+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

तपाईंलाई राजनीतिले छाड्दैन

संगम पोखरेल संगम पोखरेल
२०७८ असार २९ गते १२:५८

आजकल राजनीति एकदमै बदनाम शब्द बनेको छ । लाग्छ- यसको उच्चारण पनि अपवित्र हुन्छ । अहिलेका युवापिंढीहरूमा त नचाहँदा नचाहँदै पनि यो शब्द उच्चारण गर्नैपर्ने बाध्यता छ ।

‘आइ हेट पोलिटिक्स’, ‘छि ! मलाई त राजनीति कत्ति नि मन पर्दैन’, ‘राजनीति गर्ने मान्छे त असाध्यै खराब हुन्छन्’, ‘नेताहरू त सबै नालायक र भ्रष्टाचारी नै त हुन्’ इत्यादि इत्यादि ।

राजनीतिप्रति यति धेरै वितृष्णा पैदा हुनु अस्वाभाविक भने होइन । समाजको नेतृत्व गरिरहेका विद्यमान व्यवस्था र चेतनाले गलत दिशामा पाइला टेक्ने बित्तिकै दुर्घटना निम्त्याउँछ । दुर्घटनाको असर भविष्यको गर्भमा रहेका युवाहरूको मस्तिष्कमा पर्दछ । जसले उनीहरूलाई भ्रूण अवस्थाबाट नै राजनीतिप्रति मस्तिष्कघात सिर्जना गर्दछ ।

उनीहरूको विवेकले राजनीति गलत भएकै कारण उनीहरूको अभिभावक दुर्घटनामा परेका हुन् र सामाजिक जीवनमा स्वयंको अस्तित्व कमजोर बनेको हो भन्ने मानसिकताको विकास गर्दछ । यसले गर्दा उनीहरू राजनीतिभन्दा टाढा बस्न खोज्ने, भाग्न खोज्ने र यसलाई परैबाट पन्छाउन खोज्ने स्वभावको विकास गर्दछन् । जुन आफैंमा एउटा गम्भीर प्रकारको रोग पनि हो ।

राजनीति भन्ने शब्द आफैंमा विवादित, कलंकित एवम् बदनाम बनाइए तापनि यसको आफैंमा सशक्त क्षमता हुन्छ । राजनीति भन्ने शब्द उच्चारण गर्दा पाप हुन्छ भन्ने धारणा राख्ने जमातलाई समेत यसको उच्चारण गर्न बाध्य पार्दछ, भलै त्यो यसैको अपव्याख्याको निमित्त किन नहोस् ! यसको तात्पर्य आफैंमा अर्थपूर्ण छ ।

राजनीति नगर्ने वा गर्न नचाहने, घृणा मात्रै बोक्ने वा टाढा भाग्न खोज्ने सबैलाई राजनीतिले आफैंमा केन्द्रित गर्दछ । उनीहरूको इच्छा विपरीत राजनैतिक भागदौडमा उनीहरूलाई सामेल गर्दछ ।

त्यसैले राजनीतिबारे एउटा चर्चित भनाइ छ- तपाईंले राजनीति मन पराउनुहोस् वा नपराउनुहोस् । राजनीतिले तपाईंलाई मन पराइरहेको हुन्छ । यसको अर्थ तपाईंले छाड्दैमा राजनीतिले तपाईंलाई छाड्दैन ।

‘म त राजनीति गर्दिनँ, टाढै छु’ भन्नेहरू पनि उनीहरूको इच्छा र ज्ञान विना नै राजनीति गरिरहेका हुन्छन् । किनभने राजनीति विवेक र चेतनाबाट प्रेरित भएर चल्ने प्रक्रिया हो । बाहिरबाट खोजेर भर्नुपर्दैन, मानव मस्तिष्कमा चेतना र विवेक स्वयं विद्यमान हुन्छ ।

त्यही चेतनाले गुप्तरुपमै राजनीति गरिरहेको हुन्छ । जसलाई मस्तिष्कको सामान्य प्रयोगले बुझ्न सकिंदैन, त्यस्ता व्यक्तिहरू आफैंलाई यसको सीमाबाट बाहिरी ठान्नु र महत्व नबुझ्नु भयानक अल्पज्ञान हो । पक्कै पनि यी वाक्यांशहरू अवास्तविक तथा अस्वाभाविक लाग्न सक्छन् । तर ध्रुव सत्य यही हो यसलाई सजिलो उदाहरणबाट पुष्टि गर्न सकिन्छ ।

मानव एउटा जीवन्त सामाजिक प्राणी हो । अन्य सजिवहरू भन्दा मानिस सर्वश्रेष्ठ छ भन्ने भाष्य मान्छेले नै बनाएको छ । मानव प्रजातिले हाल विश्व अस्तित्वमा रहेका सबै प्राणीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छ । अर्थात् शक्ति संघर्षको क्रममा अगाडि छ ।

एउटा मानव तागत भन्दा कैयौं गुणा बढी तागत भएको हात्ती, आफूभन्दा भौतिक बलमा कमजोर मानिसको अगाडि नतमस्तक हुन्छ । किनभने समाजको नेतृत्व सधैं चेतनाले नै गर्दछ । चेतनाले समाजको नेतृत्व गर्न आवश्यक शक्तिसञ्चय गरिदिन्छ । हात्तीमा रहेको अल्पचेतनाका कारण ऊ मानिसहरूको सुखसुविधाका लागि आफ्नो श्रम खर्च गर्न बाध्य हुन्छ ।

हरेक जीवका हरेक चेतनाहरू आफ्नो आधिपत्य जमाउन सक्रिय हुन्छन् । बढी चेतना प्रयोग गर्ने मस्तिष्कले सधैं कम चेतना प्रयोग भएको मस्तिष्कमाथि शासन गर्दछ । अर्थात् मुसा बिरालोको अगाडि डराउँछ भने बिरालो कुकुरको अगाडि डराउँछ ।

कुकुर बाघको अगाडि डराउँछ भने बाघ हात्तीसँग लड्न जाँदैन अथवा हात्तीले बाघको भय मान्दैन । तर त्यही हात्तीको सवार गर्दै मानिस सबै डरलाग्दा जनावरहरूको अवलोकन गर्दछ । यसरी आफूभन्दा कमजोरमाथि शासन जमाउने चेतना बुझ्नु नै राजनीतिको प्रारम्भिक अध्ययन हो ।

माथिका नियमहरू जनावरहरूको प्रजातिमा मात्रै सीमित नभएर मानवहरूको बीचमा पनि स्थापित हुन्छ । अर्थात् मानव समाजभित्र पनि विभिन्न परिवार छन् । त्यसमध्ये कोही हात्ती छन्, कोही बाघ, कोही स्याल प्रजातिका छन् भने कोही बिरालो तथा मुसा प्रजातिका स्वभाव बोक्ने छन् ।

स्मरणरहोस् मुसासँग पनि डराउने प्रजातिहरू धेरै नै हुन्छन् । यी सबै किसिमका मानिसहरूको परिवारहरूले समाजमा आ-आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् । कतिपय शोषकको रुपमा स्थापित हुन्छन् भने कतिपय शोषितको रुपमा समाजलाई झेलिरहेका हुन्छन् ।

मानिसलाई शोषक वा शोषित बनाउने अथवा पूँजीपति बनाउने वा श्रमिक बनाउने भन्ने कुनै अलग्गै नियम वा नियति हुँदैन । यसरी अलगअलग परिवारहरू हुनु, अलगअलग वर्गहरू हुनुमा प्रमुख कारण उक्त व्यक्तिको मस्तिष्कले गर्ने चेतना उपयोगमा भरपर्दछ ।

प्रकृतिको उत्पत्ति सँगसँगै पृथ्वीमा सबै जीवहरूको उपभोग, अधिकार र दायित्व समान हुनुपर्दथ्यो । तर चेतनाको विकास सबै प्राणीहरूमा समान ढंगले हुन नसक्ने भयो । साथै भौतिक, सामाजिक एवम् भौगोलिक विविधताका कारण मानवहरूको बीचमा नै चेतनाको विकास एक समान हुन पाएन । जसले पृथ्वीकै सर्वश्रेष्ठ प्राणीहरूमा समेत विभेद एवम् असमानताको ठूलो पर्खालको निर्माण गर्‍यो । लालच एवम् ईर्ष्याको उच्चतम विकास गरायो ।

मस्तिष्कलाई प्रकृतिको अनुकूलताले अधिक उपयोग गर्न पाएका परिवारहरूले छिटै नै आफ्नो चेतनाको विकास गर्न पुगे । तर चेतना विकास बढी वा छिटो भएको मस्तिष्कले स्वयं समाजको नेतृत्व गर्ने एवम् आफ्नो परिवारलाई भौतिक श्रम कम गर्नुपर्ने सहज बाटो खोज्न थाल्यो ।

त्यसै क्रममा बढी चेतनशील परिवारहरूले आफू अनुकूल शिक्षाको विकास गरे । त्यसै अनुरुप धर्मको विकास गरियो । जातको शुरूवात गरियो, जात अनुसारको काम निर्धारण गरियो । जो जसमाथि शासन गर्नु थियो उनीहरूलाई आफूले पाइरहेको चेतनाबाट वञ्चित गर्न हरसंभव प्रयास गरियो ।

धर्म तत्कालीन समयमा कानून झैं स्थापित भयो तर सही र गलत छुट्याउन नसक्ने चेतना माथि त्यसलाई जबर्जस्त ‘पाप र पुण्य’ भन्दै स्थापित गराइयो । जसले अघोषित कानूनको रूपमा तत्कालीन पूँजीवादीहरूको साम्राज्य खडा गर्न मलजल गरिरह्यो । त्यसैगरी जात व्यवस्थाले वर्गीय असमानतालाई स्थापित गरायो ।

कथित उपल्लो जातले सहज श्रम गरे पुग्ने अथवा श्रम नै नगरे पनि हुने तर तल्ला जातका परिवारहरूले भने आफ्नो असीमित श्रमको उपयोग गर्दै उपल्लो जातको परिवारलाई सुविधा प्रदान गर्ने नियति बसाउँदै गयो । धर्मले श्रमलाई जातव्यवस्थासँग जोडेर समाजमा एउटा अँध्यारो युगको नेतृत्व गरिरह्यो ।

धर्मले श्रम सँगसँगै शिक्षामा पनि निषेध गर्‍यो । यसले कामदारको रुपमा मात्रै सीमित परिवारहरूले समाजमा आफ्नो श्रमको प्रतिफल खोज्ने वा उपभोग गर्ने सामान्य चेतना समेत विकास गर्न सकेनन् । जसको कारण बाठा मानिसहरूले अन्य व्यक्तिको श्रम उपयोगबाटै आफू शक्तिशाली बन्दै र उनीहरू माथि नै अन्याय गरिरहे ।

हाल समाजको नेतृत्व गरिरहेका मस्तिष्कहरू पनि सधैं आफैंले नै नेतृत्व गरिरहन पाउने इच्छा राख्दछन् । त्यस्ता किसिमको मस्तिष्कले नेतृत्व गरिरहेको समाजमा समाजको नेतृत्व गर्ने कला अथवा शिक्षाको व्यवस्था हुँदैन । किनभने ती मस्तिष्कहरू समाजको नेतृत्व गर्न चाहने अथवा आफ्नो सम्प्रभुता माथि प्रश्न गर्ने चेतना नै तयार होस् भन्ने चाहँदैनन् ।

त्यसैगरी अहिले हाम्रो समाजमा स्थापित शिक्षा प्रणाली, हाम्रो अभिभावकहरूले ग्रहण गरेको शिक्षा प्रणाली र समाजको नेतृत्व गरिरहेको मस्तिष्क हामीलाई सधैं नै राजनीतिप्रति वितृष्णा पैदा गराउनतर्फ क्रियाशील हुन्छ । अर्थात् समाजको नेतृत्व गरिरहेको मस्तिष्कले राजनीतिमा आहाल खेलिरहेका हुन्छन् र त्यसलाई दुर्गन्धित बनाइरहेका हुन्छन् ।

राजनीतिबाट आउने दुर्गन्धले हाम्रो अभिभावकहरूलाई राजनीतिप्रति वितृष्णा पैदा गर्‍यो । हाम्रा अभिभावकहरूको चेतनाले त्यसमा दुर्गन्ध मात्रै देखिरह्यो र त्योभन्दा टाढा नै बस्यो । उहाँहरूको अनुसरण गर्दै हामीले पनि दुर्गन्धको चेतना मात्रै पाइरह्यौं । तर वास्तविक रुपमा त्यो दुर्गन्ध थियो वा समाजमा नेतृत्व गरिरहेका मस्तिष्कको चेतनाले तयार गरेको एउटा भ्रमपूर्ण षड्यन्त्र थियो ? हामीले वास्तविकता छुट्याउन सकेनौं । शासक वर्गको नग्नता देख्न सकेनौं किनभने हामीले पाइरहेको शिक्षाको चेतनाको दायरा नै त्यतिसम्म मात्रै सीमित छ ।

अहिले युवाहरू राजनीति भन्दा टाढा बस्न चाहन्छन् । राजनीतिको छायाँ समेतबाट घृणाको महसूस गर्दछन् । यद्यपि उनीहरू राजनैतिक भागदौडकै हिस्सा बनिरहेका छन् । युवाहरूलाई राजनीतिबाट वञ्चित गर्नु नै राजनैतिक संक्रीर्णता बोकेका चेतनाहरूको उद्देश्य हो । र यसको फाइदा त्यही परिवार, त्यही समुदाय, त्यही समाजलाई मात्रै भइरहेको छ । त्यसैले राजनीतिप्रति वितृष्णा बोकेका युवाहरूको चेतनाले समेत आफैं विरुद्धका संक्रीर्ण चेतनालाई नेतृत्वमा बसिरहने वातावरण तयार पारिरहेको हुन्छ । यसर्थमा, उनीहरूले पनि आफ्नै विरुद्धमा अज्ञानतावश राजनीति गरिरहेका हुन्छन् ।

यस्तो हुनुको मूल जड भनेको चेतना प्राप्त गर्ने प्राकृतिक अनुकूलता एवम् शिक्षाको माध्यम नै हो । हिजोको युगमा धर्म आफैं नै कानून, शिक्षा, समाजको रुपमा विद्यमान थियो । अहिलेको सन्दर्भमा त्यसले अंगीकार गरेका कतिपय चेतनाका स्रोतहरू पुरातनवादी नै छन् । जुन शिक्षाले मानव मस्तिष्कमा समाजको नेतृत्व एउटा वर्ग, जात, परिवार वा समुदायहरूमा मात्रै पुग्ने चेतनाको विकास गरिदिन्छ । विभिन्न बहानामा राजनैतिक अवसरबाट वञ्चित गराइदिन्छ । अझै स्पष्ट भन्नुपर्दा राजनीति भन्दा टाढै बस्नु राम्रो हो भन्ने मानसिकताको विकास गरिदिन्छ ।

यस किसिमको शिक्षा प्रणालीलाई परिवर्तन गर्दै समाजमा सबै मानिसहरूको सह-अस्तित्व, सहभागिता, समावेशिता, सम्मान र समान श्रम प्रयोग एवम् उपभोग गर्नुपर्छ वा गर्न पाउनुपर्छ भन्ने चेतनाको विकास गर्ने शिक्षा प्रणालीलाई स्थापित गराउनुपर्छ । राजनीतिलाई सभ्य र युग नै बदल्न सक्ने वा बदल्नुपर्ने स्थानको रुपमा परिभाषित गर्ने शिक्षाको विकास सँगसँगै यसको प्रयोग समेत गर्नुपर्छ ।

२१औं शताब्दीको २२औं वर्षमा आइपुग्दा समेत हाम्रो समाजको नेतृत्व संक्रीर्ण चेतनाले गरिरहेको छ । विश्वमा भैरहेको विज्ञान र प्रविधिको नवीनतम विकास सँगसँगै हाम्रो मुलुकले समेत अग्रगामी दिशातर्फ पाइला सार्नुपर्ने अवस्थामा जातव्यवस्था जस्तो घृणित समस्यामा अल्झिरहेको छ ।

धर्मका नाममा वरिपरि जेलिइरहेको छ । नवीनतम चेतना राजनीतिमा आउन डराइरहेको छ भने उक्त डरले अगाडि बढेको केही वैज्ञानिक चेतनाहरूलाई समेत समाजको नेतृत्व गर्न दिइरहेको छैन । यसतर्फ युवाहरूले बेलैमा सोच्न अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?