Comments Add Comment

मत बदर नहुने मतदाता शिक्षामा जोड दिन प्रमुख निर्वाचन आयुक्तको सुझाव

२१ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् । निर्वाचन आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएको बताए ।

‘निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन, यसमा सबैको सहकार्य जरुरी छ,’ उनले भने । निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैंले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको भन्दै थपलियाले आधाभन्दा बढी जनसंख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए ।

आयोगको तथ्यांक अनुसार देशभर करीब एक करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ ।

डब्लुडब्लुजेकी अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तामिलको आयोजना गरेको जानकारी दिइन् ।

तालिममा निर्वाचन आयोगका तर्फबाट तीन कार्यपत्र र डब्लुडब्लुजेका तर्फबाट एक कार्यपत्र प्रस्तुत हुनेछ । प्रत्येक प्रदेशबाट तीन/तीन गरी २१ पत्रकार महिला तथा आयोग र डब्लुडब्लुजेका गरी ४० जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment