Comments Add Comment

नेपालको सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको रक्षा गरेको छ : रन्जित रे

फाइल तस्वीर

३१ असार, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश र संसद पुनर्स्थापना सम्बन्धी फैसलालाई सबैले स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम स्टार्टन्युज ग्लोबललाई दिएको अन्तवार्तामा पूर्व राजदुत रेले फैसला ओलीको लागि ठूलो सेटब्याक भएको बताए । ‘यो नेपालको सर्वोच्च अदालतको ल्याण्डमार्क फैसला हो । अदालतको निर्णयले संविधानको रक्षा गरेको छ । यो निर्णयको सबैको स्वागत गर्नुपर्छ,’ राजदूतले रेले भने, ‘निश्चय नै पछिल्लो निर्वाचनमा नेपाली जनताको चाहना केपी ओली नै थिए र उनको दलले झण्डै दुई तिहाई मत प्राप्त गरेका थिए । तर दुर्भाग्यवश उनले आफ्नै दलका अन्य नेताहरुलाई व्यवस्थापन गर्न सकेनन् ।’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोगेको समस्या उनको आफ्नै व्यवहारबाट आएको समेत रेले बताएका छन् । सर्वोच्च अदालतले प्रत्यक्ष रुपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने आदेश पहिलोपटक दिएको भन्दै रेले अन्तर्वार्तामा भनेका छन्, ‘यो पनि सर्वोच्च अदालतले पहिलोपटक भनेको छ कि राष्ट्रपतिले गर्ने निर्णय न्यायिक पुनरावलोकनको विषय बन्नसक्छ  र निर्णय संविधान अनुसार भएन भने सर्वोच्च अदालतले त्यो निर्णयलाई करेक्सन गर्नसक्छ ।’

रेले देउवाको कार्यकालमा नेपाल र भारतको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । ‘देउवा हाम्रो लागि धेरै परिचित राजनीतिज्ञ हुन् । काठमाडौंमा सत्तामा आउने कुनै पनि राजनीतिक दलसँग हामीले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment