Comments Add Comment

मुग्लिनको जाममा परेका बेहुलाहरुको कथा

बिहे खान हिँडेको, चाउचाउ खाएर भोक मेट्दैछौं

तस्वीर : ज्ञानेन्द्रराज पोखरेल

१८ असार, चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दजनौं यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजेबाट झर्न थालेको पहिरो अझै पूर्ण रुपमा रोकिएको छैन । सडक सुचारु हुने र खुल्ने क्रम चलिरहेको छ ।

तर पूर्ण रुपमा सडक सञ्चालनमा नआएका कारण सवारीहरु लामो समय जाममा पर्ने गरेका छन् । मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधनहरुको लामो लाइन छ । यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एकापसमा गफिन थाले ।

त्यही बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे ।

ज्ञानेन्द्रका अनुसार जाममा परेका १२/१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिचे । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै ज्ञानेन्द्र भन्छन्, ‘बल्लतल्ल कालीखोला कट्यौं, कतिबेला बेहुलीको घरमा पुग्ने हो थाहा छैन ।’

बिहान चाँडै केटीको घरमा पुग्ने र छिट्टै गाउँ फर्किने योजना बनेको भए पनि जामले चौपट भएको उनले सुनाए । भन्छन्, ‘बिहे खान आएको, हामी सबे चाउचाउ खाएर प्राण धानिरहेका छौं । थकाइ पनि लाग्यो, सबै भोकले लखतरान भइसक्यौं ।’

ज्ञानेन्द्र सिरानचोक गाउँपालिकाका–५ का वडा सदस्य पनि हुन् । उनलाई अझै कति घण्टा जाममा बस्नुपर्ने हो थाहा छैन । ‘जन्तीको गाडी कटाउन प्रहरीले प्रयास गरिरहेको छ,’ ज्ञानेन्द्रले अनलाइनखबरसँग भने, ‘मिलेसम्म आज राति नै बहुली लिएर फर्किन पाएँ हुन्थ्यो, पानी परे केटीको घरतिरै बास बस्नुपर्ला ।’

मुग्लिन-नारायणगढ सडकखण्डको चारकिलोमा पुनः पहिरो आएर सडक अवरुद्ध भएको छ । त्यसलाई एकतर्फी खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । थप पानी नपरे एकतर्फी खुलाउँछौं,’ खनालले भने, ‘पानी परे हाम्रो पनि केही लाग्दैन ।’

उनका अनुसार सडकको चौधकिलोमा खसेको ठूलो ढुंगालाई ‘रक ब्रेकर’मार्फत फुटाउने काम भरहेको छ । तर ढुंगा मसिनो टुक्रामा फुटेकाले समय लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुवास पण्डित

ट्रेन्डिङ

Advertisment