+
+

हनुमाननगरका मूर्तिहरू घर फर्किन्छन् !

अजयकुमार झा अजयकुमार झा
२०७८ असार २४ गते १३:००

इतिहासकार हरिकान्त लाल दासको अनुसन्धानमूलक पुस्तक ‘सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख स्थलहरू’ अध्ययन गर्दा के बुझिन्छ भने जसरी सप्तरी जिल्लाको वर्तमान सदरमुकाम राजविराजको अस्तित्व विक्रम संवत् १९९५ अघि थिएन, त्यसैगरी वि.सं. १९२८ अघि पूर्व सदरमुकाम हनुमाननगरको पनि अस्तित्व थिएन । जसरी सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगर कोशी कटानमा परेपछि सदरमुकामको नयाँ नगर बसाई राजविराज कायम गरियो, त्यसैगरी नरहा बरहा कोशी कटानमा परेपछि अड्डाहरू सार्न हनुमाननगर बसाइयो ।

माथि उल्लिखित तथ्यसँगै एक अर्को तथ्य पनि छ । जसअनुसार दासले उल्लेख गर्नुभएको छ कि वर्तमान हनुमाननगर नयाँ बसालिएको नगर मात्र होइन, यो प्राचीन नगर ‘हनुमानगढी’ पनि हो । नयाँ नगर बसाल्न जंगल फडानी गरिरहँदा हनुमानको मूर्ति भेटिएको थियो, हनुमाननगरको हनुमान मन्दिरमा स्थापित मूर्ति त्यही मूर्ति हो ।

दासका अनुसार हनुमाननगरको हनुमानको मूर्ति शक्रसिंहको सखडामा रहेका मूर्तिहरूकै समकालीन हो । यसबाट उहाँले हनुमानगढी कम्तीमा पनि ७०० वर्ष पुरानो गुल्जार भएको स्थान भएको बताउनुभएको छ । कालान्तरमा विधर्मीको आक्रमणमा परी वा अन्य कुनै कारणले हनुमानगढी ध्वस्त भएको वा विस्थापित भएको र पछि नरहाबजार स्थानान्तरित हुँदा पुनः नगर बसेको हुनसक्ने उहाँको धारणा छ ।

यसमा मलाई के लाग्दछ भने शक्रसिंहको सरोकार ‘सकरपुरा’ सँग पनि जोडिएको बताइन्छ, जुन कि हनुमाननगरदेखि दक्षिणतर्फ नजिकै पर्दछ । यसबाट यस्तो निष्कर्ष पनि निकाल्न सकिन्छ कि शक्रसिंहको सम्बन्ध हनुमानगढीसँग पनि जोडिएको होस् । किनभने हनुमाननगरको हनुमानको मूर्ति र सखडेश्वरी छिन्नमस्ता मन्दिरका मूर्तिहरू एकै खाले प्रस्तरबाट र एकै समयमा बनेको ऐतिहासिक तथ्य खुल्न आएको छ । यदि त्यसो नै हो भने यो कुरा हामी सबैका लागि र विशेषगरी हनुमाननगर निवासीहरूका लागि अत्यन्तै गौरवको विषय हो ।

यो त सबैलाई थाहा भएकै कुरा हो कि पहिलेको सप्तरीको आकार (क्षेत्रफल) र अहिलेको सप्तरीको आकार फरक छ । २०१५ सालको आम निर्वाचनको समयसम्म पनि धनुषा, सिरहा र सुनसरी जिल्लाको नामोनिशान थिएन । वर्तमान धनुषा जिल्ला त्यतिखेर महोत्तरी (जिल्ला) मा पर्दथ्यो भने सुनसरी जिल्लाको धेरै जसो भाग मोरङ जिल्लामा पर्दथ्यो । वर्तमान सिरहा जिल्ला सप्तरीमा पर्दथ्यो । भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो ।

वीरशमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ गरी जम्मा ३५ जिल्लामा विभाजन गरिएको थियो । २०१८ साल वैशाख १ गते राजा महेन्द्रद्वारा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो । त्यस क्रममा सप्तरी जिल्लालाई पूर्वमा कोशी नदी र पश्चिममा बलान नदीका बीच सीमित गरियो । २०७४ साल भदौ ५ गते देखि देशभरिमा ७७ जिल्ला कायम गरिएको छ, जसमा तराईको नवलपरासी जिल्लालाई दुई भागमा र पहाडका रुकुम जिल्लालाई दुई भागमा बाँडिएको छ ।

वि.सं. २०३२ मंसिर २६ गते नेपाल सरकारले सप्तरी जिल्लाबाट कोशीपारिका हरिहरपुर, कुशाहा, लौकही, मधुवन, श्रीपुर जानकी जब्दी, सोमनपुर कटाई सुनसरी जिल्लामा समावेश गर्‍यो । त्यसैगरी कोशीको कटानमा परेको नरहा बरहा र लिलजा पनि सप्तरीकै हिस्सा थियो । नरहा बरहा सप्तरीको हिस्सा मात्र थिएन, हनुमाननगरअघिको जिल्लाको सदरमुकाम वा त्यतिखेर सदरमुकाम नै नभनिए पनि कुनै महत्वपूर्ण स्थान अवश्य नै थियो । किनभने इतिहासकार दासले आफ्नो पुस्तकमा लेख्नुभएको छ– ‘हनुमाननगरभन्दा तीन–चार माइलपूर्व नरहा भन्ने ठाउँमा सरकारी अड्डाहरू थिए । त्यो ठाउँ भारतीय सीमा नजिक रहेकोले त्यहाँ बजार अड्डा थियो । त्यहाँ एउटा जेलखाना पनि थियो ।’ बजार, प्रशासनिक अड्डा, कारागारसमेत हुनुको तात्पर्य नरहा अवश्य पनि व्यापारिक तथा प्रशासनिक आधार भएको बजार थियो ।

पूर्वमा रंगेली बजारदेखि पश्चिम र पश्चिममा ठाढी (लौकहा) देखि पूर्वको सयौं माइल दूरीको सीमान्त क्षेत्रको एक महत्वपूर्ण नाकाको रूपमा नरहा थियो भन्दा अतिशयोक्ति नहोला । नरहा कुन तहको सरकारी स्थान थियो भन्दाखेरि इतिहासकार दासले एउटा लिखित प्रमाण सुझाउनुभएको छ । श्री ५ रणबहादुर शाहको राज्यकालमा सप्तरी बैरवाका पं. उद्यानन्द अर्याललाई कंकालिनी माईको पूजाआजा गर्न दिइएको कास्यपत्र (विर्ता) नरहाबाटै अख्तियारवाला सरदार बलभंजन पाँडेले जारी गरेका थिए । यसबाट प्रष्ट हुन्छ कि विर्ता दिनेसम्मका अधिकार भएको प्रशासनिक अड्डासमेत नरहामा थियो ।

नरहा बजारको त्यतिखेरको महत्वको वर्णन त्यहाँ रहेका विभिन्न मन्दिरहरूको आधारमा पनि गर्न सकिन्छ । मन्दिरहरू दशक वा शताब्दीको अन्तरालमा निर्मित हुन्छन् । एक दुई मन्दिरको निर्माण त जुनसुकै गाउँ बजारमा हुन सक्छ तर नरहामा जुन र जति मन्दिरको किसिम र संख्या ज्ञात हुन्छ, त्यस आधारमा पनि भन्न सकिन्छ कि नरहा बजार चानचुन स्थान थिएन । नरहा बजारमा दर्जनौंको संख्यामा मन्दिर रहेको प्रतीत हुन्छ । तीनवटा वा सोभन्दा बढी त देवी भगवतीकै मन्दिर रहेको देखिन्छ । त्यसपछि गणेश, विष्णु, महादेव, राम, हनुमान आदि अनेक मन्दिर समेत त्यहाँ रहेको बुझिन्छ ।

भनिन्छ, सप्तकोशी नदी कुनै समय झापा जिल्ला हुँदै बग्दै गरेको थियो । यस नदीको प्रवाहको प्रवृत्ति क्रमशः पश्चिम सर्दै जाने किसिमको थियो । सप्तकोशी नदीमा ५५ वर्षअघि ब्यारेज निर्माण भयो । त्यसबखत नदीको दुवै किनारमा तटबन्ध बनाइयो । नदी किनारमा तटबन्ध बनाइएकाले नदीको दिशा परिवर्तनको प्रवृत्ति एक हदसम्म नियन्त्रित भयो । तैपनि कोशी ब्यारेजबाट दक्षिण–पश्चिमतर्फ नियाल्ने हो भने कोशी प्रवाहको पुरानो प्रवृत्ति सावित हुन आउँछ । हुनत अहिले ब्यारेजदेखि दक्षिण बग्ने पानीको प्रवाहलाई चिर्दै धार खनिएको छ ताकि नदीको धार फैलिन रोकियोस् ।

इतिहासकार दासका अनुसार राजविराज स्वर्ण टोलमा रहेको गणेश मन्दिर, राजविराज हटियामा रहेको राधाकृष्ण मन्दिर, सिरहा रोडबाट कचहरी रोड जाने कुनामा रहेको रामचन्द्र मन्दिर, जिल्ला प्रशासन कार्यालय अगाडिको हरिनन्देश्वर महादेव मन्दिर र त्यसैको पूर्वपट्टि रहेको चण्डी भगवती मन्दिरका मूर्तिहरू नरहाबाटै ल्याइएका थिए । यसैगरी केही समयअघिसम्म सप्तरी जिल्ला अदालत परिसरमा रहेको निसान भगवतीको मन्दिरको मूर्ति पनि नरहाबाटै ल्याइएको थियो । नरहाबाट ल्याइएका कारण हरिनन्देश्वर महादेव मन्दिरको मूर्तिलाई अझै पनि धेरैले नरहा महादेव भनेर बुझ्दछन् र पुकार्दछन् पनि ।

उपरोक्त ती सबै मन्दिरहरू राजविराज नै सारिएका होइनन् अथवा राजविराज सारिएकामध्ये पनि सबै सीधै नरहाबाट राजविराज स्थानान्तरित गरिएका होइनन् । अपितु सर्वप्रथम हनुमाननगर, मनसापुर वा अन्य स्थानमा सारिए र पछि अन्य स्थानमा स्थानान्तरित गरिएका हुन् । हनुमाननगरको हनुमान मन्दिरको मूर्ति पनि नरहाबाटै ल्याइएका हुन् भनी भन्नेहरू पनि छन् । हुनत त्यो मूर्ति नरहा बजारबाट ल्याइएको नभई त्यहीं परापूर्वमा हनुमानगढी रहेको कुरा बढी ऐतिहासिक तथा प्रामाणिक रहेको देखिन्छ ।

सप्तकोशी नदीको प्रवाहको दिशा र स्थान परिवर्तन हुँदै नदी नरहा बजारनजिकै आइपुगेको थियो होला अथवा नदीको बाढीले नरहा बजारलाई आफ्नो चपेटामा लियो होला र यसरी नरहा बजार कि त ध्वस्त भएको होला अथवा नरहाबजार अन्यत्र विस्थापित हुने परिस्थिति उत्पन्न भएको होला । इतिहासकार दासका अनुसार कोशी नदीको बाढीले गर्दा त्यहाँका अड्डा र बजार त्यहाँदेख ३–४ माइल पश्चिम हनुमानगढीमा सारियो । हनुमानगढी क्षेत्रमा त्यति बेला जङ्गल रहेकोले आवादी थिएन ।

पुरातत्व विभागको प्रतिवेदनमा हनुमाननगर बजारको स्थापना वि.सं. १९२८ मा भएको देखिन्छ । त्यसै बेला हनुमाननगरलाई सप्तरी जिल्लाको सदरमुकाम पनि घोषणा गरिएको उहाँ बताउनुहुन्छ । एउटा यो भनाइ पनि छ कि सप्तरीमा चन्द्रनहर निर्माण गरिएको बेला हनुमाननगर बसाल्ने कार्य पनि भयो । तर यो दुवै तिथि मितिमा निकै ठूलो अन्तर देखिन्छ । किनभने चन्द्रनहरको निर्माण वि.सं. १९७९ मा शुरु भई वि.सं. १९८५ मा पूरा भएको थियो ।

इतिहासकार दासका अनुसार यसै बखत नरहाका मन्दिरहरू पनि सारिए । महादेव मन्दिरको मूर्ति मनसापुर ल्याइए भने अन्य मन्दिरहरूमा भएका मूर्तिहरू हनुमाननगर सारिए । कालान्तरमा कोशी नदी स्थान परिवर्तन गर्दै हनुमाननगरछेउमै आइपुग्यो । वर्षेनि कोशी नदीको बाढीले हनुमाननगरको कटान गर्दै लग्यो । बाढीले हनुमान मन्दिरलाई बगाएन तर त्यहाँ छेउको भगवती मन्दिरलाई भने बगायो । नगरमा कोशीको बाढी प्रवेश गर्न लागेको देखेपछि स्थानीयले महादेव मन्दिरको शिवलिङ्ग हनुमान मन्दिरको प्राङ्गणमा राखी दिए जो अद्यावधि छँदैछ । त्यस्तै हनुमान मन्दिरनेर विष्णु मन्दिर पनि थियो । बाढीले त्यसलाई पनि बगायो ।

निसान भगवतीलाई नेपाली सेनाले राजविराज सारी पुरानो मालअड्डाको छेउमा स्थापित गर्‍यो । हाल मालपोत कार्यालय दक्षिणतर्फ सारिएको छ भने निसान भगवती नेपाली सेनाको काठमाडौं ब्यारेकमा सारिएको छ । त्यो स्थान अहिले सप्तरी जिल्ला अदालतको परिसरमा परिणत भएको छ । यस्तै हनुमाननगरबाट गणेशको मूर्ति र रामका मूर्तिहरूलाई राजविराज ल्याई स्थापित गरियो । गणेश मन्दिर स्वर्णटोलमा र राम मन्दिर सिरहारोडमा स्थापित छ ।

हनुमाननगरबाट राजविराज ल्याइएको अर्को मूर्ति लक्ष्मीनारायण राधाकृष्ण र चण्डी भगवती हो । लक्ष्मीनारायण राधाकृष्णको मूर्ति हनुमानगनरदेखि पूर्व गोबरगाढामा रहेकोमा कोशीले कटान गर्न थालेपछि भक्तजनले राजविराज ल्याए । लक्ष्मीनारायण राधाकृष्णको मूर्ति राजविराज हटियाको बीच भागमा मन्दिर बनाई स्थापित गरियो । यो मन्दिर अहिले भव्य एवं कलात्मक तरिकाबाट निर्माण गरिंदै छ । चण्डी भगवतीको मन्दिर नरहा महादेव मन्दिरको पूर्वपट्टि निर्माण गरिएको छ ।

कोशी कटानका कारण हनुमाननगरबाट देवी–देवताका मूर्तिहरू राजविराज सारिएको ८० वर्ष भइसकेको छ । हनुमाननगरका मूर्तिहरूको स्थानान्तरण घटनाका साक्षीहरू पनि इतिहास भइसकेका छन् । चश्मदीद शायद कोही जीवित होला । तर ती मूर्तिहरू आज पनि नरहा, हनुमाननगर हुँदै राजविराज सरेको इतिहासमा बाँचेका छन् । नरहाबजारको अस्तित्व रहेन । तर हनुमाननगर पूर्ण रूपमा डुबानमा नपरेका कारण आफ्नो अस्तित्वलाई जोगाएर राखेका छन् । कोशी नदीमा ब्यारेज र तटबन्ध निर्माण भएका कारण हनुमाननगर अब पूर्ण रूपमा सुरक्षित छ । कोशी कटानको चुनौती अब रहेन ।

बल्कि अब यो गाउँपालिकाबाट नगरपालिकामा समेत रूपान्तरित भइसकेको छ । कोशी ब्यारेजदेखि कुनौली बोर्डरसम्म यसको आकार फैलिइसकेको छ । देशको परिवर्तित संविधानले अन्य पालिकाझैं हनुमाननगर कंकालिनी नगरपालिकालाई पनि सशक्त बनाएको छ । हनुमाननगरको विकास प्रक्रिया क्रमशः अघि बढ्दै गएको छ । यसले पनि एक दिन गर्व गर्ने लायकको अवस्थामा कोल्टे फेर्नेछ । तर सबाल उठ्छ कि हनुमाननगरबाट राजविराज प्रवासमा गइसकेका देवीदेवताका मूर्तिहरू के हनुमाननगर पुनः फर्किएलान् ?

हनुमाननगर निवासी चन्द्रानन्द झा (बच्चाबाबू) का अनुसार हनुमाननगरवासी परिस्थितिजन्य कारणले यहाँबाट राजविराज सारिएका मूर्तिहरू पुनः आफ्नै गाउँठाउँमा फर्किएको देख्न चाहन्छन् । आफ्ना इष्ट देवीदेवताको पूजाआराधना फेरि गर्न चाहन्छन् । उनीहरू चाहन्छन् कि हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाले आपसमा वार्ता गरोस् र ८० वर्षअघि हनुमाननगरबाट राजविराज सारिएका मूर्तिहरू आफ्नो घर फर्कियोस् । हनुमाननगर त्याग्न नपरेको हनुमान मन्दिर आज भव्य बनेको छ । हनुमान मन्दिरको पुरानो भवन जीर्ण भएपछि स्थानीय उद्योगपति समाजसेवी सीताराम काबराले नयाँ मन्दिर निर्माण गर्नुभयो । हनुमाननगरका बासिन्दा थप मन्दिरहरूको निर्माण गर्न समर्थ छन् ।

मूर्ति तथा अन्य पुरातात्विक सम्पदाहरू फिर्ता माग गर्नु अनौठो कुरा होइन । संसारका अन्य देशहरूले पनि आफ्ना पुरातात्विक सम्पदाहरू फिर्ता माग्ने तथा फिर्ता पाउने गरेका छन् । चोरी, तस्करीका कारण विदेशिएका नेपालका प्राचीन मूर्तिहरू नेपालले फिर्ता पाएका छन् । गत वर्ष अमेरिका सरकारले तीनवटा गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गर्‍यो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका थिए । गैरकानूनी रूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरीदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिकी सरकारको नीतिअनुसार ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

भारतीय मूलका ब्रिटिश सांसद किथ वाजले ब्रिटेनबाट संसारकै प्रसिद्ध कोहिनूर हीरा भारतलाई फिर्ता गर्न अभियान सञ्चालन गर्दै आउनुभएको छ । कोहिनूर हीरा आन्ध्र प्रदेशको गुंटूर जिल्लास्थित कोल्लूर खानीबाट निकालिएको थियो । यसलाई दुनियाँको सबैभन्दा ठूलो हीरा मानिएको छ । यस हीरामाथि काकतीय राजवंशको स्वामित्व थियो, जसलाई एक मन्दिरमा देवीको तेस्रो आँखाको रूपमा स्थापित गरिएको थियो । त्यसपछि अनेक आक्रमणकारीको हातमा पुग्दै अन्ततः अंग्रेजनजिक पुग्यो । वर्तमान समयमा कोहिनूर महारानी एलिजाबेथ द्वितीयको मुकुटमा जडिएको छ । भारतमा कोहीनूर फिर्ता गर्ने माग बारम्बार उठ्दै आएको छ ।

संयुक्त राष्ट्रले पुरातत्वको सम्बन्धमा नीति तर्जुमा गरेको छ, जसको निगरानी युनेस्कोले गर्ने गर्दछ । पुरातात्विक नैतिकतासम्बन्धी प्रश्नहरू उत्तर अमेरिका र पश्चिमी यूरोपमा १९६० को दशकमा उठ्यो । यूनेस्कोले सन् १९७० मा विश्व संस्कृतिको रक्षा गर्न एक नैतिक मापदण्ड तय गर्‍यो । पुरातात्विक नैतिकताले पुरातत्व सम्बन्धी नैतिक मुद्दाहरूलाई सम्बोधन गर्दछ, जसमा सांस्कृतिक वस्तुहरूको संरक्षणको विषय पनि समेटिएको छ । नेपालको संविधानले प्रत्येक नेपाली समुदायलाई आफ्नो सांस्कृतिक सम्पदाको सम्वर्द्धन र संरक्षण गर्ने हक प्रदान गरेको छ ।

 

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?