Comments Add Comment

राप्रपाको अध्यक्षमा म पनि उम्मेदवारी दिन्छु : धवलशम्सेर राणा

२१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी कात्तिक २७–३० सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै दोस्रो पुस्ताका नेताहरुले नेतृत्वमा दाबीका लागि अग्रसरता देखाएका छन् ।

पुरानै नेताबाट पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सम्भव नहुने भन्दै दोस्रो पुस्ताका नेता धवलसमशेर राणालगायतका नेताहरु नेतृत्व परिवर्तनको छलफलमा जुटेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले आफू नेतृत्व लिन तयार रहेको बताएका छन् ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई गतिशील बनाउन नसकेको उनीहरुको आरोप छ ।  दुईपटकसम्म पार्टीको महामन्त्री भइसकेका र दोस्रो पुस्ताबाट नेतृत्व लिन अग्रसर देखाएका राणासँग अनलाइनखबरकर्मी प्रेम लामाले गरेको संक्षिप्त कुराकानी :

कात्तिकमा महाधिवेशन गर्ने घोषणा भइसकेको छ । तपाईंहरुको तयारी कस्तो छ ?

यो पटक मैले पार्टी अध्यक्षमा उठ्ने तयारी गरेको छु । साथीहरुले पनि सहयोग गर्छु भन्नुभएको छ । अग्रजहरुलाई सम्मान गर्दै राप्रपाको नेतृत्व गर्ने मनस्थिति बनाएको छु ।

पार्टीभित्रका दोस्रो पुस्ताले नै अब पार्टीको नेतृत्व हुनुपर्छ भन्ने हाम्रो माग छ । दोस्रो पुस्ताले नेतृत्व गर्नुपर्छ भनिरहँदा म नै हुनुपर्छ भन्ने पनि छैन । हामीहरु आपसी छलफल गरेर सहमतिमा उम्मेदवार टुंगो लगाउँछौं । हामीहरु बीचकै कोही साथी नेतृत्व लिन तयार हुनुभयो भने म पछि हट्न तयार छु । तर पार्टीको नेतृत्व दोस्रो पुस्ताबाटै हुनुपर्छ ।

त्यसो भए पार्टीका अध्यक्षत्रयप्रति तपाईंको असन्तुष्टि हो ?

अध्यक्षत्रयप्रति कुनै असन्तुष्टि छैन । पार्टी यहाँसम्म ल्याउनुभयो, यसको लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।

तर यथार्थ के हो भने पार्टी गतिशील हुन सकेन । पार्टीलाई चलायनमान बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यही अवस्थामा पार्टी अगाडि बढ्न सक्दैन । पार्टीलाई दिगो र मजबुत बनाउन उम्मेदवारी दिन लागेको हो ।

राप्रपाको नेतृत्व दोस्रो पुस्तालाई किन ?

राप्रपा कहाँ छ भनेर सबै नेपाली जनतालाई थाहै छ । जनतामाझ पार्टी स्थापित हुन सकिरहेको छैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी समेत रहेन । यहाँभन्दा बढी के भनौं ।

त्यसैले पार्टीलाई स्थापित गराउन अब दोस्रो पुस्ताले नेतृत्व लिनु आवश्यक छ । देशमा परिवर्तन ल्याउन, हिन्दू राष्ट्र स्थापना गर्न, राजासहितको प्रजातन्त्र स्थापना गर्न, देशमा भ्रष्टाचार निर्मुल गर्न, आर्थिक प्रगति गर्नका लागि पार्टीभित्र युवा पुस्ताको आवश्यक छ  । पार्टीको एजेन्डा स्थापित गर्न र पार्टीका कार्यकर्ताको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी अब नयाँ पुस्ताले लिन्छ ।

पार्टीभित्र दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण कति सम्भव छ ?

देशको माग, जनताको माग, कार्यकर्ताको माग अनुसार नै हामीले नेतृत्वमा दावी गरेका हौं । यो सम्भव छ ।

वैकल्पिक राजनीतिक शक्ति बनाउने धेयका साथ पार्टी एकता भएको थियो । त्यो लक्ष्य प्राप्त भयो कि भएन ?

पार्टी एकता त भयो तर पार्टीले सोचे अनुसार गति लिन सकेन र सकेको पनि छैन । नेपाली जनताको बीचमा पार्टी स्थापित हुन सकेको छैन । त्यसैले पार्टीलाई तीव्र गतिमा अगाडि बढाउने लक्ष्य हाम्रो हो । देशमा कंग्रेस र कम्युनिस्टबीचको जुन प्रभाव छ, त्यसलाई तोडेर विशाल पार्टी बनाउने योजनाका साथ नेतृत्व लिने अग्रसरता देखाएका हौं ।

अध्यक्षत्रयमा मेलमिलाप नदेखिएको हो ?

यसमा म कुनै टिकाटिप्पणी गर्न चाहदिनँ । हामीले तीनै जना अध्यक्षलाई मिलेर अघि बढ्न भनेका छौं । त्यही अुनसार साथ पनि दिएकै हौं र दिई पनि रहेका छौं । अब उहाँहरु अभिभावकीय जिम्मेवारीमा बस्नुपर्छ । उहाँहरुकै दिशानिर्देश अनुसार हामी पार्टीलाई अगाडि बढाउँछौं । उहाँहरुले सहयोग गर्नुप¥यो । दौडधुप हामी गर्छौं ।

लुम्बिनी प्रदेशसभाको उपनिर्वाचनमा तपाईं अनुपस्थित हुनुभयो । नेतृत्वप्रति असन्तुष्ट भएरै हो भनिन्छ नि ?

त्यस्तो केही पनि होइन । पार्टीका तीनैजना नेतालाई मैले उपनिर्वाचनबारे पार्टीको केही निर्णय छ कि भनेर अघि सोधेकै हो । उहाँहरुले पार्टीले त्यस्तो केही निर्णय गरेको छैन, तपाईं आफ्नो विवेक अनुसार गर्नुस् भन्नु भएको थियो । त्यही निर्णय अुनसार म अनुपस्थित भएको हुँ ।

यसअघि बागमती प्रदेशमा रामबहादुर थापा बादल जीलाई भोट हाल्दा पार्टीको कार्यकर्ताभित्र व्यापक असन्तुष्टि र निराशा पैदा गरायो । त्यसलाई निर्मुल पार्न पनि मैले सार्वजनिक रुपमै भोट नहाल्ने निर्णय गरेको हुँ । कांग्रेस र कम्युनिस्टलाई भोट हाल्नैपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै कारण नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment