+
+
निबन्ध :

देशप्रेम : बलभद्र कुँवरको विनिर्माण

गणेश कार्की गणेश कार्की
२०७८ असार २१ गते ९:३७

‘तपाईंलाई त देशको माया साह्रै धेरै लाग्छ नि !’ एकजना भाउजूले भन्नुभयो ।

साथीको कोठामा आयोजना गरिएको सानो पार्टीमा सरिक हुन गएको थिएँ । कुरै कुरामा देशका कुरा निस्के । देशका के भनौं, राजनीतिका कुरा निस्किए । नेताका कुरा निस्किए । सबैले बोलिरहेका ठाउँमा मैले पनि केही थान बोली थपथाप पारें ।

म ‘सामाजिक साइट’ तिर पनि व्यक्तिगत कुरा भन्दा सामाजिक कुरा बढी गर्न मन पराउँछु । जमघटमा पनि लगभग त्यस्तै हो । हाम्रा कुराका सामाजिक विषयहरुमा नेताहरुको आलोचना भन्दा नजिक र सजिलो अर्को केही हुँदैन ।

नेताहरुको आलोचना गर्नु मात्रै पनि राजनीति नहुनु पर्ने हो तर हाम्रोमा भइराखेकै छ । टाढा अनि अस्पष्ट देखिने भविष्यका धमिला कुराहरु पर्गेल्ने फुर्सद म जस्तो स्तरका मान्छेलाई सजिलै मिल्दैन । सजिलोको लागि पनि म त्यहि नजिकका कुरा बढी गर्छु । नेता (राजनीति)का कुरा गर्छु । मेरो बसिबियाँलो पनि त्यही हो ।

बलभद्रहरु केवल तलबकै लागि मात्रै युद्ध लडेका थिए भनेर कुनै इतिहासविदले प्रमाणित गरिदिए पनि मेरो मनमा बलभद्रप्रतिको सम्मान घट्दैन । के वास्तविकता र रोमाञ्चकताको यो खाडलले देखाउन सक्दैन होला, देशप्रेम र एयरपोर्टमा लाम लागेका म जस्ता युवाहरुको फरक ?

यसैले भाउजूले ठान्नु भयो सायद, मलाई अरुलाई भन्दा देशको माया अलि बढी नै लाग्छ । तर देशको माया गर्नु र फगत नेताका र राजनीतिका कुरा गर्नुमा कति फरक छ !

भाउजूले ठट्टै ठट्टामा भन्नुभयो होला भनेर मैले भाउजूको प्रश्न वास्ता गरिनँ । गफले अर्कै विषय समातिसकेको थियो । भाउजूलाई हेरें, उहाँ त जवाफ पर्खिए झैं मैतिर हेर्दै हुनुहुँदो रहेछ ।

मैले के जवाफ दिने ?

देश भनेपछि मरिहत्ते गर्छु भन्दिउँ ! मैले अहिले टेकिरहेको जमिन त आफ्नो देशको होइन फेरि । म अहिले मेरो कुनै पुर्खा नपुगेको देशको राजधानीमा बस्छु । किन छोडिस् त त्यस्तो माया लाग्ने देश भन्ने अर्को प्रश्न जोडिएला । देशको माया गर्दिनँ भन्दिउँ ? शरीर मात्रै यहाँ छ, मन त ‘प्लेन’ नै चढेको थिएन । एयरपोर्टको ढोकैबाट फर्कियो सायद ।

तर त्यो फर्किएको देशको लागि थियो कि घर परिवार, इष्टमित्र वा मायालुको लागि थियो ? अथवा, ‘ल अफ इनर्सिया’ यहाँ पनि लागू भयो ? परिवर्तन समात्न नसकेर मन जहाँको त्यहीं अडियो र म सरक्क हिंडिदिएँ । मन त्यहीं लडिरह्यो, कुदिरहेको बाहन एक्कासी रोकिदा उभिएको मान्छेको खुट्टा रोकिएर शरीरमात्रै अगाडि धकेलिदा मान्छे लडे जस्तो ।

म जान्दिनँ ।

प्रश्न गर्न असाध्यै सजिलो छ, सजिलो गरी प्रश्न गरिदिने हो भने । तर ती सजिला प्रश्नहरुले जवाफ दिनेलाई भने निकै गाह्रो बनाइदिन्छन् । खासमा सजिला प्रश्नहरुको विशेषता नै यही हो ।

सजिला प्रश्नहरु यति गजबका हुन्छन् कि परीक्षामा तिनै प्रश्नलाई कहिले २ नम्बर आउँने गरी, कहिले ५ नम्बर आउने गरी र कहिले १० नम्बर आउने गरी सोध्न सकिन्छ । समस्या त जवाफ लेख्नेलाई पर्ने हो । कति लेख्ने, कहाँबाट सुरु गर्ने र कहाँ लगेर सकिदिने ?

म सम्झिन्छु, सजिला प्रश्नहरुले मैले निकै पटक सरहरुलाई हायलकायल पारेको छु । कक्षामा सरले भर्खर इतिहास पढाइसक्नु भएको थियो । बलभद्र कुँवर, अमरसिंह थापा, नालापानीको युद्ध, अंग्रेज, तिब्बत यस्तै धेरै–धेरै शब्दहरु र अन्तिममा देशप्रेम । सबै विद्यार्थीहरु रोमाञ्चित भइ गोर्खालीका पराक्रम सुनेर बसेका छन् । मलाई भने नजानिदो सकसक सधैंको ।

म उभिएर सोध्छु, बलभद्र कुँवर र अमरसिंह थापाहरु बिना तलब देशप्रेम भन्दै देशका लागि लड्थे कि तलब पनि लिन्थे ? तलब कम भयो भनेर गनगन गर्थे कि गर्दैनन् थिए ? कक्षा सकेर निस्किन हतार गर्दै गरेका सरको अनुहार दुरुस्तै त्यस्तै भयो, जस्तो भाउजूको प्रश्नले मेरो अनुहार भयो होला । उभिएर एकछिन मेरो अनुहारमा घोरिएर सर निस्कनु भयो ।

यति लामो समय भोगेर मैले गरेका प्रश्नहरु जवाफ खोज्दै आज म तिरै सोझिएका छन् । आज, व्यक्तिगत वा सामाजिक कारणहरुले विदेशिएको मलाई बलभद्र कुँवर र अमरसिंह थापाहरुले तलब या त्यस्तै केही लिएर मात्र युद्ध लडे होलान् भन्ने ठोकुवा गर्न गाह्रो पर्दैन ।

बलभद्रहरु केवल तलबकै लागि मात्रै युद्ध लडेका थिए भनेर कुनै इतिहासविदले प्रमाणित गरिदिए पनि मेरो मनमा बलभद्रप्रतिको सम्मान घट्दैन । के वास्तविकता र रोमाञ्चकताको यो खाडलले देखाउन सक्दैन होला, देशप्रेम र एयरपोर्टमा लाम लागेका म जस्ता युवाहरुको फरक ?

यो उत्तर आधुनिक समाजमा प्रविधिले साँघुर्याएर विश्वलाई सानो गाउँ बनाइदियो । तर यही उत्तर आधुनिक समाजको महत्वकांक्षाले घरलाई तन्काएर देश बनाइदियो । घर चलाउनु देश चलाउनु भन्दा कम गाह्रो छ र ? विश्व बैंकका ठूला किताबहरुमा अर्थतन्त्रका रेखाचित्रहरु म बुझ्दिनँ । भ्रष्टाचारले थिलथिलो भएको देशमा किन खोलिएका उद्योगहरु बिक्री हुन्छन् र नयाँ खोल्न सकिंदैन, म थाहा पाउदिनँ ।

हाम्रो स्वास्थ्य, शिक्षा र पूरै हामी कसरी प्रयोगशालाको भ्यागुतो जस्तो बनेका हौं, थाहा छैन । बरु यी सबैभन्दा प्रस्ट देख्छु, मेरो आफ्नो साहुको ऋण र त्यसको अकासिदो ब्याज । कलेजो बिरामी भए उपचार गर्न मिर्गौला बेच्नुपर्ने स्थिति । पढिसकेको भोलिपल्टदेखि बेरोजगार भइने कोराज्ञान । बाली लगाउँदा, हुर्काउँदा र उठाउँदा लागेको ऋण तिर्न देखिने अर्को वर्षको बाली सप्रिने सपना ।

मेरो हिसाब मिल्दैन, मैले बगाएका पसिना र रगतले यहाँ बढी भाउ पाउँदैछन् कि आफ्नै देशमा पाउँथे ? बेला–बेला गाउँहरु रित्ता भएका खबर सुन्छु । लाश बोक्न लोग्ने मान्छेहरुले मात्रै नपुगेर स्वास्नी मान्छेहरुले काँध थापेको फोटो समाचारमा देख्छु । मेरै घर छेउमा खड्काकी कान्छी छोरी आफैं हलो बोकेर गोरुसहित खेतमा पुग्छिन् अरे । ‘लोग्ने मान्छेले जस्तै मेलो सक्छे’ भन्ने खबर पनि अब त पुरानो भइसक्यो । समाज यस्ता कुरामा बानी पर्यो ।

म विदेशमा हरेक दिनजसो एकपटक आँखा चिम्लेर गाउँको बजारबाट घर र घरबाट बजार पुग्छु । यहाँ पाएको हरेक महिनाको तलबलाई नेपालीमा रुपान्तरण गर्न क्यालकुलेटर थिच्दा, लाग्छ, म आफ्नै जमिनमा मलजल गर्दैछु, जो म पछिको पुस्ताको समयमा फल्न र फूल्न सक्छ । मेरो देशभक्ति सजिलो छ । फूल जस्तो छ । ओइलिएर झरे पनि त्यही बोटका लागि मल बन्ने ।

म जान्दिनँ, यी फेरिएका कुराहरु बाध्यताबश भए कि समयको माग नै यही थियो ! भर्खर देश छोडेकाहरुले निकै पहिले देश छोड्नेहरुलाई गरिने सामान्य प्रश्न गर्नु भयो भाउजूले । यसरी नै केही वर्षपछि जब भाउजूले देश छोडेको लामो समय भइसक्छ र नयाँ आगन्तुकले यही प्रश्न गर्छ, त्यसबेला भाउजूको जवाफ के हुन्छ होला ?

म भाउजूको प्रश्नले मनमनै एकोहोरिए जस्तै नवआगन्तुकको प्रश्नले भाउजू एकोहोरिनु होला÷नहोला । मैले देशको ढुकुटी र टोपी बचाएको छु भन्ने तर्क सोचेजस्तै भाउजूले कुनै तर्क सोच्नु हुन्छ हुन्न । तर यति चाहिं निश्चत छ, देशको अंश अलिकति मात्रै मनमा रहिरहँदासम्म (जुन पूर्णरुपमा हट्न सम्भव नै छैन ।) पुरानाले नयाँ देख्दा चुकचुकाउने र नयाँले पुराना देख्दा विस्मित देख्ने भने भइरहनेछ । कायरता र पलायनको तुष आफ्नै देश नफर्कुन्जेल खिलजस्तै मनमा रहिरहनेछ । त्यो तुष एक तिहाइ जमिन गुमाउन सुगौली सन्धिमा हस्ताक्षर गर्दै गरेका गुरुराज मिश्र र चन्द्रशेखर उपाध्यायको मनमा आए भन्दा कम हुन्छ र ?

म कहिलेकाहीं बलभद्र कुँवरहरु भएर सोच्छु । उनीहरुले लडेका हरेक युद्धहरु त्यसपछि विरतास्वरुप पाइने उपहारहरुले लडाउँथे भन्ने निष्कर्षमा पुग्छु । उपहार कम र बढीको अर्थ हुन्थ्यो, जितेका भागहरुमा कम र बढी लुटपाट, कम र बढी हिंसा । र सायद उनीहरुको युद्धमा बिल्कुलै फरक किसिमले देशको माया थिएन । थियो भने पनि हामीले पढ्ने गरेको जस्तो तिलस्मी र निष्काम त कुनै पनि हालतमा थिएन ।

किन–किन मलाई बलभद्र कुँवरहरुको देशप्रेमको कथा र मैले विदेशबाट बा–आमालाई उपचारका लागि पठाएको पैसाले देशको अर्थतन्त्र धानिएको छ भनेर लेखिएको प्रतिवेदन उस्तै लाग्छन् । मुख्य उद्देश्यलाई असरल्ल छोडेर ‘बाइप्रोडक्ट’मा रमाए जस्तो । मकैको घोगो बारीमै छोडेर ढोड मात्रै बटुलेर हिंडे जस्तो । कान्लामा भएको रुद्राक्षको रुख हेरेर खोले पकाउने दाउरा प्रसस्त देखे जस्तो ।

म दुरुस्त भन्न सक्दिनँ तर आजको युगमा भन्न सक्छु, तिनीहरुले आफ्नै घरलाई देश भनेका थिए र देशलाई घर । युद्ध जितेपछि पाएको उपहारमा वा लुटेको धनमा तिनले पनि देख्थे होलान्– छोराको भविष्य, प्यारीको खुसी, बा–आमाको आशिर्वाद । उसरी नै, जसरी म हरेक महिनाको तलबमा कलेजो बिग्रिंदा मिर्गौला बेच्न नपरेको देख्छु, साहुको ऋणको रेखाचित्र ओरालो झरेको देख्छु र देख्छु कोराज्ञानले उभ्याएको अनुभवको अकासिदो सिँढी, जहाँ म ठसठसी कन्दै उक्लिदैछु सिंगो घर बोकेर ।

अनि सोच्छु, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाहरुको र मेरो देशभक्तिमा के फरक छ ? बेला–बेला आफ्नै भोगाइ एउटा युद्ध जस्तो भएर आउँछ । पानीको मुहान थुनिदिएको नालापानीको युद्ध । म त्यस्ता युद्ध पटक–पटक लड्छु । कहिले जितेर झण्डा फहराउँछु र कहिले हारेर हातमा नांगो खुकुरी टल्काउँदै किल्ला छोड्छु । फरक यति हो, यो युद्धमा हामीले बोल्ने ‘कि–वर्ड’हरु फेरिएका छन् । ‘हर हर महादेव’, ‘जय भद्रकाली’, ‘जय गोरखाली’, ‘सिमाना’, ‘जय पराजय’ हरुको सट्टामा हामी ‘ब्रेनड्रेन’, ‘भिसा र पर्मिट’ ‘प्रमोसन र कम्पनी’ आदिआदि भन्ने गर्छौं ।

विश्व बैंकका ठूला प्रतिवेदनहरु पल्टाउने हो भने, आधुनिक राज्यका स्वाभिमान र सिमानाहरु केलाउने हो भने, प्रोफेसर डेभिड स्टानर्डहरुका कुरा पत्याउने हो भने, कुनै पनि देशको स्वभिमान र सिमानाहरु उसको अर्थतन्त्रले जोगाउँछ र भत्काउँछ । मुख्य उद्देश्यलाई एकछिन बिर्सेर फेरि पनि ‘बाइप्रोडक्ट’मा आधारित हुने हो भने, मैले पठाएको पैसाले देशको स्वभिमान र सिमानाहरु जोगिएका छन् ।

भने, म बलभद्र कुँवर जस्तै देशभक्त कसरी होइन ? भाउजू, अझै पनि चित्त बुझेन भने जानु र हेर्नु, मुठ्ठी भर्ने सपनामा आफू स्वयम् काठका बाकसमा भरिएर आउने देशभक्तहरु । के तिनको मरण युद्धमा विरगति पाए भन्दा कम छ ? यी देशभक्त होइनन् भने म पनि देशभक्त होइन र बलभद्रहरु पनि देशभक्त होइनन् ।

मेरो देशको माया ठूलो, अजंग र मैले उठाउनै नसक्ने छैन । मनमा दुःख परेको बेला आँखा चिम्लेर आफू हिंडेको गाउँको बाटो सम्झिदा एउटा अचम्मको शान्ती छाउँछ । म यहाँ विदेशमा हरेक दिनजसो एकपटक आँखा चिम्लेर गाउँको बजारबाट घर र घरबाट बजार पुग्छु ।

यहाँ पाएको हरेक महिनाको तलबलाई नेपालीमा रुपान्तरण गर्न क्यालकुलेटर थिच्दा, लाग्छ, म आफ्नै जमिनमा मलजल गर्दैछु, जो म पछिको पुस्ताको समयमा फल्न र फूल्न सक्छ । मेरो देशभक्ति सजिलो छ । फूल जस्तो छ । ओइलिएर झरे पनि त्यही बोटका लागि मल बन्ने ।

र, मैले यहाँ लेखेका कुनै पनि कुरा असत्य र बनावटी छैनन् । भाउजू, सायद यही हो, ‘देशको माया’, म भित्र बाँचिरहेको । म सधैं यसरी नै देशको मायाको कुरा गरिरहेको हुन्छु, समय समयमा स्थान र शब्दहरु फेरिने मात्रै हुन् ।

लेखकको बारेमा
गणेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?