Comments Add Comment

आज ‘लुतो फाल्ने’ दिन : कस्तो छ विधी ?

साउन १ अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको बुढापाकाहरु बताउँछन् । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको वरिष्ठ पत्रकार भैरव रिसाल बताउँछन् ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ ।

वर्षको दुईवटा ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । यही दिनदेखि अयन परिवर्तन भएर दक्षिणायन सुरु हुन्छ । देवताको उत्तरायणमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल विवाह व्रतबन्ध आदि कार्यको लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चार्डहरु दक्षिणायनमा पर्ने गरेको बताउँछन् ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसोमा जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको ढुंगेल बताउँछन् ।

लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्काे गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्काे गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

उबेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलन धेरै परिवर्तन भइसकेको बताउँछन् वरिष्ठ पत्रकार रिसाल । अहिले त यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ ।

उनी हिजो आज धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएकोमा दुःख मान्छन् । धसिंगलेसँगै नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छवालीका मुठा बाल्ने चलन पनि पहिलेको भन्दा फरक रहेको रिसाल बताउँछन् । यसरी पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएकोमा उनी दुःख मान्छन् ।

आफूहरु सानो छँदा अनन्तलिंगेश्वरको डाँडामा गएर थसिंगरे लगायतका वनस्पतिहरु ल्याएर विधिपूर्वक लुतो फालेको उनी सुनाउँछन् । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । उनी भन्छन् ‘साउने संक्रान्तिका दिन गाउँका हामी ८÷१० जना किशोरहरू ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।’

ती सबै सामान ल्याएर लुते देवताको पूजा गर्ने गरिन्थ्यो । पूजापछि दाउराको स–साना टुक्रा जम्मा पारिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment