Comments Add Comment

डोटीका पाँच शाखा सडक कालोपत्रे गरिँदै

२३ असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी जिल्लाभित्रका पाँच शाखा सडकहरु कालोपत्रे गर्दैछ ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दिएको जानकारी अनुसार पाँच शाखा सडकमा ८६ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको छ ।

खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रुपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय मिटर सडक स्तरोन्नति गरि कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । ‘यसमा दुई खण्ड छ, एउटा आठ किलोमिटरको एउटा साढे सात किलोमिटरको’ कार्यालय प्रमुख खत्री भन्छन् ‘एउटाको काम करीव ८० प्रतिशत सम्पन्न भएको छ, अर्कोको करीव ५५ प्रतिशत सकियो ।’

आर्थिक बर्ष २०७५-०७६ को योजना अनुसार सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रेका लागि २०७६ साल असार ३० गते सम्झौता भएको थियो । १५ करोड ९७ लाख १२ हजार पाँच सय ४२ रुपैयाँमा ३० महिनाभित्र काम सम्पन्न गरिसक्नु पर्ने गरि सिएवी कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौता अनुसार करीव ८० प्रतिशत काम सम्पन्न भईसकेको खत्रीले वताए । उनले यो खण्डको काम तोकिएकै समयमा पुरा हुने समेत दावी गरे ।

कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रेका लागि पनि २०७६ साल असार ३० मै सम्झौता भएको थियो । २२ करोड ५० हजार ४४ रुपैयाँ सम्झौता रकम रहेको उक्त सडक खण्डमा ५५ प्रतिशत काम सम्पन्न भईसकेको खत्रीले जानकारी दिए ।

जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ्ग जोड्ने सडक पनि प्रदेश सरकारले कालोपत्रे गरिरहेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिलगढीदेखि साढे सात किलोमिटर सडक कालोपत्रेका लागि राजेन्द्र पिएस जेभीसंग २०७६ साल असारमा १६ करोड १५ लाख ७० हजार तीन सय १० रुपैयाँमा सम्झौता भएको थियो ।

३० महिनाभित्र सम्पन्न गर्नु पर्ने उक्त सडकमा ५० प्रतिशतको हाराहारीमा काम भएको कार्यालय प्रमुख खत्री वताउँछन् । सिलगढी–झिग्राना सडकको तुलनामा यस सडकमा सुस्त गतिमा काम भईरहेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् ।

आर्थिक बर्ष २०७५-०७६ कै योजना अनुसार राजपुर–फलेडी–धिर्कामाण्डौं सडकमा साढे नौ किलोमिटर कालोपत्रेको काम भईरहेको छ । सम्झौता रकम २२ करोड ९१ लाख ४९ हजार चार सय ९५ रहेको उक्त सडकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको पूर्वाधार कार्यालयको दावी छ । उक्त सडक कालोपत्रेको जिम्मेवारी केएस कन्स्ट्रक्सनले पाएको छ ।

बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रेका लागि तीन खण्डमा काम भईरहेको छ । संघीय सरकारले हस्तान्तरण गरेको १० किलोमिटर कालोपत्रेको योजनामा ८० प्रतिशत काम सम्पन्न भईसकेको छ । यही असार मसान्तमा सम्पन्न हुनु पर्ने उक्त कार्य कोरोना महामारीका कारण प्रभावित भएको खत्री बताउँछन् ।

उनले उक्त काम सम्पन्न हुन थप करीव ६ महिना लाग्ने बताए । ३० करोडको हाराहारीमा सम्झौता रकम रहेको उक्त कार्य लुम्वीनी राजेन्द्र जेवीले सञ्चालन गरिरहेको छ । उक्त कार्य संघीय सरकारले ठेक्का सम्झौता गरि प्रदेश सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको थियो ।

बुडर–जोरायल–गड्सेरा सडकमै प्रदेश सरकारको योजना अन्तरगत थप १७ किलोमिटर कालोपत्रे काम भईरहेको छ । २०७७ असार ३० गते शर्मा राजेन्द्र जेभीसंंग ३२ करोड ७१ लाख ४७ हजार पाँच सय ६५ रुपैयाँमा लागत सम्झौता भएको उक्त कार्य तीन बर्षसम्म सक्नु पर्ने शर्त छ । उक्त योजनामा करीव २५ प्रतिशत प्रगति भएको खत्रीले जानकारी दिए ।

वुडर–जोरायल सडक खण्डमै थप साढे सात किलोमिटर कालोपत्रेका लागि चालु आर्थिक बर्षमा पनि योजना परेको छ । गत असार १५ गते १२ करोड ५३ लाख रुपैयाँमा केएस कन्स्ट्रक्सनसंग भएको सम्झौता अनुसार उक्त कार्य दुई बर्षमा सम्पन्न गरिसक्नु पर्नेछ ।

सहजपुर–बोगटान दिपायल सडकको राजपुर–रानागाउँसम्मको करीव साढे नौ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भईसकेको खत्रीले जानकारी दिए । संघीय सरकारले केएस कन्स्ट्रक्सनसंग ३० करोडको ठेक्का सम्झौता गरि कार्यान्वयन गर्न उक्त कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

उक्त सडकमा रानागाउँदेखि वायलसम्म १० किलोमिटर कालोपत्रेको कार्य भईरहेको खत्रीले वताए । ‘२ वर्षमा काम सम्पन्न गर्ने गरि २०७७ असार ३० गते राजेन्द्र निर्णाण सेवासँग सम्झौता भएको छ’ खत्रीले भने ‘प्रदेश सरकारको वजेट अन्तरगत १७ करोड ६३ लाख तीन हजार सात सय ८७ रुपैयाँमा सम्झौता भएको हो ।’ उनले उक्त सडकमा करीव २५ प्रतिशत कार्य प्रगति भएको वताए ।

सहजपुर–बोगटान दिपायल सडक अन्तरगत सहजपुरदेखि अत्तरकाँडासम्म करीव ५२ किलोमिटर सडक संघीय सरकारले कालोपत्रे गर्दैछ। यसअघि डोटी जिल्लामा कुनै पनि शाखा सडक कालोपत्रे भएका थिएनन् । कैलालीदेखि डोटी जिल्ला सदरमुकाम हुँदै अछाम–बाजुरा जाने मुल सडक मात्रै कालोपत्रे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment