
२८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले १० बुँदे सहमतिको इमानदारी साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
गएराति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको बताए ।
‘यो सहमति नेपालको लोकतान्त्रिक आन्दोलन, स्थायित्व, वामपन्थी आन्दोलन, नेकपा एमालेको भविष्य, जनता, राष्ट्र सबैको लागि अपरिहार्य थियो, त्यो भएको छ, त्यसप्रति म सन्तुष्ट छु’, आचार्यले भने ।
सहमतिको पालना सबैले इमानदारीपूर्वक गर्ने उनको अपेक्षा छ । उनले भने, ‘यत्रो लामो छलफल, बहसबाट भएको सहमतिमा सबैले इमानदारीका साथ कार्यान्वयन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु । कसैको नियतप्रति म शंका गर्न चाहन्न । सबैले इमानदारीपूर्वक पालना गर्नुहोला भन्ने अपेक्षा म राख्छु ।’ १० बुँदे सहमतिमा कसको के नियत छ भन्नेतिर नजान उनले नेता-कार्यकर्ताहरुलाई आग्रह गरे ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका पाँच-पाँच जना नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । यो सहमतिसँगै एमालेभित्रको विवाद तत्कालका लागि टुंगिएको अपेक्षा गरिएको छ ।
कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।
प्रतिक्रिया 4