+
+

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते ११:०६

३१ असार, चितवन । चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो । कुशे गाउँपालिका वडा नं. ९ जाजरकोटका शाहीलाई उनकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दिएकी थिइन् ।

कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी कलेजो दान दिने कमलादेवी शाही असार २७ गते हिजो नै डिस्चार्ज भएको र कलेजो लिने भरतविक्रमको स्वास्थ्य अवस्थामा सुधार भैरहेकाले अर्को साता उनलाई समेत डिस्चार्ज गरिने जनाएको छ ।

कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा. बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नविन यादव, डा. सुरेश गौतम, डा. सुवास ओझा, डा. जयन्त कुमार शाह, डा. बीरेन्द्र राउत, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडासहित प्रत्यारोपणमा भारतबाट तीन चिकित्सक र तीन जना सहयोगी स्टार्फको समेत संलग्नता रहेको थियो ।

कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले ८ देखि १० वटा प्रत्यारोपणपछि भारतीय चिकित्सकहरूको संलग्नता विना नै प्रत्यारोपण गरिने बताए ।

चिकित्सकका अनुसार शाहीको स्वास्थ्य जाँच गराउँदा कलेजो काम नलाग्ने गरी बिग्रिएकाले प्रत्यारोपणको विकल्प थिएन । काठमाडौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साता अघि चितवन मेडिकल कलेज आएका थिए । सिरोसिस् अफ लिभरको ‘ए’, ‘बी’ र ‘सी’ तीन चरणमध्ये शाही ‘सी’ चरणमा पुगेका थिए । गत फागुनमा ‘सी’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको थप जीवन लम्बाउन नसक्ने अवस्था रहेको डा. यादवले बताए । ‘उहाँको पेटमा पानी भरिएर ठूलो भएको थियो, अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो,’ डा. यादवले भने, ‘ट्रान्सप्लान्ट सोचेको भन्दा राम्रो र सफल भयो ।’

कमलादेवीको ६० प्रतिशत कलेजो भरत विक्रममा प्रत्यारोपण गरिएको डाक्टरहरुले बताएका छन् । डोनर (कमलादेवी) को स्वास्थ्यमा सुधारपछि उनलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । भरतको अवस्था राम्रो हुँदै गैरहेको डा. सञ्जय यादवले बताए । अहिलेकै गतिमा सुधार भए आगामी साता भरतलाई पनि डिस्चार्ज गर्न सकिने कलेजले जनाएको छ । ४ देखि ६ महिनामा दुबै जनामा कलेजोको आकार आफैं विकसित भएर ९० देखि ९५ प्रतिशत पुग्ने चिकित्सकहरु बताउँछन् ।

प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु कलेजमा छन् । कलेजमा प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आइसियू छ ।

कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी रोगको उपचार र प्रत्यारोपणका लागि दक्ष जनशक्तिको टिमले एक पछि अर्को सफलता हात पार्दा आफूहरू निकै उत्साही भएको बताए ।

कलेजमा केही वर्षदेखि कलेजो सम्बन्धी नियमित जाँच विषेशज्ञ चिकित्सकबाट हुँदै आएको छ । त्यहींबाट बिरामीहरूको स्क्रीनिङ गरेर प्रत्यारोपण गर्दै जाने योजना कलेजको रहेको प्रवन्ध निर्देशक डा. न्यौपानेले बताए । ‘काठमाडौं बाहिर नै कलेजोको सफल प्रत्यारोपण गराउन सफल भएकाले राजधानी जानुपर्ने बाध्यताको अन्त्य विस्तार हुँदैछ, चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउने सोच छ,’ प्रा. डा. न्यौपानेले भने, ‘यसले राष्ट्रिय रूपमा नै सकारात्मक सन्देश, कलेजोका बिरामीलाई जीवनप्रतिको भरोसा एवम् नयाँ आशाको सञ्चार गराउने विश्वास हामीले लिएका छौं ।’

कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा प्रत्यारोपण गर्न तयार रहेको डा. न्यौपानेले बताए । कानुनी जटिलताहरुलाई फुकाउँदै सहज बनाएर केही सहयोग गरे प्रत्यारोपणको दर नेपालमा नै बढाउन सकिने न्यौपानेको भनाइ छ । उनले केही समयपछि कलेजले १५ लाखभित्र नै प्रत्यारोपण सेवा दिने दावी गरे ।

यो रकम भारतमा प्रत्यारोपण गराएको भन्दा निकै कम भएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले दावी गरे । ‘नेपालभित्र नै भएकाले फलोअपमा आउँदासमेत भारतमा जानुभन्दा कम खर्च हुन्छ, सहज पनि भयो,’ देवकोटाले भने, ‘स्वदेशी जनशक्ति, सस्तो रकम र निरन्तरको फ्लोअप हुने भएकाले यसबाट बिरामीलाई फाइदा हुने विश्वास लिएका छौं ।’

पहिलोपटक ‘पीभीटी’ भएको बिरामीमा प्रत्यारोपण

चितवन मेडिकल कलेजमा दोस्रो कलेजो प्रत्यारोपण अघिल्लो भन्दा निकै जटिल रहेको थियो । प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ थियो । सिरोसिस् भएको १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुने कलेजो प्रत्यारोपण चिकित्सक डा. सञ्जय यादव बताउँछन् । यसलाई Cirrhosis with Portal Vein Thrombosis (PVT) भन्ने गरिन्छ । डा. यादवले कलेजोको यस्तो समस्या भएपछि गरिने प्रत्यारोपण निकै जटिल मानिने बताए ।

नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको कलेजको भनाइ छ । सोही कारणले कलेजमा गरिएको पहिलो प्रत्यारोपणमा भन्दा झण्डै तीन घण्टा बढी समय र थप व्यवस्थापन गर्नुपरेको डा. यादवको भनाइ छ । यस्तो बिरामीको ‘पोष्ट अपरेटिङ’ पनि निकै चुनौतीपूर्ण हुन्छ । कलेजमा कलेजो प्रत्यारोपणको लागि आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजको सम्वन्धी विषेशज्ञहरूको छन् ।

शाहीको प्रत्यारोपणका क्रममा झण्डै १३ युनिट रगत खर्च भएको थियो । अघिल्लो प्रत्यारोपणमा १÷२ युनिट रगतले नै पुगेको थियो । शल्यक्रियामा आवश्यक रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय चितवन, चितवन मेडिकल कलेजमा नै रक्तदान गर्ने सबै दाताहरूलाई कलेजले धन्यवाद दिएको छ । कोभिडको महामारी र प्राकृतिक विपत्ती बाढि पहिरो र डुवानका कारण उत्पन्न असहज अवस्थाका बीच दोस्रोपटक कलेजोको सफल प्रत्यारोपणमा जुट्ने चिकित्सक, नर्स, व्यवथापनमा जुटेका सबै कर्मचारी तथा नेपाल सरकारका विभिन्न निकायलाई कलेजले धन्यवाद दिएको छ ।

कलेजो प्रत्यारोपण गर्ने शाही नवौं बिरामी

चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने भरत विक्रम शाही नेपालमा कलेजो प्रत्यारोपण गराउने नबौं बिरामी हुन् । चितवन मेडिकल कलेजमा २०७७ चैत ८ गते आइतबार भरतपुर महानगरपालिका वडा नं. १०  चितवनकी ५४ वर्षीया धनकुमारी लामाको पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएर प्रत्यारोपण गरिएकी लामा नेपालमा नै कलेजो प्रत्यारोपण गराउने आठौं बिरामी हुन् ।

यसअघि, काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच जना र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको थियो । गत फागुन ३० गते त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको थियो । २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बलराम नागाको नेपालमा नै पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो ।

चिकित्सा विज्ञानमा जटिलतम सेवामध्ये एक मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपण अनुमति दिएको छ भने निजीस्तरमा चितवनको चितवन मेडिकल कलेज भरतपुर र कलेज अफ मेडिकल साइन्सेस नेपाललाई कलेजो प्रत्यारोपण सेवा प्रदान गर्ने अनुमति दिइएको छ ।

प्रत्यारोपण पछिको जीवन सहज

प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीमा कलेजो आफैं विकसित हुन्छ । ‘कलेजो आफैं विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै यो बिरामीको पेटमा आफैं विकसित हुन्छ ।’ कलेजो सर्जन डा. एकानन्द सिंहले भने, ‘करिब छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छ ।’

नाबालकले नाबालकलाई, वयष्कले वयष्कलाई, बालकले वयष्क वा वृद्धलाई कलेजो प्रत्यारोपण गर्न सकिन्छ । ६५ वर्षसम्मका उमेर भएका मानिसले सजिलै कलेजो दान गर्न सक्ने चिकित्सक डा. सञ्जय यादवले बताए । उनले एक जनाबाट ६० देखि ६५ प्रतिशतसम्म कलेजो निकालेर प्रत्यारोपण गर्न सकिने बताए । कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्ने डा. यादवको भनाइ छ । कुनै पनि व्यक्तिलाई स्वस्थ्य मानिसले कलेजो दान गर्दा उक्त व्यक्तिको मृत्यु हुने सम्भावना जम्मा ०.०२ प्रतिशत मात्र हुने गर्छ, अर्थात दश हजार जनामध्ये दुई जनाको मात्र मृत्यु हुने तथ्यांक छ ।

नेपालबाट बर्सेनि महँगो शुल्क तिरेर भारतमा गई कलेजो प्रत्यारोपण गराउँदै आएको पाइन्छ । वार्षिक औसत ६० जना बिरामीहरू प्रत्यारोपणका लागि भारत जाने अनुमान छ । सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका भएमा नेपालमा नै प्रत्यारोपणको दरलाई बढाउने सकिने र भारतको भर पर्नुपर्ने बाध्यताको अन्त्य छिट्टै हुने कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेको भनाइ छ । नेपालमा हरेक वर्ष हजार जनाको कलेजो ‘फेल’ हुने अनुमान छ ।

सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रने चिकित्सकहरु बताउँछन् । साथै हेपाटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ यसलाई ‘साइलेन्ट किलर’ भनेर बुझ्ने गरिन्छ । एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो मदिरा सेवन तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण बिग्रने गर्दछ । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ । नियमित अल्कोहल सेवन गर्ने व्यक्तिहरुमा १० देखि १५ वर्षपछि कलेजो बिग्रन्छ । कलेजो आफैं ‘रिजेनेरेट’ हुने भएकाले तत्काल समस्या नदेखिए पनि दीर्घकालमा यसले नोक्सान गर्ने गर्दछ ।

शरीरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने डा. यादवले बताए ।  ‘त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि वर्षमा एक पटक कलेजको अवस्था के छ भनेर जाँच गराउन सुझाव दिन्छु’ डा. यादवले भने, ‘जटिल स्वास्थ्य समस्या आउन दिन अघि नै जाँच गराउनु राम्रो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?