+
+

थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

रासस रासस
२०७८ असार २९ गते १३:४५

२९ असार, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ ।

‘एक घर, एक धारा’को लक्ष्यसहित चार वर्षअघि शुरु भएको ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजनाले नरेठाँटीको खानेपानी समस्या सधैंका लागि अन्त्य गर्ने भएको हो ।

घरघरै खानेपानी आएपछि सुविस्ता भएको थुम्काकी दुर्गादेवी भण्डारीले बताइन् । ‘पानीको साह्रै दुःख थियो, अहिले त धेरै सहज भएको छ,’ उनले भनिन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीअन्तर्गत २१ करोड ५२ लाख रुपैयाँको लागतमा उक्त आयोजनाको काम भइरहेको छ ।

आयोजनाका इञ्जिनियर प्रदीप रेग्मीले आगामी आर्थिक वर्षभित्र काम सक्ने लक्ष्य लिइएको बताए । ‘आयोजनाको भौतिक प्रगति राम्रो छ, सरासर काम भए एक वर्षमा सबै घरधुरीमा खानेपानी पुग्छ,’ उनले भने ।

ट्याङ्की निर्माणको काम लगभग सकिएकाले अहिले पाइप विछ्याउने र खानेपानी वितरणमा आयोजनाको काम केन्द्रित छ । आयोजनाका सुपरभाइजर मणि कँडेलले ठूलासाना गरी २६ वटा ट्याङ्की निर्माण भइसकेको जानकारी दिए । १० देखि ५० घनमिटरसम्मका ट्याङ्की बनाएर खानेपानी वितरणको प्रबन्ध मिलाइएको छ । नरेठाँटी बजार र आकाशे पानीमा ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।

भूगोल र जनसंख्याको अवस्थिति हेरेर ट्याङ्की निर्माण गरिएको हो । आयोजनाबाट लाभ पाउने ६५० घरधुरीमध्ये दुई सय बढीमा खानेपानी वितरण भइसकेको सुपरभाइजर कँडेलले बताए । ‘अब पाँच-सातवटा ट्याङ्की निर्माण गर्न बाँकी छ, अहिले मुख्य रुपमा पाइप बिछ्याउने र खानेपानी वितरणको काम भइरहेको छ,’ उनले भने ।

उपभोक्ताले मिटर प्रणालीबाट खानेपानीको उपभोग गरिहेको आयोजनाले जनाएको छ । छिट्टै ठाना, बहेली र घरघरमा खानेपानी वितरणको काम शुरु हुँदैछ । यसअघि नरेठाँटी बजार, पैंयूडाँडा, थुम्का, जस्कुरलगायतका बस्तीमा खानेपानी पुगिसकेको छ । हालसम्म झण्डै दश करोड बराबरको काम सकिएको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बाँस्तोला निर्माण सेवाले कामको जिम्मा लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?