
२० असार, गोरखा । सिरानचोक गाउँपालिका–४ का किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबारबाट यन्त्र वितरण थालिएको वडाध्यक्ष दीपक हमालले जानकारी दिए ।
‘हिजोबाट वितरण थालेका हौं,’ उनले भने, ‘आजसम्म २१ वटा यन्त्र वितरण गर्यौं ।’ कुल २५ वटा वितरण गर्ने योजना रहेको उनले बताए । टोल र बस्तीको आवश्यकता र किसानको मागको आधारमा यन्त्र वितरण गरिएको उनको भनाइ छ ।
फिरफिरे, आरुबोटे, गैरागाउँ, जैसीथोक लगायतका स्थानका किसानले यन्त्र पाएका छन् । बाँदर नियन्त्रणका लागि यन्त्रले काम गर्ने अपेक्षा गरिएको छ । ‘बाँदरले खेतीबाली नष्ट गरेर किसानहरु आजित बनेका छन्, यो यन्त्र पड्काएपछि बाँदर भाग्छ भन्ने छ, किसानलाई केही राहत मिल्छ भन्ने सोचेका छौं,’ हमालले भने । यसको प्रभावकारिता हेरेर आगामी वर्षमा पनि यन्त्र वितरणको कार्यक्रम ल्याउने उनले जानकारी दिए ।
सिरानचोक गाउँपालिकामा पहिलो पटक यो यन्त्र वितरण गरिएको उनको दाबी छ । सहज रुपमा किसानले यन्त्र प्रयोग गर्न सक्ने भएकाले प्रभावकारी हुने र बाँदरबाट खेतीबालीमा हुने क्षति कम हुने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया 4