Comments Add Comment

यस्तो बन्नेछ सैनामैनाको पर्रोहा बोलबम धाम (फोटो फिचर)

१४ करोड लागतको गुरुयोजना तयार

२२ असार, बुटवल । रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित गुरुयोजना बनेको छ । सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार धाममा मूल मन्दिर सहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ ।

पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । चारवटा ढोकासहितको मूल मन्दिरको छानो ५१ फिट लम्बाइको हुनेछ, जुन काठमाडौंको पशुपतिनाथ मन्दिरभन्दा ठूलो हो ।

मूल मन्दिरको चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ भने मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । करिब ५ सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए ।

मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ ।  मूल मन्दिरको पूर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र विभिन्न देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने गुरुयोजनामा रहेको न्यौपानेले बताए । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति धामको आकर्षण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले बताए ।

धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजनामा रहेको चौधरीले बताए । यस्तै हालको साधुसन्त आश्रमलाई सबलीकरण गरी पुरातात्विक रुपमा मर्मत सुधार गर्ने, महिला तथा पुरुषका लागि पर्याप्त शौचालय बनाइने छ । मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुली बत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गर्ने, ढल तथा वर्षे पानी निकासको व्यवस्था गर्ने र मन्दिरको आम्दानी वृद्धिका लागि ११ वटा कलात्मक पसल घर बनाइने गुरुयोजनामा समेटिएको छ ।

पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण शुरु भएको धामका रुपमा प्रख्यात रहेको धामका संरक्षक किशोर गौतमले बताए । यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पुजन गरेको श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा उल्लेख भएको गौतमले बताए । गौतम बुद्धले पनि पर्रोहा परमेश्वरको दर्शन गरेको इतिहासविद्को तर्क छ ।

हिन्दू धर्मालम्बीहरुको आस्थाको स्थलको रुपमा परिचित पर्रोहा धामलाई पश्चिम नेपालको पशुपतिनाथका रुपमा विकास गरी धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित गुरुयोजना बनाएर काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने र दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment