News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने दरौंदी खोला मोटरेबल पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो।
- १५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त ७८ मिटर लामो स्टिल ट्रष्ट पुलबाट स्थानीयले प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्।
- मुख्यमन्त्री पाण्डेले नयाँसाघुँ-गोरखा सडकखण्डको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२८ असार, गोरखा । क्रोनिक योजनाको रूपमा रहेको दरौंदी खोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने उक्त पुलको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
नयाँसाघुँ नारेश्वर हुदै गोरखा जोड्ने सडकखण्डमा रहेको उक्त पुलको कुल लम्बाई ७८ मिटर र चौडाई ८.४ मिटर रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । १५ करोड ६० लाखमा निर्माण भएको उक्त पुल स्टिल ट्रष्ट किसिमको रहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए ।
उनका अनुसार पुल निर्माणका लागि एलिट कन्स्ट्रक्सन कम्पनीसँग २०७८ साल असार ७ गते सम्झौता भएको थियो । गत बर्षको असार महिनामै सम्पन्न हुनुपर्ने भएपनि काममा ढिलाइ भएको उनले जानकारी दिए ।
‘२०८२ साल असार महिनामै पुलको काम सक्नुपर्ने थियो,’ अर्यालले भने, ‘काममा ढिलाई भएर दुई पटक म्याथ थप गर्यौं ।’ उक्त पुलबाट सिरानचोक, बारपाक सुलिकोट, अजिरकोट र गोरखा नगरपालिकाका स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।
पुल उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले नयाँसाघुँबाट गोरखा सदरमुकाम जाने सबैभन्दा छोटो सडक भएकाले पुल निर्माणबाट धेरै लाभ लिन सकिने बताए । सडक स्तरोन्नती आवश्यक रहेको भन्दै त्यसका लागि पनि बजेट विनियोजन गर्ने उनले जानकारी गराए । ‘पुल त बन्यो अव सडक स्तरोन्नती गर्नुपर्ने रहेछ,’ उनले भने, ‘आगामी वर्ष मैले बजेट बनाउन पाए भने यसका लागि पनि रकम छुट्याउछु ।’
शनिबार निर्धारित समय अगावै सम्पन्न दुई मोटरेबल पुलको उद्घाटन गरेका मुख्यमन्त्री पाण्डेले आइतबार भने समयमै काम सम्पन्न नभएको योजनाको उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया 4