Comments Add Comment

वीरगञ्जमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढे

सरोकारवालाहरुले इपिडिमियोलोजिकल सर्भे गर्नुपर्ने आवश्यकता देखियो : डा. सिंह

३१ असार, वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स दीपा रणजीत मानन्धर कोभिड वार्डको ड्युटी सकाएर जनरल आइसियू वार्डमा सरेकी थिइन् । अचानक ज्वरो आउन शुरु गर्‍यो । ज्वरो १०० देखि १०३ सम्म पुग्थ्यो । सास फेर्न गाह्रो हुन थाल्यो । शरीर एकदमै कमजोर भयो । ब्लड प्रेसर पनि कम देखियो । उनी अचानक बेहोस नै भइन् । पीसीआर परीक्षण गराउँदा नेगेटिभ थियो । स्वास्थ्यमा समस्या देखिएको १० दिन वितिसक्दा पनि उनी तंगि्रन सकेकी छैनन् ।

‘पाँच दिनसम्म लगातार ज्वरो आयो, सास फेर्न गाह्रो भएर अक्सिजन नै दिनुपर्‍यो,’ उनले भनिन् ‘डाक्टरको परामर्श अनुसार औषधी खाएपछि स्वास्थ्य समस्या ठिक भयो, तर कमजोरी कायमै छ । अस्पतालमा ड्युटी जान सकेको छैन ।’

०००

नर्स पूजा साहलाई पनि असार २३ गतेदेखि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्या देखियो । कोभिड वार्डमा ड्युटी गरिरहेकाले कोभिडको शंका लागेर पीसीआर परीक्षण गराउँदा नेगेटिभ आयो । बरु छातीको भिडियो एक्स-रे गरेर हेर्दा पानी जमेको देखियो । चिकित्सकले सुईबाट पानी निकाले ।

‘अलि अलि गाह्रो हुँदै थियो, ठीक हुन्छ होला भन्ने ठानेको त, बेहोस नै भएछु,’ उनले भनिन् ‘खोकी लाग्ने, वाकवाकी आउने, वान्ता हुने भएर हैरान भएँ, सास फेर्न गाह्रो भएर अक्सिजन नै दिनुपर्ने अवस्था आयो, अस्पतालमा भर्ना भएरै बसें ।’

चिकित्सकले एन्टिबायोटिक चलाएर निको पारेको बताउँदै उनले कमजोरीले खाना खाएपछि दिनभरी सुत्न मन लागिरहेको बताइन् । ‘कहिल्यै दिनमा नसुत्ने मान्छे, खाना खाएपछि दिनभरी सुतिरहेको छु,’ उनले थपिन् ‘औषधी उपचारपछि ठिक हुँदैछु तर काममा जान सकेको छैन ।’

०००

अर्की नर्स मधु दहितलाई असार २२ गते यस्तैखाले समस्या देखियो । उनलाई पनि टाउको दुख्ने, ज्वरो आउने र खोकी लाग्ने समस्या थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ थियो । तर ब्लडमा भने इन्फेक्सन देखियो । जीवनमा पहिलोपटक यस किसिमको स्वास्थ्य समस्या झेलेको बताउने उनी औषधी उपचारपछि एक सातामा निको भएको सुनाउँछिन् ।

०००

नारायणी अस्पतालमा एकैपटक ७ जना नर्स र ५ जना अहेबलाई त्यस्तो समस्या देखिएको नर्स अहेमा थापा बताउँछिन् । ‘एकैपटक धेरै जना नर्स र स्वास्थ्यकर्मीमा नयाँ खाले समस्या देखियो, समस्या जटिल हुने हो कि भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘तर एन्टिबायोटिक चलाएपछि ठिक हुँदै आएको छ ।’

शुरुमा स्वास्थ्यकर्मीमा देखिएकोे समस्या पछिल्ला दिनमा सर्वसाधारणमा समेत देखिएको छ । दैनिक रुपमा त्यस्ता स्वास्थ्य समस्या देखिएका विरामी वीरगञ्जको नारायणी अस्पताल, निजी स्वास्थ्य संस्था र क्लिनिकहरुमा देखिन थालेका छन् ।

नारायणी अस्पतालकै चिकित्सक सरोज रोशन दास पछिल्ला दिनमा नयाँ फ्लुका बिरामी एकदमै बढेको बताउँछन् । ‘सस्पेक्टेड कोभिड र भाइरल फिभरको आशंकामा उपचार शुरु गर्छौं, इन्फ्लुएन्जा हुन सक्छ तर पत्ता लगाउन परीक्षण नै गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसको सुखद पक्ष भनको एन्टिबायोटिक चलाउँदा ठिक हुन्छ ।’

उनले यो एकदमै छिटो-छिटो एक व्यक्तिबाट अर्कोमा सरिरहेको समेत बताए । ‘पहिला बुवा विरामी भएर जचाउन आउनुभयो, त्यसपछि छोरी अनि अर्को दिन आमा पनि आउनुभयो,’ उनले भने, ‘समस्या सबैसँग एकै खालको थियो, ज्वरो आउने, टाउको एकदमै दुख्ने ।’

१० दिनदेखि वीरगञ्जमा एकै खालका लक्षण भएका विरामीहरु एक्कासी बढेका छन् । गर्मी मौसम र वषर्ा शुरु भएपछि देखिएको मौसमी प्रतिकूलताका कारण हुन सक्छ, इन्फ्लुएन्जा जस्तै विरामी देखिएका छन् ।

नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार यो एकदमै छिटो सर्ने भएकाले एकै परिवार वा कार्यालयमा सँगै रहने व्यक्तिहरुमा एकै लक्षणका समस्या देखिएका छन् । धेरै संख्यामा विरामीहरु देखिएकाले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले इपिडिमियोलोजिकल सर्भे गर्नुपर्ने आवश्यकता देखिएको डा. सिंह बताउँछन् ।

कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण

धेरै लक्षण केभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । कोभिड- १९ संक्रमितमा पछिल्ला दिनमा कडा ज्वरो कडा आउने, टाउको दुख्ने, खोकी लाग्ने, भोक नलाग्ने, रगत परीक्षण गर्दा प्लेटलेट्सको मात्रा कम हुने, लिम्फोसाइटको मात्रा घट्ने र सिआरपीको मात्रा बढ्ने गरेको छ ।

रोग सुरु भएकै दिनदेखि अधिकांशमा नाकबाट पातलो सिंगान बग्ने गर्दछ । यसमा शुरुबाटै सुक्खा खोकी लाग्ने गर्दछ । जबकी कोभिड १९ मा प्रायः ५-७ दिन पछि खोकी लाग्न शुरु हुन्छ ।

ज्वरोको तापक्रम तुलनात्मक हिसाबले अन्य फ्लुमा भन्दा बढी देखिएको छ । फ्लुमा थोरैलाई मात्रै सास फेर्न अप्ठेरो भएको छ । अक्सिजन स्याचुरेसन सामान्य नै देखिएको छ ।

३-५ दिनपछि औसतमा लक्षणहरु ठिक भएका छन् । जबकी कोभिड १९ मा ७ दिनपछि मात्रै निमोनियाका लक्षणहरु देखिन्छ ।

गन्ध र स्वादमा कुनै असर देखिएको छैन । बरु विरामीले आफूलाई निकै कमजोर महशुस गरेको अनुभव सुनाएका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सजिलै छुट्याउन गाह्रो छ । पाँच दिन भन्दा बढी लक्षण निरन्तर देखिएमा वा जटिलता थपिएमा अनिवार्य पीसीआर परिक्षण गराउनुपर्दछ । विशेषगरी फ्लु आफैं ठिक हुने भएकाले सामान्य पारासिटामोल, एन्टिएलर्जिकको सेवनले निको हुने गरेको छ । पारा सिटामोल डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ । एकदमै कडा ज्वरो आएको खण्डमा विरामीको शरीरलाई नरम कपडा पानीमा भिजाएर पुछिदिने वा पानीपट्टी गर्नुपर्ने हुन्छ ।

रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । तसर्थ चिकित्सकहरु झोल पदार्थको प्रशस्त सेवन, पोषिलो खाने कुरा खाने, मनतातो पानीमा कागती, मह मिसार पिउने, प्रशस्त मात्रामा फलफूल खाँदा राम्रो हुने बताउँछन् । कोभिड-१९ र इन्ˆलुएञ्जा जस्तै विरामी फैलने माध्यम एउटै भएकाले बच्ने उपाय उस्तै छन् ।

फ्लुमा देखिएका लक्षणहरु

१. कडा ज्वरो आउने, पारासिटामोल दिँदा पनि ज्वरो घन्टौंसम्म कम नहुने (१००-१०५ डिग्री) सम्म पुग्ने
२. नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, खोक्दा छाती दुख्ने
३. बेस्सरी टाउको दुख्ने, जिउ गल्ने र दुख्ने
४. खाना मन नलाग्ने, कहिलेकाहिं पखाला लाग्ने ।

फ्लु लाग्न नदिने उपाय

१. एकअर्काबीच भौतिक दुरीको पालना अनिवार्य गर्ने ।
२. मास्कको प्रयोग अनिवार्य गर्ने । खोक्दा वा हाछ्युँ गर्दा रुमालले नाकमुख छोप्ने ।
३. बेला-बेलामा साबुन पानीले हात धुने ।
४. एउटै रुमाल, तौलिया वा कपडा सबैले प्रयोग नगरौं ।
५. समयमै चिकित्सकको सल्लाहमा उपचार सेवा लिने ।
६. अनावश्यक पेन किलर र एन्टिबायोटिक औषधि प्रयोग नगर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

Advertisment