Comments Add Comment

छोरीलाई जन्म दिएकी रक्षा भन्छिन्–‘अभिनयमा फर्किनेबारे तत्काल सोचेकी छैन’

हाँस्य सिरियल ‘भद्रगोल’मा काम गरेपछि चर्चामा रहेकी कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छिन् । दुई महिना अगाडि छोरीलाई जन्म दिएकी रक्षाले आफू आमा बनेको खबर भने आज मात्र सार्वजनिक गरेकी हुन् । उनले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ जानकारी फ्यान एवं शुभचिन्तकलाई दिएकी हुन् ।

गत बैशाख २३ गते रक्षाले छोरीलाई जन्म दिएकी हुन् । उनले आफूलाई व्यक्तिगत कुराहरु गोप्य राख्न मनपर्ने भएकोले आमा बनेको कुरा पनि दुई महिनासम्म सार्वजनिक नगरेको बताइन् । ‘खासमा मलाई व्यक्तिगत कुराहरु गोप्य नै राख्न मनपर्छ । सोहीकारण आमा बनेको खबर बाहिर ल्याएकी थिइन । आज मेरो जन्मदिन पनि परेको र छोरी पनि दुई महिना पुरा भएकाले फेसबुकमा पोष्ट गरेकी हुँ’ – रक्षाले अनलाइनखबरसँग भनिन् ।

रक्षाले १३ वर्षअगाडि मिग्मा गुरुङसँग विवाह गरेकी हुन् । बैवाहिक जिवनमा बाँधिएको लामो समयपछि रक्षाले छोरीलाई जन्म दिएकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेको जानकारी दिइन् ।

उनले आफू र श्रीमान् दुबैलाई छोरी मनपर्ने र पहिलो सन्तान छोरी नै हुँदा धेरै खुसी लागेको सुनाइन् । रक्षाले आमा बन्दाको खुशी शब्दमा बयान गर्न नसकिने बताइन् । भनिन्–‘यो खुसी शब्दमा कसरी ब्यक्त होला र खै । छुट्टै खुसी महशुस गरिरहेकी छु । छोरीसँग निकै रमाईलोका साथ दिनहरु बितिरहेको छ ।’

कोरोना त्रासका कारण आज परेको आफ्नो जन्मदिन घरभित्रै सामान्य तरिकाले मात्रै मनाउने रक्षाले जानकारी दिइन् रक्षाले ‘सक्किगोनि’का केही भागमा पनि अभिनय गरेकी छिन् । थुप्रै म्युजिक भिडियो र विज्ञापनहरुमा समेत उनले अभिनय गरेकी छिन् । गर्भवती भएपछि भने उनले अभिनयबाट ब्रेक लिएकी थिइन् ।

उनले अहिले अभिनयमा फर्किनेबारे भने आफूले तत्काल नसोचेको बताइन् । ‘अहिले पुरा समय छोरीलाई नै दिनुपर्छ । छोरी सानै भएकाले अभिनयमा फर्किन अझै केही समय लाग्ला’– उनले भनिन् । अभिनयमा परिवारबाट साथ र समर्थन रहेकाले चाँडै दर्शकमाझ आउने उनले बताईन् । रक्षाले हाँस्य सिरियल ‘सक्किगोनी’मा काम गर्ने बिषयमा कुराकानी पनि भैरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment