Comments Add Comment

महिला सैनिकलाई हिल जुत्तामा परेड गराइएपछि युक्रेनमा विवाद

२० असार, काठमाडौं । युक्रेनमा महिला सैनिकले हिल जुत्ता लगाएर परेड गरिरहेको तस्वीर सार्वजनिक भएसँगै यसको चर्को आलोचना भएको छ । शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले महिला सैनिकहरुले हिल जुत्ता लगाएर परेडको अभ्यास गरिरहेको तस्वीर सार्वजनिक गरेको थियो । आगामी महिना युक्रेनले मनाउन गइरहेको ३० औं स्वतन्त्रता दिवसको तयारीको रुपमा महिलालाई हिल जुत्तामा परेड गराइएको हो ।

युक्रेनको रक्षा मन्त्रालयको सूचना दिने बेवसाइटमा उल्लेख गरिए अनुसार हिल लगाएर अभ्यास गरेकी सैनिक इभान्ना मेडभिडले भनेकी छिन्, ‘आज हिल लगाएर अभ्यास गरेको पहिलो पटक हो । यो अभ्यास सेनाको बुटमा अभ्यास गर्नुभन्दा गाह्रो छ तर हामीले प्रयास गरिरहेका छौं ।’

यो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र मुलुकको राष्ट्रिय संसदमा पनि यसको चर्को आलोचना भएको छ । ‘हिल जुत्तामा परेड गराउनु भनेको ठूलो अपमान हो,’ सामाजिक सञ्जाल फेसबुकमा कमेन्टेटर भिटाली पोर्टनिकोभले भनेका छन् । केही युक्रेनी अधिकारीहरुमा ‘मध्यकालीन’ मानसिकता रहेको उनको भनाइ छ । अर्की कमेन्टेटर मारिया साप्रानोभाले रक्षामन्त्री ‘लिंगभेदी र नारी जातिलाई घृणा गर्ने’ सोच भएको आरोप लगाएकी छिन् ।

पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोका निकटका केही नेता रक्षामन्त्रीको विरोधीस्वरुप संसदमा नै जुत्ता लिएर पुगेका थिए । ‘यतिसम्मको मूर्खतापूर्ण र हानिकारक सोच कल्पना गर्न पनि कठिन छ,’ गोलोस पार्टीकी सदस्य इन्ना सोभ्सनले भनिन् । उनले युक्रेनका महिलाहरुले पुरुषले जस्तै आफ्नो जीवनलाई नै जोखिममा राखेर सेवा गरिरहेको भन्दै उनीहरुको उपहास गरिन नहुने बताइन् ।

युक्रेनको संसदका सहायक सभामुख ओलेना कोन्ड्रात्युकले सम्बन्धित अधिकारीहरुले महिलालाई अपमान गरेकोमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने र यस विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । विपक्षी सांसद इर्यना गेरास्चेन्कोले यस किसिमको कार्य समानता नभई लिंगभेद भएको बताएकी छन् ।

युक्रेनको सेनामा ३१ हजारभन्दा बढी महिला छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment