Comments Add Comment

‘सक्किगोनी’मा सन्जीता र कविराजको प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् ।

बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी दुईलाई बाउछोरीको भूमिकामा टेलिसिरियलमा भित्राइएको हो । पोखराकी सन्जीता केही म्युजिक भिडियोमा काम गरेकी कलाकार हुन् भने मुगुका कविराज थिएटरका कलाकार हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेल ‘जिग्री’ले नयाँ कथा शुरु भएसँगै दुई कलाकारहरुलाई कथाको माग अनुसार अभिनय गराएको बताए ।

बिहीबारको भागबाट कुमार कट्टेल ‘जिग्री’को केमेष्ट्री सन्जीतासँग मिलाइएको छ । जसका कारण कतिपयले अर्की कलाकार रक्षा श्रेष्ठको स्थानमा सन्जीताको प्रवेश गराईएको हो कि ? भनेर जिज्ञासा समेत राखेका छन् ।

‘भद्रगोल’मा अभिनय गरेपछि कुमार र रक्षाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । पछि ‘सक्किगोनि’का केही भागमा कुमार र रक्षाको जोडीलाई दर्शकले देख्न पाएका थिए । तर, रक्षा आमा बन्ने भएपछि टेलिसिरियलमा देखिन छाडेकी थिइन् । रक्षा टेलिसिरियलमा नदेखिएको लामै समय भैसकेको छ ।

कलाकार कुमार रक्षाको स्थानमा सन्जीताको प्रवेश नगराईएको बताउँछन् । ‘रक्षाजीको स्थान त कस्ले लिन सक्छ र ? नयाँ कथा सुरु भएको र सन्जीताजीले टेलिसिरियलमा अभिनयका लागि रुचि देखाएकाले उहाँलाई ल्याएका हौं’ –कुमारले भने ।

पछिल्ला भागहरुमा लभ सिक्वेन्सका टेष्टहरु मिस भएको लागेको हुनाले पनि सन्जीतालाई आगमन गराएर कथालाई नयाँ तरिकाले अगाडि बढाइएको कुमारले बताए । बिहीबारकै कथाबाट आगामी भाग अगाडि बढ्ने कुमारले बताए ।

सन्जीताको अभिनय टेलिसिरियलमा कहिलेसम्म रहने भन्ने कुरा भने यकिन नभएको समेत कुमारले बताए । उनले भने, ‘त्यो कुरा उहाँको अभिनय र दर्शकको प्रतिक्रियामा भर पर्छ ।’ रक्षा पनि चाँडै ‘सक्किगोनि’मा फर्किने कुमारले बताए ।
कुमार र अर्जुन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’को लेखन एवं निर्देशन गर्दै आएका छन् । हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको टेलिसरियलमा कुमार र अर्जुनका साथमा सागर लम्साल, हरि निरौला, रश्मी पाण्डे, कमलमणि नेपाल, दीपक आचार्य, गोविन्द कोइराला लगायतको अभिनय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment