Comments Add Comment

हाम्रो समूह एक ढिक्का छ, महाधिवेशनमा प्रतिस्पर्धा गर्छौः सिटौला

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा आफ्नो समूह प्रतिस्पर्धामा उत्रिने बताएका छन् । महाधिवेशन नजिकिएसँगै नेता सिटौलाले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन् ।

मंगलबार गौशालास्थित अनुपम फुडल्याण्डमा आयोजित अन्तर्क्रियामा नेता सिटौलाले महाधिवेशनमा आफ्नो समूहले उम्मेदवारी दिने बताएका हुन् । ‘१३ औं महाधिवेशनमा हाम्रो तयारी खासै थिएन, यसपटक हाम्रो शक्ति पनि बढेको छ । हाम्रो समूह यसपटक प्रतिस्पर्धामा उत्रिन्छ,’ उनले भने ।

पूर्वमहामन्त्री सिटौलाले आफ्नो समूह एकै ठाउँमा रहेको उल्लेख गरे । सिटौला समूह छिन्नभिन्न भएको चर्चा सत्य नभएको उनको भनाइ थियो । ‘हामी सबै एकै ठाउँमा छौं, एक भएर महाधिवेशनमा लाग्छौं,’ सिटौलाले भने । सिटौला समूहका नेता गगन थापा र प्रदीप पौडेल कार्यक्रममा अनुपस्थित थिए ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेता थापा आफन्तको निधन भएका कारण काठमाडौं बाहिर गएको र पौडेल क्रियाशील सदस्यता छानविन समितिमा रहेकाले अनुपस्थित भएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधान, विभिन्न भातृसंस्थाका पदाधिकारी सहभागी थिए । नेता सिटौलाले आफ्ना समूहका नेता कार्यकर्तालाई महाधिवेशनमा जुट्न निर्देशन दिए । अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आसन्न महाधिवेशनमा एक्लै जाने कि मिलेर जाने भन्ने प्रश्न गरेका थिए ।

१३ औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए । उनको समूहबाट थापा महामन्त्री, चौधरी कोषाध्यक्ष र शिव हुमागाइँ बागमतीबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए । कांग्रेस महाधिवेशन १६ भदौदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment