+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

ठोरीमा अनुदानको एम्बुलेन्स झाडीमा थन्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १०:४१

२७ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ ।

‘तपाइर्ंको सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् । स्थानीय तहको निर्वाचन हुनुअघि नै भारतीय महावाणिज्य दूतावासले निर्मल बस्ती स्वास्थ्य चौकीका लागि एम्बुलेन्स अनुदान सहयोग गरेको थियो । केही वर्ष एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाए ।

गाउँपालिकाले मर्मत गर्न चासा नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको दाबी छ । जिराभवनी गाउँपालिकाका अजगैबीनाथ गौरो विजय बस्तीमा ८ वर्षदेखि व्यापार गर्छन् । उनी विजय बस्ती आउँदा एम्बुलेन्स राम्रैसँग चलेको देखेका थिए ।

भारतीय दूतावासले नै अनुदानमा दिएको सेढवाको एम्बुलेन्स सञ्चालनमा छ । तर विजय बस्तीको झाडीमा थन्किएको उनी बताउँछन् ।

‘स्वास्थ्य चौकीमार्फत सञ्चालनमा थियो, बिग्रेपछि कसैले वास्ता गरेनन्, त्यतिकै थन्किएर बसेको छ,’ उनले भने, ‘बीचमा विजय बस्तीका युवाहरुले चन्दा संकलन गरेर मर्मत गराएको भए पनि फेरि बिगि्रएपछि कसैले बनाएनन् ।’

बिग्रिएको एम्बुलेन्स साढे दुई लाख मर्मत गरेर सञ्चालनमा ल्याएको तर फेरि बिग्रिएपछि मर्मत गर्न नसकेर थन्किएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउँछन् । उनी पछिल्लो पटक गठन गरिएको दिलबहादुर श्रेष्ठ संयोजक रहेको एम्बुलेन्स सञ्चालक समितिमा सदस्य थिए ।

‘बीचमा मर्मत गरेर चलाएका थियौं, कोरोना महामारीअघि हुनु अघिसम्म चल्दै थियो,’ उनले भने, ‘मर्मत सम्भार खर्च उठाउन सकेन । गाउँपालिकाले पनि सहयोग गरेन, त्यसपछि थन्किएको बेवारिसे अवस्थामा छ ।’

एक डेढ लाख खर्च गर्ने हो भने एम्बुलेन्स सञ्चालनमा आउने दाबी उनको छ । ‘चक्का हामीले फेरेका थियौं, रंगरोगन गरेकाले बडी पनि ठीकै छ । इन्जिन र हृयान्डिल मर्मत गर्दा एक/डेढ लाख खर्च लाग्न सक्छ, तर चल्ने अवस्थामा नै छ,’ उनले भने, ‘गाउँपालिकाले नै एम्बुलेन्स भाडा सस्तो गरिदिएकोले मेन्टेन गर्न सकेनौं । सधैं चन्दा उठाएर मर्मत गर्न सक्ने कुरा भएन, त्यसैले चुपचाप बसेका छौं ।’

स्थानीय सन्तोष श्रेष्ठ गाउँपालिकाले मर्मत नगरिदिएर जनतालाई एम्बुलेन्स सेवाबाट बञ्चित गरेको गुनासो गर्छन । ‘स्थानीयले मर्मत गरेर चलाएपछि फेरि बिगि्रयो, गाउँपालिकाले मर्मतका लागि सहयोग गर्नुपर्छ नि !’ उनले भने, ‘अहिले गाउँपालिकाको एम्बुलेन्स औषधि लिन गएको छ त कता गएको छ भन्छन्, निजी सवारी साधनमा महँगो भाडा तिरेर बिरामी उपचारका लागि लैजानुपरेको छ । गाउँमा दुई तीन जना बिरामी भए भने आपत्तै पर्छ ।’

गाउँपालिकाले सस्तोमा एम्बुलेन्स सञ्चालन गरेपछि प्रतिस्पर्धा गर्न नसकेर एम्बुलेन्स चलाउन नसक्ने स्थिति बनेको बताउँदै उनले पालिकाले सहयोग गरे सेवा दिन सकिने बताए ।

तर गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ स्थानीयले भनेजस्तो अवस्थामा एम्बुलेन्स नरहेको बताउँछन् । उनका अनुसार लामो समय असुरक्षित तरिकाले राखिएकोले एम्बुलेन्स मर्मत गर्दा धेरै खर्च उठ्ने अवस्थामा छ ।

‘एक त मर्मत गर्नमा नै बढी खर्च लाग्छ, मर्मत गरेर चलिहाले पनि कहिले चितवन त कहिले वीरगञ्ज गर्दा केही दिनमा फेरि बिगि्रहाल्छ,’ उनले भने, ‘ त्योभन्दा १० लाख रुपैयाँमा नयाँ एम्बुलेन्स नै आउँछ, त्यसैले बढी खर्च गरेर पुरानो मर्मत गर्नेभन्दा नयाँ लिने सोच बनाएको छु ।’

ठोरीमा गाउँपालिकाले सञ्चालन गरेको तीन वटा, क्लब र आश्रमले सञ्चलान गरेको दुई गरी पालिकामा ५ वटा एम्बलेन्स सञ्चालनमा छ । आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स सेवा प्रदान गर्न गाउँपालिका सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तस्वीर : प्रकाश थारु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?