News Summary
Generated by OK AI. Editorially reviewed.- भीमसेन थापा गाउँपालिकाले पालिकाका आठ वटै वडालाई जोड्ने गरी २४ किलोमिटर लामो चक्रपथ निर्माण गरिरहेको छ ।
- तीन खण्डमा विभाजित उक्त आयोजनाको हालसम्म छ किलोमिटर सडक पक्की भइसकेको इन्जिनियर कपिल पनेरुले जानकारी दिए ।
- प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले पक्की सडकले आर्थिक गतिविधि र कृषि उपजको बजार व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
१३ साउन, गोरखा । झिंगटेदेखि तान्द्राङको सिमलाफेदसम्मको कुल २४ किलोमिटर सडकखण्डलाई समेटेर भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको काम भइरहेको छ । पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्यसहित २०७६/७७ बाट काम सुरु भएको हो ।
उक्त सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । झिंगटेदेखि बोर्लाङको पाटेपानी ओरालोलाई पहिलो खण्डमा राखिएको छ । करिव ८ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नतीको काम भइरहेको पालिका इन्जिनियर कपिल पनेरुले बताए ।
‘झिंगटेदेखि अश्राङसम्म कालोपत्रे भइसक्यो, केही भागमा ढलान छ,’ इन्जिनियर पनेरुले भने, ‘अहिले अश्राङदेखि लेखापाखाको दुई किलोमिटर खण्ड स्तरोन्नतीको काम भइरहेको छ ।’
उक्त खण्डमा हालसम्म पालिकाले ६ करोड भन्दा बढी रकम खर्च गरिसकेको उनले जानकारी दिए । उक्त खण्डमा संघ र प्रदेशको पनि लगानी रहेको उनको भनाइ छ ।
बोर्लाङको पाटेपानीदेखि धावाको बिलेटारसम्मको दोस्रो खण्डमा भने कामले गति लिन सकेको छैन । वन क्षेत्रका कारण सडक स्तरोन्नतीमा समस्या परेको इन्जिनियर पनेरुले बताए । ‘वन क्षेत्र परेकाले ऐरीभन्ज्याङदेखि कटलेचौरसम्मको सडक बिस्तारमा समस्या भएको छ,’ उनले भने ।

सो क्षेत्रमा सडक ट्रयाक खोल्ने क्रममा वन फडानीको मुद्दा समेत लागेको थियो । अहिले मुद्दा फैसला भइसकेको छ । कुल ८ किलोमिटर दुरीको उक्त खण्ड अन्तरगत पाटेपानीदेखि ऐरीभन्ज्याङसम्म सडक स्तरोन्नतीको काम भने अघि बढेको उनले जानकारी दिए ।
धावाको बिलेटारदेखि तान्द्राङको सिमलाफेदसम्मको सडकलाई तेस्रो खण्डमा राखिएको छ । करिव ८ किलोमिटर दुरीको उक्त खण्डमा एक किमी सडक कालोपत्रे र एक किमि ढलान भइसकेको छ ।
चक्रपथ निर्माणमा पालिकाले हालसम्म सात करोड रकम खर्च गरिसकेको छ । संघ र प्रदेशबाट पनि बजेट विनियोजन भएर काम भएका छन् । पालिकाका अनुसार चक्रपथको हालसम्म ६ किलोमिटर सडक पक्की भइसक्यो । थप दुई किमि कालोपत्रेको तयारीमा छ ।

सडक स्तरोन्नतीसँगै ठाउँठाउँमा क्रस ड्रेनेज, रिटर्निङ वाल, नाला लगायतका संरचना निर्माणको काम पनि भएको छ । चक्रपथ निर्माणको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर पनेरुले बताए । उनले भने, ‘यो वर्षको ठेक्का सकियो, अवको वर्ष संघीय समपुरकको बजेट । ठेक्का प्रक्रिया अघि बढाएर काम सुरु गर्छाैं ।’
पालिकाको आठ वटै वडालाई पक्की सडकले जोडेर नागरिकको दैनिक जीवनयापन सहज बनाउने उदेश्यले चक्रपथ निर्माणको काम अघि बढाइएको भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
‘पक्की सडक भएपछि आर्थिक गतिबिधि बढ्छ,’ उनले भने, ‘स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सघाउ पुग्छ ।’
पालिकाको सडकमा बाह्रै महिना यातायात सञ्चालन हुनसके पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
प्रतिक्रिया 4