Comments Add Comment

ओलम्पिक गुमाएका गोपीचन्द्रको पीडा : ममाथि घोर अन्याय भयो

१८ असार, काठमाडौं । ओलम्पियन बन्ने सपना थियो । त्यही सपनालाई पछ्याउँदै उनी सुदूरपश्चिमका डाँडापाखादेखि काठमाडौंका सडक गल्लीसम्म हजारौं किलोमिटर दौडिए । धेरै जुत्ता फटाए ।

आठौं बृहत राष्ट्रिय खेलकुद, १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका उनले ६ मंसिर २०७७ मा नेपालगञ्जमा छैटौं नेपालगन्ज म्याराथनमा स्वर्ण जितेपछि टोकियो ओलम्पिकको ढोका खुल्यो । उनले प्रण गरे, ३४ वर्ष पहिले बैकुण्ठ मानन्धरले राखेको कीर्तिमान तोड्न प्रयास गर्छु ।’

त्यसअनुसार मिहिनेत गरिरहे । तर १७ असारमा आएको खबरले उनको सबै सपना चकनाचुर भएको छ । त्यही पीडामा छन् उनी अर्थात् गोपीचन्द्र पार्की ।

०००

गोपीचन्द्रले २०७५/७६ मा नेपालगञ्जमा भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा ५ किलोमिटरमा स्वर्ण जिते । त्यो जितले उनलाई राष्ट्रिय टिमको क्याम्पसम्म ल्यायो ।

२०७६ भदौमा १३औं दक्षिण एसियाली खेलकुदका लागि १५ सय मिटर र ५ किलोमिटरमा छनौट भयो । दुवै विधामा उनी विजेता बने । १३औं सागको ५ किलोमिटमा फेरि छनौट भयो र त्यसमा उनलाई कसैले रोक्न सकेनन् ।

एक वर्षदेखि ओलम्पिकका लागि मेहनत गरेका गोपीचन्द्र भन्छन्, ‘जुन विधा पाए पनि खेल्छु भनेर तयारी गरें, आफ्नो शतप्रतिशत दिएँ । तर अहिले आएर यस्तो भयो । ओलम्पिक गुमाउनुको पीडालाई शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

ए२०७६ को मंसिरमा भएको सागको ५ किलोमिटरमा गोपीचन्द्रले नेपाललाई स्वर्ण दिलाए । एकपछि अर्को जित हात पारेका गोपीचन्द्रले २०७७ मंसिरमा नेपालगञ्जमा भएको छैटौं नेपालगन्ज म्याराथन जिते

राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथ्लेटिक्स संघले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटको मान्यता दिएकाले उनी टोकियो ओलम्पिकका लागि एथ्लेटिक्सबाट युनिभर्सल कोटामा परे । गोपीचन्द्रलाई लाग्यो, ओलम्पियन बन्ने सपना पूरा गर्न कसैले रोक्न सक्दैन ।

ओलम्पिक खेल्न करिब ८ महिना तयारी गरिरहेका पार्कीलाई १७ असारमा नराम्रो धक्का लाग्यो ।

राखेप, एनओसी र एथ्लेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै टोकियो ओलम्पिकमा म्याराथनमा धेरै आवेदन परेकाले त्यसमा नेपालबाट म्याराथन धावकलाई समावेश गर्न नसकिने र महिलातर्फ १०० मिटरमा अर्को खेलाडी पठाउन प्रस्ताव आएकाले १०० मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको बतायो ।

एक वर्षदेखि ओलम्पिकका लागि मेहनत गरेका गोपीचन्द्र भन्छन्, ‘जुन विधा पाए पनि खेल्छु भनेर तयारी गरें, आफ्नो शतप्रतिशत दिएँ । तर अहिले आएर यस्तो भयो । ओलम्पिक गुमाउनुको पीडालाई शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

तीन निकायले नेपालबाट म्याराथन धावकलाई समावेश गर्न नसकिने जानकारी आएको जिकिर गरेका छन् । तर गोपीचन्द्रले त्यसमा चित्त बुझाउन सकेका छैनन् । उनका अनुसार शुरुमा ‘टेक्निकल फल्ट’का कारण भन्ने आयो । ढिला नाम पठाएको भन्ने पनि आएको छ । अहिले कोटा नै पाएको भनेर आएको छ । भन्छन्, ‘कसले गर्दा यस्तो भयो थाहा छैन । तर मलाई अन्याय भयो ।’

ओलम्पिकका लागि तयारी गर्दा मात्र उनले ऋण लिएर झण्डै ५ लाख खर्चिएका छन् । कोरोना महामारी र लकडाउनको समयमा समेत एकदिन घरमा बसेनन् । उनका अनुसार म्याराथन लामो दूरीको दौड भएकाले दैनिक धेरै समय प्रशिक्षण गर्नुपर्छ । दशरथ रंगशालामा मात्र हरेक दिन ८०–९० राउण्ड लगाउँथे । भन्छन्, ‘कोरोनाको समयमा पनि निरन्तर प्रशिक्षण गरें । अरु सुतिरहेको हुन्थे । म राति १ बजेर उठेर कुद्थें । बिहान ५ बन्दा ट्रेनिङ सकाउँथें ।’

ओलम्पिकको सपनाको पछाडि दौडिएका उनले घर परिवारलाई समेत समय दिन पाएका छैनन् ।

नेपालगञ्ज म्याराथन जित्दै ओलम्पिकमा छनोट भएपछि एकपटक घर गएका थिए । त्यो पनि तीन वर्षपछि । ‘तेरो घर परिवार छैन भनेर ‘साथीहरुले पनि सोध्थे, तर म निरन्तर मेहनत गरिरहें,’ पार्की भन्छन्, ‘तर आज घरमा कसरी मुख देखाउने भन्ने अवस्था आयो । कुनै समय म यही छाती पुलाएर हिँड्ने म अहिले कसैले केही भन्ला कि भनेर टाउको झुकाएर हिँड्नुपरेको छ ।’

सशस्त्र प्रहरीका जागिरे उनी यदि कमजोर मन भएको भए आत्महत्या गर्ने अवस्था आउने गरी आफूमाथि अन्याय भएको सुनाउँछन् । धावक गोपीचन्द्र थप्छन्, ‘एउटा निर्णयले खेलाडीको करियर सकिन सक्छ । यसबारे कसले सोच्ने ?’

१२ वर्षमा खोला पनि फर्कन्छ

गोपीचन्द्रले सन् २०१२ देखि नै ओलम्पिकमा पुग्छु भन्ने लक्ष्य राखेका थिए, जतिबेला राष्ट्रिय टिममा आइसकेका थिएनन् । तर ओलम्पिक पुग्न कहाँ सजिलो छ र ? २०१६ मा उनीभन्दा राम्रो गरेका हरि रिमालले अवसर पाए । त्यसपछि गोपीचन्द्रले लगातार आफूलाई अब्बल सावित गर्दै ओलम्पिकको ढोका खोलेका थिए ।

तर अरुकै कारण त्यो अवसर गुम्यो । तर उनले हार मानेका छैनन्, बरु २०२४ को ओलम्पिकमा भाग लिने र सन् १९८७ मा भएको तेस्रो साफमा बैकुण्ठ मानन्धरले राखेको २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान तोड्ने लक्ष्य दिएका छन् ।

‘बैकुण्ठ गुरुले ३८ वर्षको उमेरमा कीर्तिमान बनाउनुभएको थियो । म त ३० वर्ष भएँ, अझै गर्नुसक्छु भन्ने छ,’ गोपीचन्द्र भन्छन्, ‘अहिले जे भयो, त्यसको क्षतिपूर्ति स्वरुप मलाई २०२४ को ओलम्पिकमा पठाउने सुनिश्चित गर्नुपर्‍यो ।’

२०२४ मा गोपीचन्द्रले ओलम्पिक खेल्ने सपना देख्न थालेको १२ वर्ष छुनेछ । १२ वर्षमा खोला पनि फर्कन्छ भने जस्तै आफ्नो दिन आउने आशमा छन् उनी ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment