Comments Add Comment

निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍यो : प्रदीप ज्ञवाली

२८ असार, काठमाडौं । नेकपा(एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्दलीय व्यवस्था फेरि जस्केलाबाट प्रवेश गराउन खोजेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा गरेको फैसलाबारे सोमबार बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले ३२ वर्षअघि नै समाप्त पारेको निर्दलीय व्यवस्था फेरि ल्याउन खोजेको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्च अदालतको आजको फैसला र विशेष गरेर धारा ७६ (५) को जुन ढंगले व्याख्या गरेको छ मैले दुखका साथ भन्नुपर्छ ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास हामीलाई भएको छ’ उनले भने ।

अदालतको फैसलाबारे पार्टीको औपचारिक दृष्टिकोण मंगलबारको स्थायी कमिटी बैठकले तय गर्ने प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘औपचारिक दृष्टिकोण बनाउनका लागि स्थायी कमिटी बैठक भोलि बस्दैछौँ र त्यो बैठकपछि हामी औपचारिक धारणा लिएर यहाँहरुसमक्ष आउने नै छौँ ।’

ज्ञवालीले अघि भने, ‘सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय भए पनि, त्रुटिपूर्ण भए पनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसलाको कार्यान्वयन त हामी गर्छौ तर यसले जुन दिशातिर मुलुकको राष्ट्रिय राजनीति र प्रणालीलाई लैजान खोजेको छ हामी एकदमै चिन्तित भएका छौँ ।’

ज्ञवालीले सर्वोच्चको फैसलापछि सरकार बनाउन संसदमा रहेका दलले आफ्नो सामर्थ्यका आधारमा नभई अन्तै जानुपर्ने स्थिति आएको पनि बताए ।

उनले भने, ‘ सरकार बनाउने प्रक्रिया शुरु गर्छन् र त्यो सम्मानित राष्ट्रपति संस्थाबाट त्यसको विधिवत् घोषणा हुन्छ । तर आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नेजस्तो सामान्यतया लोकतन्त्रमा कल्पनाभन्दा बाहिरको अभ्यास आजबाट शुरु भएको छ ।’

सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको पनि उनले बताए । फैसलाले राज्यका तीन अंगबीचको शक्ति सन्तुलनलाई हल्लाइदिने काम गरेको स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको उनले बताए ।

‘राज्यका तीनवटा अंगहरु विधायिका, कार्यपालिका, न्यायपालिकाबीचको सन्तुलन र समन्वयले मात्रै लोकतान्त्रिक प्रणाली दिगो र टिकाउ हुन सक्छ । तर आजको फैसलाले यो शक्ति सन्तुलनका पिल्लरहरुलाई एकदमै हल्लाइदिने काम गरेको छ’ ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment