Comments Add Comment

साफ च्याम्पियनसिप जित्नका लागि आयोजना गर्ने हो : प्रधानमन्त्री ओली

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियन्स आयोजना गर्ने अवसर नेपालले पाए सहयोग गर्ने बताएका छन् । आगामी सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियन्स कोरोना संक्रमण बढेपछि अन्योल भएपछि अवसर पाए नेपालले गर्ने उनले बताए ।

आइतबार बिहान बालुवाटारमा थ्री नेसन्स कपको विजेता टोलीलाई नगदसहित सम्मान गर्ने क्रममा प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजना गर्ने अवसर नेपाललाई आए सहयोग गर्ने बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले खेल्नका लागि मात्र नभएर जित्नका लागि साफ आयोजना गर्ने बताए । ‘तपाईंहरु साफ जित्न तयार हुनुहुन्छ । खेल्नका लागि मात्र नभएर जित्नका लागि आयोजना गर्ने हो । हामीले साफ जित्नुपर्छ र त्यसका लागि आयोजना गर्ने हो । त्यसका लागि प्रक्रिया अगाढि बढाउनुहोस् ।’

प्रधानमन्त्रीबाट साफ च्याम्पियनसिप आयोजनाका लागि ‘ग्रीन सिग्नल’ पाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारसँग ३ करोडभन्दा बढी रकम माग गरेको छ ।

अब हुने साफको बैठकमा साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले दाबेदारी पेश गर्ने जनाएको छ । एक साता अघि मात्रै दक्षिण एसियाली फुटबल महासंघ साफले सदस्य राष्ट्रहरुसँग भर्चुअल बैठक गर्दै दुई सातापछि यसबारे निर्णय गरिने जनाएको थियो ।

प्रतियोगिताको मिति समेत यसअघि तय भएको भन्दा केही अघि अर्थात् अगष्ट अन्तिमदेखि सेप्टेम्बर पहिलो साता गर्ने गरी प्रस्ताव गरिएको छ । साफका महासचिव अनवरुल हक हेलालले  प्रतियोगिताका लागि अगष्ट ३१ देखि सेप्टेम्बर ७ सम्मको नयाँ मिति प्रस्ताव गरिएको बताएका थिए ।

तोकिएकै समयमा साफ आयोजना भएमा ५ टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । भुटानले यस वर्षको साफ च्याम्पियनसिप नखेल्ने भइसकेको छ भने पाकिस्तान अहिले फिफाको प्रतिबन्धमा छ । त्यसैले यसपटक साफ भएमा पनि ५ राष्ट्र मात्र सहभागी हुने अवस्था छ ।

साफ च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले लिगका आधारमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । भुटान र पाकिस्तान सहभागी नभएको अवस्थामा सेप्टेम्बमै साफ भए ५ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने साफ महासचिव हेलालले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment