Comments Add Comment

एमाले कार्यदलको बैठक आज पनि, नेम्वाङ भन्छन्– आजको बैठकले निष्कर्ष दिन्छ

२५ असार, काठमाडौं । आन्तरिक विवाद मिलाउने प्रयासमा नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताए ।

नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरु विगत केही दिनयता सक्रिय भए पनि वार्तामा कुनै प्रगति भएको देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।

विहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको बताए । ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यही अवस्थामा छौं । खास प्रगति गरेका छैनौं,’ बिहीबार दोस्रो पटकको बैठकपछि भुसालले पत्रकारहरुसँग भनेका थिए ।

यो पनि पढ्नुहोस एमाले एकता वार्ता : १० दिनदेखि प्रगति छैन

एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment