Comments Add Comment

निजी प्रविधि कम्पनीहरुमाथि किन लगाम कस्दैछ चीन ?

२८ असार, काठमाडौं । प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु संकलन तथा उपयोगको गम्भीर उल्लंघन गरेको भन्दै चीन सरकारले त्यहाँको सबैभन्दा ठूलो ट्याक्सी सेवा प्रदायक कम्पनी डीडी ग्लोबलको साइबर सुरक्षाका विषयमा छानबिन गर्न आदेश दिएको छ ।

डीडी ग्लोबल कम्पनी अमेरिकी सेयर बजारमा प्रवेश गरेको केही दिनपछि नै चीनको साइबर स्पेस नियामक निकायले उक्त निर्देशन दिएको हो ।

नोभेम्बर महिनामा अलिबाबाको सहायक कम्पनीको रुपमा रहेको एन्ट फाइनान्सको किर्तिमानी आइपीओ निलम्बित गर्न बाध्य पारेको चीनले अहिले डीडी कम्पनीलाई पनि छानबिनको दायरामा ल्याएको छ ।

कतिपय विश्लेषकहरुका अनुसार डीडीमाथिको छानबिनले के संकेत गरेको छ भने चीन आफ्ना शक्तिशाली प्रविधि उद्योगको क्षेत्रमा नियन्त्रण गर्ने कोशिसमा छ र अन्तर्राष्ट्रिय स्तरमा आफ्ना कम्पनीहरुको सूचीकरणबाट खुसी छैन ।

सरकारको नजर

बेइजिङस्थित बिजनेस म्यागेजिन केक्सिनको गत जुलाई २ मा प्रकाशित रिपोर्ट अनुसार चीनको राष्ट्रिय साइबर वाचडगको रुपमा रहेको साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सिएसी)ले गत जुलाई २ मा डीडी ग्लोबलको साइबर सुरक्षाको विषयमा छानबिन गर्ने घोषणा गरेको थियो ।

सिएसीको सूचनामा भनिए अनुसार छानबिन समाप्त नहुन्जेल सम्मका लागि डीडी ग्लोबलको एप डीडी चक्सिंगमा नयाँ प्रयोगकर्ताको रजिस्ट्रेसनमा रोक लगाइएको छ । यद्यपि एप इन्स्टल गरिसकेका विद्यमान प्रयोगकर्ताहरुले चाहीँ यसको प्रयोग गरिरहन सक्नेछन् ।

सिएसीले जुलाई ४ मा जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा भनेको छ, ‘डीडीले व्यक्तिगत जानकारीहरुको संग्रह तथा उपयोगमा कानून तथा विनियमहरुको गम्भीर उल्लंघन गरेको वैध उजुरीहरुका आधारमा पत्ता लागेको छ ।’

डीडीले हरेक दिन ठूलो मात्रामा रियल टाइम डाटा संकलन गर्दछ, जसमा केहीको उपयोग स्वचालित ड्राइभिंग प्रविधि तथा ट्राफिक विश्लेषणका लागि पनि गरिन्छ ।

डीडी ग्लोबलले गत जुन ३० मा न्युयोर्क स्टक एक्सचेन्जमा आइपीओ जारी गर्दै ४ अर्ब ४० करोड लगानी जुटाएको थियो । कम्पनीको अमेरिकी शेयर बजारमा धमाकेदार प्रवेश लगत्तै चीनले उसमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउनुलाई संयोगमात्रै मान्न नसकिने विश्लेषकहरु बताउँछन् ।

डीडी

सन् २०१४ मा इ कमर्श कम्पनी अलिबाबा ग्रुप होल्डिंग लिमिटेड पश्चात् कुनैपनि चिनिया कम्पनीले अमेरिकी शेयर बजारमा ल्याएको यो सबैभन्दा ठूलो आइपीओ हो ।

सन् २०१२ मा सुरु भएको डीडी हाल विभिन्न १६ देशका ४ हजार जति क्षेत्रमा सञ्चालित छ । २०१९ मा विश्वभरमा गरेर डीडीका प्रयोगकर्ता ५५ करोड भन्दा धेरै रहेको अनुमान गरिएको थियो, जसमा अधिकांस चीनमै थिए । चीनमा अनलाइन क्याब कम्पनीहरुको बजारमा डीडीको हिस्सा कम्तिमा ८० प्रतिशत रहेको छ ।

चीनमा सोसल मिडिया नेटवर्कहरुमा कतिपय प्रयोगकर्ताहरुले गरेका पोस्टहरुमा डीडीले चिनिया प्रयोगकर्ताका निजी डाटाहरु अमेरिकालाई सुम्पिएको जिकिर गरिएको छ । सोसल मिडियाका तिनै आरोपहरु पश्चात् चीन सरकारले डीडीमाथि छानबिन सुरु गरेको बताइएको छ ।

सरकारको बढ्दो निगरानी

डीडी कम्पनीमाथिको पछिल्लो कारवाही चीनमा तिव्र गतिमा बढोत्तरी भैरहेको प्रविधि क्षेत्रका कम्पनीहरुमाथि लगाम लगाउनका लागि वृहत रुपमा चलिरहेको सरकारी अभियानको हिस्साको रुपमा रहेको छ । ती कम्पनीहरु आफ्नो अनियन्त्रित तथा स्वतन्त्र व्यापार नीतिका कारण सरकारी जाँचको दायरामा आएका छन् ।

४ जुलाईमा प्रकाशित केक्सिनको रिपोर्टमा भनिएको छ कि चीन सरकारले पछिल्लो २ वर्षमा डाटा सुरक्षा तथा व्यक्तिगत सुचना संरक्षण र प्रतिस्पर्धा विरोधी क्रियाकलापहरुमाथि निगरानी बढाइदिएको छ ।

डीडी

गत मे १ तारेखमा सरकारले कम्पनीहरुको विलय तथा अधिग्रहण सम्बन्धी विभिन्न ९ वटा सम्झौताहरुमा एकाधिकार विरोधी नियमहरुको उल्लंघन गरिएको भन्दै डीडी सहित विभिन्न ११ कम्पनीहरुमाथि जरिवाना गरेको थियो । ती कम्पनीहरुले नियाम निकायको अनुमति विनै त्यस्तो खरीद बिक्रि सम्झौता गरेका थिए ।

त्यस्तै जुन १० मा चीनले डाटा सुरक्षा सम्बन्धी एक नयाँ कानून पारित गर्यो जसले कम्पनीहरुको डाटा संकलन गर्ने, त्यसको भण्डारण तथा उपयोगका तरिकालाई निर्धारण गर्दछ ।

सोसल मिडियामा आलोचना

चीन सरकारले आफुमाथि अघि बढाएको छानबिनलाई सहयोग गर्ने डीडीले जनाएको छ । कम्पनीले गत जुलाई ४ मा चिनिया सोसल मिडिया प्लाटफर्म विबोमा एक संक्षिप्त विज्ञप्ती पोस्ट गर्दै जुलार्य ३ देखि नयाँ प्रयोगकर्ताको रजिस्ट्रेसनमा रोक लागेको बाहेक डीडी एप सामान्य रुपमा चलिरहेको जनाएको थियो ।

तर विबो प्रयोगकर्ताहरुले भने कम्पनीको उक्त पोस्टमा टिप्पणी गर्दै डीडीलाई व्यापक आलोचना गरेका छन् । डीडीले आफ्नै कर्मको फल प्राप्त गरेको कतिपयको तर्क छ ।

डीडी

यसअघि जुलाई ३ मा डीडी ग्लोबलका उपाध्यक्ष ली मिनले स्पष्टिकरण दिँदै कम्पनीले सबै चिनिया प्रयोगकर्ता तथा सडकका डाटाहरु चीनभित्रै सर्भरमा भण्डारण गर्ने प्रष्ट पारेका थिए । उनले विबोमा भनेका थिए :  विदेशमा सूचिकृत अन्य केही चिनिया कम्पनीहरु जस्तै डीडीले सबै घरेलु प्रयोगकर्ताका डाटाहरु चीनभित्रैको सर्भरमा स्टोर गर्दछ । अमेरिकालाई डाटा दिने भन्ने कुरा नितान्तै असम्भव छ ।

डीडीले आफ्नो हालैको आइपीओका क्रममा आफ्ना डाटाहरु अमेरिकामा स्थानान्तरण गरेको भन्ने खालका गलत दाबीहरु सोसल मिडियामा पोस्ट गर्ने प्रयोगकर्ताहरुविरुद्ध मुद्दा हालिने पनि उनले चेतावनी दिएका छन् ।

निशानामा अन्य कम्पनीहरु पनि

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चाहीँ डीडीको विरुद्धमा सरकारले अघि बढाउन लागेको छानबिनको पूर्ण रुपमा समर्थन गरेको छ । अमेरिकामा सूचिकृत कम्पनीको बृहत डाटा विश्लेषण क्षमताले मुलुकको गोपनियता तथा राष्ट्रिय सुरक्षाका लागि खतरा पैदा गरेको दाबी पत्रिकाले गरेको छ ।

जुलाई ४ मा पत्रिकामा छापिएको बेनामी लेखमा भनिएको छ, ‘कुनैपनि इन्टरनेट दिग्गज कम्पनीलाई चिनिया नागरिकहरुको व्यक्तिगत जानकारीहरुको सुपर डाटाबेस बन्ने अनुमति दिन सकिँदैन ।

अब के हुन्छ ?

चीन सरकारले तिव्र रुपमा विकाश भैरहेको सूचना प्रविधि क्षेत्रमाथि कडा नियम लागू गरिरहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment