ट्रियकरण हुँदैन वा समान रूपमा वितरण हुँदैन तबसम्म यस्ता विभेदहरूको अन्त्य सम्भव छैन । बरु यस्तै विभेदहरू भजाएर शासकहरू निरन्तर शासक भइराखेका हुन्छन् । विभेदको सिंढी चढेर शासकहरू सत्तामा पुग्छन् र यसलाई नै भजाएर टिक्न चाहन्छन् । समाजमा दलन थपेर आफू उच्च कुलमा बाँचिरहन्छन् ।

यसरी जातीय विभेद गरेकी घरबेटी सरस्वती प्रधानको निजी सम्पत्तिमा आफ्नो अधिकार खोज्न आएकी भनेर रूपा सुनारलाई न्याय दिनुको सट्टा फरक तरिकाबाट विभेदलाई तोडमोड गर्न खोजिएको देखिन्छ । काठमाडौंमा दलितले कोठा नपाउने आजको समस्या होइन । यो घटना नयाँ ढंगले उद्घाटित भएको मात्रै हो । रूपासँग सहने कि विद्रोह गर्ने भन्ने दुई विकल्प थियो । अन्याय सहने विकल्प उनले रोजिनन् । रूपाको यही रोजाइलाई समाजको संस्थापनले पचाउन सकेन । स्वयम् मन्त्रीले पीडकको पक्षमा खुलेर राज्यशक्तिको डण्डा बर्साए ।

छुवाछूतको पक्षमा उभिने काठमाडौंका नेवार समुदायका केही अगुवाहरूलाई म आफ्नो इतिहास पढ्न हार्दिकतापूर्वक आह्वान गर्छु । नेवार समुदायले इतिहासमा योभन्दा ठूला पीडाहरू भागेका छन् जति अहिले दलित समुदायले भोगिरहेका छन् । विभेदको बदला विभेद गरेर लिने होइन, न्याय दिएर महानता प्रदर्शन गर्ने हो । हामी अग्रगमनको पक्षमा उभिनुपर्छ । समाजलाई अगाडि हिंडाउनुपर्छ । पछाडि फर्काउने होइन ।

अर्को कुरा, संसारमा समयअनुसार प्रगतिशील चरित्र ग्रहण गर्दै परिमार्जन भएका धर्महरू नै टिकेका छन् । अन्धविश्वास र रुढिवादलाई कुनै पनि रूप र रंगमा जोगाउन छहारी दिएर हिन्दू धर्मको संरक्षण हुँदैन । यसका अग्रज र अभियन्ताहरूले यसलाई मनन् गर्न जरूरी छ । संसार धेरै अघि बढिसकेको छ । नयाँ पुस्ता संसार घुमिरहेको छ र बदलिइरहेको छ । नयाँ पुस्ता विस्तारै मानवीय धर्म र प्रकृतिलाई जोगाउने धर्ममा आफूलाई समर्पित गर्न चाहन्छन् । युगको यो बाटो भुल्ने धर्म र विश्वास लामो समय नरहन सक्छन् ।

त्यसैले म भन्छु– रूपा सुनारमाथिको विभेद कुनै एक जातिमाथिको विभेद मात्र होइन, यो त सिंगो दलित समुदायमाथिको विभेद हो र मानव सभ्यताको स्वाभाविक गतिलाई अवरोध गर्ने प्रयास हो । यो त सिंगो मानवजातिमाथिकै ठूलो कलंकको रुपमा रहेको विभेद हो । हाम्रा पुर्खाहरूले जबर्जस्त लादेको पशुवत् व्यवहार हो । यसको अन्त्य गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले विभेदविरुद्ध सामूहिक आवाज उठाऔं । काँधमा काँध, हातमा हात मिलाएर लडौं । विभेदको अन्त्यपछि मात्र विकास र समृद्धिको बाटो सहज हुनेछ ।

लेखकको बारेमा
राजेश विद्रोही

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?