Comments Add Comment

असल मानिस बन्ने रे !

यो त असल मानिस बन्ने रे, हाहाहा ! वाई सो फन्नी !

यसरी गिज्याएको दिन अस्ति जस्तो लाग्छ । तर, आरोह–अवरोहका बाछिटाहरू झेल्दै साथीहरूको हाँसोको शिकार बनेको एक दशक नाघिसकेछ ।

विद्यालयका दिनहरू आज सम्झिंदा नोस्टालजिक भएर आउँछ । ती दिनहरू आज सम्झनामा निकै रसिला पनि लाग्छन् । तर यो आज लाग्छ त्यसबेला लाग्दैनथ्यो । चार कक्षामा पढ्दै गर्दा कहिले दश सकिएला र यो विशाल झ्यालखानाबाट त्राण पाइएला जस्तो लाग्थ्यो । शायद यो मेरो जस्तै सबैको भोगाइ होला ।

यतिबेला जब म अतीतका पानाहरू पल्टाउँदैछु, असल मानिस बन्ने सुझावले पनि मलाई पछ्याई नै रहेको छ । असल मानिस बन्ने कुरा मेरो निम्ति आज निकै अग्लो भीरमा फुलेको फूलझैं भएको छ, राम्रो तर पाउन गाह्रो जस्तै । असल मानिस बन्ने कुरा कताबाट आयो ?

कक्षा चारमा हुँदा विद्यालयले एउटा फारम पठायो । उक्त फारम विद्यार्थीको नामदेखि शुरू भएर भविष्यको लक्ष्यमा गएर सकिन्थ्यो । फारम भर्नको निम्ति मलगायत मेरा सबै सहपाठी उत्साहित थिए । मूलतः भविष्यको लक्ष्य लेख्नका निम्ति उत्साहित कक्षाको रौनक नै बेग्लै थियो । डाक्टर, इन्जिनियर र पाइलट । यी मात्रै भविष्यका लक्ष्य बन्ने त्यो उमेर सम्झिंदा आज अलग्गै अनुभूति हुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । वास्तवमा हो पनि । उच्च लक्ष्य विनाको मानिस वानर जस्तै हुन्छ । ती दुई कविताका फरक आयामको सँघारमा उभिएर पनि मेरो कक्षा भविष्यको लक्ष्य लेख्न आतुर थियो । क्रमबद्ध रूपमा लेख्न थालियो– फलानो र डिस्कानो लक्ष्य । अन्योलपूर्ण अवस्थाले गाँजिएको मानसिक अवस्थामा मैले केही लेख्न सकिनँ । उक्त फारमलाई बीचबाट पट्याएर झोलामा हालें । केहीले त्यही दिन बुझाए । केहीले भोलि बुझाउने कुरो गरे । म दोस्रोमा परें ।

भविष्यको लक्ष्य सोचेरै बित्यो शायद विद्यालयको त्यो दिन । बसमा चढेर चाबहिल नआइपुगुन्जेल म सोचिरहें, मेरो भविष्यको लक्ष्य के हुनसक्छ ? मानौं भविष्यको लक्ष्य एउटा भयानक प्रश्न थियो र त्यसको उत्तर नभेटिनु भविष्यको डरलाग्दो चित्र ।

सबैले भविष्यको लक्ष्य लेखेको देखेर मभित्र ठूलो उदासीनता पैदा भएको थियो । एकातिर ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ले मलाई ‘दिलासा’ दिएको पनि हो र अर्कातिर लक्ष्य विनाको मानिस सधैं वानर जस्तै हुन्छ भन्ने कुराले तर्साएको पनि । वानरको बिम्ब मेरो वरपर घुमिरह्यो र प्रतिबिम्बहरू मभित्र चल्मलाइरहे । भविष्यको लक्ष्यलाई लिएर यति सोच्नु र एकोहोरिनु मेरो बालापनको बचपना नै थियो शायद ।

बेलुका होमवर्क सकिएपछि जतनसाथ झोलामा राखेको फारम मैले मेरो बालाई दिएँ । त्यस फारमको औपचारिक परिचयपछि बीचबाट पट्याइएको फारम खुल्यो र मेरो अन्योल पनि । बाले आफंै भरिदिने प्रस्ताव राखेपछि मैले स्वीकारें उक्त प्रस्ताव । मभित्र बनेका लक्ष्यका आकृतिहरू पुनः चलायमान भए । मलाई केही पनि प्रश्न नगरी फारम भरिंदै गयो र लक्ष्यका आकृतिहरू हराउँदै गए ।

फारम भरेर सकियो । मेरो हातमा बाले फारम भरेर राखिदिएपछि म चकित भएँ । कारण, मलाई लक्ष्य सोधिएन । सोधिएको भए पनि उत्तर थिएन । अन्कनाउँदै फारम खोलें । मेरा आँखा अन्तिमतिरै तेर्सिएका थिए । भविष्यको लक्ष्यमा लेखिएको थियो – असल मानिस बन्ने ।

मेरो निम्ति त्यो लक्ष्य निकै असाधारण थियो । डाक्टर, इन्जिनियर र पाइलटबीच मेरो लक्ष्य निकै फरक देखिन्थ्यो । असल मानिसको परिभाषा नै नजान्ने म सानो फुच्चे ! मलाई लागेको थियो – केही लक्ष्य नभएको मानिस नै असल मानिस बन्छ । यो कुनै पराक्रमी लक्ष्य पनि होइन । मेरो बुझाइ यस्तै थियो । प्रश्न उठाऊँ भने सम्भावित अर्को प्रश्नको उत्तर पनि थिएन । मलाई मौनता नै प्यारो लाग्यो । फारम लगेर उसैगरी झोलामा राखें । मैले ठूलो बोझ आफ्नो काँधबाट झारेझैं महसूस गरेको थिएँ । तर मलाई यकिन थियो कि म भोलि सहपाठीहरू माझ बेग्लै ठहरिनेछु । मैले कैयौं प्रतिक्रियाहरूको सामना गर्नुपर्नेछ । त्यही प्रतिक्रियाहरूको सानो अंश हो लेखनीको पहिलो हरफ ।

मेरो देशमा जनता मर्दै र तिनका लाशमाथि टेकेर नयाँ नेताहरू जन्मँदै जान्छन् । सबै पेशाकर्मी, व्यवसायी भ्रष्ट बनेका छन् । त्यसैले बा, असल मानिस बन्न गाह्रो रहेछ । बरू अन्य लक्ष्यहरू साह्रै सजिला !

अतीतका दिनहरूलाई यसरी सम्झिंदा केही भन्न मन लाग्यो । इतिहासलाई साक्षी राखिसकेको छु । भविष्य मेरो अघिल्तिर छँदैछ । बाले मलाई असल मानिस बन्न भनेर दिनुभएको लक्ष्य आज डाक्टर, इन्जिनियर, पाइलट, पत्रकार, वकिल, नेता, आदित्यादि भन्दा पनि कठिन लागेको छ । त्यतिबेला काँधबाट ठूलो बोझ झारेझैं लागेको मलाई यतिबेला बोझ राखिदिएझैं भएको छ । आज त मलाई ती तीन लक्ष्यभन्दा अरू लक्ष्य पनि थाहा भइसकेको छ । यति धेरै पेशागत धरातलबाट उठेर किन यति ठूलो लक्ष्य दिएको होला ?

समर्थनका झण्डाहरू बोकेर, चाप्लुसीका वचनहरू बोलेर, नोट दिएर, भोट किनेर देश भ्रष्ट भैसक्यो । भट्टी पसले र जँड्याहाको सम्बन्धझैं जनता र नेताको सम्बन्ध बनेको छ । भ्रष्ट ती नेता मात्र छैनन्, जो भोट किन्छन् । भ्रष्ट त ती मतदाता पनि छन् जो देशको कारुणिक भविष्यमाथि पाइला टेकेर, भोट बेचेर नङ र स्वाभिमान दुइटैमा दाग लगाउँछन् ।

मेरो देशमा जनता मर्दै र तिनका लाशमाथि टेकेर नयाँ नेताहरू जन्मँदै जान्छन् । चाप्लुसी गरेर, पार्टीको भजन गाएर मेरो देशमा निष्पक्ष पत्रकारिताको नारा लगाइन्छ । इन्जिनियरहरू दुईचार पैसामा आफ्नो शैक्षिक योग्यता बेच्छन् र संरचनासँग भद्दा मजाक गर्छन् । त्यसैले बा, असल मानिस बन्न गाह्रो रहेछ । बरू अन्य लक्ष्यहरू साह्रै सजिला ।

जबजब देशका केही थान कुराहरूले मनबाट मस्तिष्क हुँदै विविध नसाहरूमा स्मृति र कल्पनाको कपडा बुन्न थाल्छ, म अनायास झस्किन्छु । एनेस्थेसिया दिएझैं मेरो शरीर शिथिल भैदिन्छ । महामारीको लहरबीच स्वास्थ्यकर्मीका बारेमा कैयौं समाचार पढियो, सुनियो । जनताको बाध्यतालाई व्यापारिक सफलताका सूत्र बनाउँदै कालोबजारी गरिएका घटनाहरू आइपुगे । ती घटनाहरूले पेशागत इमानदारिता माथि कडा प्रश्न उठाउँछन् र तिनै प्रश्नहरूका बीच असल मानिस बन्ने लक्ष्यको सान्दर्भिकता धमिलिएको देखिन्छ । विगत, वर्तमान र आगतका कुरूप आकृतिबीच असल मानिस बन्नु निकै पराक्रमी कार्य ठहरिन्छ र त्यो पराक्रम गर्न डराउँदै पिताजीलाई सम्झन्छु र दिक्क हुन्छु ।

मलाई दिइएको लक्ष्य भयानक छ । असल मानिस बन्न सक्नु ठूलो लक्ष्य रहेछ । यस अर्थमा कि, मानिसका कर्म, मानसिकता र सोचाइको समिश्रण हो लक्ष्य । लक्ष्य भौतिक सुविधा र नाम हैन । लक्ष्य यात्रा हो जसमा असल शब्द सहयात्री बन्दो रहेछ । त्यसैले पनि म मेरो लक्ष्यसँगै डराउँछु र त्यसका प्रतिबिम्बसँग झस्किन्छु पनि । मेरो झस्काइभित्र लुकेका छन् केही थान लोभ, केही थान सुविधा र परिस्थितिले ल्याउने बाध्यता जसकारण म सम्झौता गरूँला र असल शब्दसँग भद्दा मजाक । तसर्थ म बासँग शुरूमै माफी माग्छु, ‘म यो लक्ष्यमा कुशल रूपमा उभिन सकिनँ भने माफ गरिदिनुहोला । मेरो भ्रष्ट समाजले मलाई पनि भ्रष्ट बन्ने निम्तो दिन सक्छ । म बनिनँ बने त ठीकै छ तर बनेको खण्डमा माफ गरिदिनुहोला ।.हो बा, असल बन्न गाह्रो रहेछ, बरू अन्य लक्ष्यहरू साह्रै सजिला ।’

अरू पेशागत सफलता त उमेरको क्रमबद्ध रूपमा पाइन्छ पनि तर असल मानिस बन्ने सफलताले जन्मदेखि मरणसम्म छोड्दो रहेनछ । त्यसैले मलाई असल शब्दसँग डर लाग्छ र लक्ष्यमा उत्रिन अत्यन्तै कठिन । मलाई थाहा छ, मैले यो लक्ष्यबाट भाग्ने छुट पनि पाउने छैन, त्यसैले प्रयत्न गर्नेछु म प्रखर रूपमा मलाई दिइएको लक्ष्यलाई आत्मसात् गर्न सकुँ ।

ती कलमहरू र मेरो लक्ष्य लेख्दै गर्दाको बालाई सम्झन्छु । आँखामा अनेकौं आकाङ्क्षा थिए होलान् । भविष्यको सुन्दर आकृति थियो होला । अन्य केही लेखेको भए म डराउँदिन पनि थिएँ होला । ती कलमहरूले त्यसदिन अरू केही मात्र लेखेको भए मैले यो लेख्ने पनि थिइनँ, यस अर्थमा कि असल मानिस बन्न मेरो समाजमा गाह्रो छ । बरू अन्य लक्ष्यहरू साह्रै सजिला । त्यो कलमले केही अरू नै लेखेको भए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment