Comments Add Comment

अष्ट्रेलियाको भिक्टोरियामा किन लगाइयो २४ घण्टे ‘बिरालो कर्फ्यु’ ?

अष्ट्रेलियाको एउटा शहरले बिरालो कर्फ्यु लागू गर्ने भएको छ । भिक्टोरियास्थित नक्स शहरको नगर परिषदले आगामी अक्टोबर १ देखि लागू हुने गरी बिरालो कर्फ्यु लगाउने भएको हो ।

जस अनुसार कफ्र्युको समयमा स्थानीय बासिन्दाहरुले आफ्नो घरपालुवा बिरालोलाई आफ्नै घरभित्र राख्नुपर्नेछ र बाहिर निस्कन दिन पाइने छैन ।

नक्स नगर परिषदकी मेयर लिसा कूपरका अनुसार बिरालो तथा स्थानीय वन्यजन्तुको संरक्षणका लागि २४ घण्टे बिरालो कर्फ्युको  नियम ल्याइएको बताइन् ।

कुकुर तथा अन्य घरपालुवा जनावरजस्तै बिरालोहरु पनि अब आफ्नो मालिकको घर बाहिर स्वतन्त्र रुपमा एक्लै डुल्न पाउने छैनन् । मेयरका अनुसार यसरी डुल्न दिनाले बिरालोहरु बिरामी पर्ने र चोटपटक लाग्ने खतरा उच्च हुन्छ । बिरालोलाई घरभित्रै राख्ने वन्यजन्तुको संरक्षण हुनुका साथै बिरालोले छिमेकी तथा उनीहरुका घरपालुवा जनावरहरुलाई दिक्क पार्ने क्रम पनि रोकिन्छ ।

वर्तमान घरपालुवा जनावर व्यवस्थापन योजनाअन्तर्गत उक्त बिरालो कर्फ्युको नियम बनाइएको र यस्तो कर्फ्युलाई ८५ प्रतिशत मानिसले समर्थन गरेको बताइएको छ ।

गतवर्ष उक्त शहरमा सूर्यास्तदेखि सूर्योदयसम्म बिरालोलाई घरभित्रै राख्नुपर्ने गरी कर्फ्यु लगाइएको थियो । त्यसक्रममा अधिकांशले मानिसहरुले रातको समयको कर्फ्युमात्रै नभई २४ सै घण्टाको बिरालो कर्फ्यु लगाउनुपर्नेमा जोड दिएका थिए । त्यसरी राय दिनेमा आधाजसो त बिरालो धनी नै थिए ।

उक्त क्षेत्रमा ७ हजार वटा घरपालुवा बिरालो रहेको तथ्यांक नगर परिषदसँग छ ।

बिरालो कर्फ्यु लगाउने योजनाको वातावरणवादीहरुले पनि समर्थन गरेका छन् । घरपालुवा बिरालोले चरा, साना स्तनधारी जनावर तथा छेपारोलगायतका वन्यजन्तु मारेर क्षति पुर्‍याउने गरेकोमा कर्फ्युपश्चात् त्यो क्रम रोकिनेमा स्थानीय वातावरण समाजका अधिकारीको आशा छ ।

नयाँ नियम अनुसार बिरालो कर्फ्युको उल्लंघन गरेर आफ्नो बिरालोलाई घर बाहिर जान दिने बिरालोधनीलाई पहिलो पटकका लागि ९१ डलर जरिवाना हुनेछ । दोश्रो पटक र त्यसपछि पनि नियम उल्लंघन गरेमा हरेक पटकका लागि ५४५ डलर जरिवाना तिर्नुपर्नेछ ।

तथापि नयाँ कानूनको विषयमा स्थानीय मानिसहरुमा पूर्णरुपमा जानकारी प्रवाह गर्नका लागि सुरुको ६ महिनासम्म जरिवानामा छुट दिइने र नियम उल्लंघन गर्नेलाई चेतावनी मात्र दिएर छाडिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment