Comments Add Comment

‘दोहोरी च्याम्पियन’मा छानिए उत्कृष्ट १६ समूह

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा शुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब दर्शकको हातमा पनि हुनेछ ।

फिजिकल र अडिसन राउण्डबाट छनोट भएका ३५ समूहबाट उत्कृष्ट २४ हुँदै उत्कृष्ट १२ समूह छनोट गरिएको थियो । भोटिङ राउण्डमा प्रवेश गर्नुअगाडि एक निर्णायकले एक–एक समूहलाई ‘वाइल्ड कार्ड’मार्फत पुनः प्रवेश गराउन पाउने व्यवस्था थियो । सोही अनुसार ‘वाइल्ड कार्ड’मार्फत निर्णायकले १–१ समूह छनोट गरेर पुनः प्रवेश गराएको निर्णायकमध्येका एक चन्द्र शर्माले जानकारी दिए ।

उत्कृष्ट १६ मा पर्न सफल समूहको गोलाप्रथा मार्फत खेल तालिका समेत सार्वजनिक गरिएको छ । जसअन्तर्गत जालुमाया गुरुङ र प्रितम पोख्रेलको समूहले सरोज सिंखडा र सिता घिमिरेको समूहसँग प्रतिस्पर्धा गरिसकेका छन् । यी दुईमध्ये एक समूह उत्कृष्ट ८ मा प्रवेश गर्नेछ ।

त्यस्तै अब टेकराज भण्डारी र तारा थापाको समूहले रीता राउत क्षेत्री र सविन आचार्यको समूहसँग, प्रकाश पराजुली र मिना बुढाथोकीको समूहले संगीना थापा र दिलिप थापाको समूहसँग, जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले पवित्रा मगर र बसन्त बि.क.को समूहसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राजु केसी र डिला बिकको समूहले बबिता बानिया (जेरी) र शंकर क्षेत्रीसँग प्रतिस्पर्धा गर्नेछन् भने मिना नेपाल र राजेन्द्र पाठकको समूहले सज्जन रोक्का (प्रदीप) र कल्पना दाहालको समूहसँग प्रतिस्पर्धा गर्नेछ ।

यता, सपना रोका र बिजय बानियाको समूहले सुरेन्द्र मगर र बिमा कुमारी बि.क.को समूहसँगै प्रतिस्पर्धा गर्नेछ भने देवी आले र चिज कुमार गुरुङको समूहसँग बालचन्द्र बराल र शोभा खड्काको समूहको प्रतिस्पर्धा हुनेछ ।

उत्कृष्ट १६ समूहबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट ८ समूह छनोट गरिनेछ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीतीहरु उत्कृष्ट ८ मा प्रवेश गर्ने शर्माले बताए । उत्कृष्ट ८ बाट ४ हुँदै प्रतियोगीता फाइनलमा प्रवेश गर्नेछ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’मा ‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् ।

‘दोहोरी च्याम्पियन’लाई लोकदोहोरी क्षेत्रकै ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यसमा प्रथम हुने समूहलाई नगद २० लाख, दोश्रो हुने समूहलाई नगद १५ लाख र तृतिय हुने समूहलाई नगद १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगीता हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment