Comments Add Comment

‘नसर्ने रोगको उपचार नै भएन’

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हरेक वर्ष करीब ४ करोड १० लाख मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गर्दछ । हालसम्म कोभिड–१९ भाइरसद्वारा विश्वभरि १८ करोडभन्दा बढी संक्रमित भएका छन् भने ४० लाखभन्दा बढी मानिसले अकालमै ज्यान गुमाएको भयानक अवस्था हाम्रोसामु छ । नेपाल जस्ता न्यून तथा मध्यम आयस्तर भएका देशहरूमा हुने मृत्युदरलाई विश्लेषण गर्दा ८५ प्रतिशतभन्दा बढी व्यक्तिको मृत्यु नसर्ने रोगको कारण अकालमै हुने गरेको पाइएको छ ।

कोभिड–१९ संक्रमणपश्चात् सो संक्रमण कति जटिल हुन सक्छ भन्ने कुरा कोभिड–१९ संक्रमित व्यक्ति अन्य कुनै नसर्ने रोगबाट ग्रसित छ या छैन भन्ने पक्षसँग प्रत्यक्ष सम्बन्धित छ भनी विभिन्न वैज्ञानिक प्रमाणले पुष्टि गरिसकेका छन् । कुनै प्रकारको नसर्ने रोगबाट ग्रसित व्यक्तिमा कोभिड–१९ संक्रमणको जटिलता नसर्ने रोग नभएको व्यक्तिको तुलनामा बढी र भयानक हुने गर्दछ ।

कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा विश्व स्वास्थ्य संगठनद्वारा हालै विश्वका १५५ देशहरूमा गरिएको सर्वेक्षणले ‘नसर्ने रोगबाट ग्रसित मानिस उनीहरूको लागि आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको र सो कारणले त्यस्ता मानिसको जीवनस्तर अझ बढी प्रभावित भएको’ तथ्य अगाडि सारेको छ ।

नसर्ने रोगबाट ग्रसित व्यक्तिमा कोभिड संक्रमणका क्रममा देखिन सक्ने भयानक जटिलता तथा सो न्यूनीकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सेवा र सहयोगको सुनिश्चितता गर्न कमजोर स्वास्थ्य संरचना र प्रणाली भएका देशहरूमा सम्भव नै नभएको जस्तो देखिएको नाजुक अवस्था छ

एक वा सोभन्दा बढी नसर्ने रोगबाट ग्रसित व्यक्तिमा कोभिड–१९ संक्रमणको जटिलता भयानक हुने तथा मृत्युदर पनि बढी हुने तथ्यलाई आत्मसात् गर्दै यस महामारीको अवधिमा नसर्ने रोगको रोकथाम र नियन्त्रणलाई विशेष महत्व दिइएको अवस्था छ । कोभिड–१९ महामारीका क्रममा विशेष गरेर विभिन्न शीघ्रातिशीघ्र स्वास्थ्य सेवाहरूको अत्यधिक मागलाई मध्यनजर गर्दै विश्वभर विविध प्रकारका सहुलियत तथा सर्वसुलभ सेवा–सुविधाको उपलब्धता र पहुँचलाई विशेष ध्यान दिइएको छ ।

यस्ता सहुलियत तथा सर्वसुलभ सेवा–सुविधामा (१) नसर्ने रोगका बिरामीलाई वित्तीय सहयोग, (२) प्राथमिक स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि, (३) प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आधारभूत स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गर्नु, (४) सरकारी अनुदानमा उच्चस्तरको उपचार सेवा जस्ता क्षेत्रहरू समेटिएका छन् ।

यस महामारीले विशेष गरेर भारत, नेपाल, बंगलादेश, ब्राजिल, इरान जस्ता न्यून तथा मध्यम आयस्तर भएका देशको कमजोर स्वास्थ्य संरचना र प्रणालीमा क्षमता भन्दा बढी बोझ पारी अझ नाजुक अवस्थामा पुर्‍याएको छ ।

नसर्ने रोगबाट ग्रसित व्यक्तिमा कोभिड संक्रमणका क्रममा देखिन सक्ने भयानक जटिलता तथा सो न्यूनीकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सेवा र सहयोगको सुनिश्चितता गर्न कमजोर स्वास्थ्य संरचना र प्रणाली भएका देशहरूमा सम्भव नै नभएको जस्तो देखिएको नाजुक अवस्था छ ।

अझ ध्यान दिनुपर्ने विषय के छ भने, यस महामारीको संक्रमण रोकथामका क्रममा अवलम्बन गरिएका कतिपय रणनीति जस्तो लकडाउन, आइसोलेसन, क्वारेन्टाइन र भौतिक वा सामाजिक दूरीले मानिसलाई नसर्ने रोगको जोखिमको परिधिभित्र समेटिरहेको छ । जस्तैः एक्लोपनमा मानिसले सो अवस्थामा अनुकूलन हुन बढी मात्रामा मद्यपान वा धूम्रपान गर्दा लतको विकास हुनु, प्रशोधित खानाहरूको बढी उपयोग र शारीरिक कसरतहरूमा हुने कमिले शारीरिक तौलमा वृद्धि हुनु, त्यसैगरी आर्थिक अभाव तथा सामाजिक दूरी कायम रहिरहँदा मानसिक समस्याहरू देखा पर्नु आदि ।

नेपालमा, विशेषगरी लकडाउनका विभिन्न अवधिमा, समाचार तथा सामाजिक सञ्जालहरूमा देखिएका परिघटना तथा तस्वीरहरूले पनि समाजमा दीर्घ वा नसर्ने रोगहरूबाट ग्रसित मानिस आधारभूत उपचार तथा स्वास्थ्य सेवाको पहुँचबाट कसरी वञ्चित भएका छन् भन्ने कुरा दर्शाएका छन् ।

नेपालको प्रदेश–१ मा ८४७ जनामा गरेको अध्ययनले नसर्ने रोगबाट ग्रसित व्यक्तिहरूमध्ये ५३ प्रतिशतले स्वास्थ्य स्याहार र १४ प्रतिशतले औषधिको पहुँचमा पुग्न गाह्रो भएको तथ्य प्रकाशमा ल्याएको छ । सो अध्ययनले विशेषगरी कोभिड–१९ महामारीको कारणले नसर्ने रोगबाट ग्रसित व्यक्ति अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधिको पहुँच बाहिर रहेको जनाएको छ ।

हाम्रो देश नेपालमा नसर्ने रोगबाट ग्रसित मानिसका आवश्यकता तथा अभावलाई सम्बोधन गर्न राम्रा तथा प्रभावकारी नीति र निर्देशिका हुँदाहुँदै पनि तिनीहरूको कार्यान्वयन एकदमै फितलो रहेको पाइन्छ । हाल कार्यान्वयनमा रहेका त्यस्ता नीति र निर्देशिका विशेषगरी प्राथमिक स्वास्थ्य प्रणाली सुदृढीकरण गरी अत्यावश्क स्वास्थ्य सेवाको पहुँच बढाउन र जटिल अवस्थाका बिरामीहरूका लागि सुव्यवस्थित प्रेषण प्रणाली विकास गर्नमा केन्द्रित रहेका छन् ।

कोभिड–१९ को यो विषम परिस्थितिमा सरकार र नीतिनिर्माताले यी नीति तथा निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनको पक्षलाई मात्र ध्यान दिन सके धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो तर दुर्भाग्यवश सो हुन सकेन । यस महामारीका क्रममा नसर्ने रोगसँग सम्बन्धित स्वास्थ्य जनशक्तिलाई कोभिड सेवामा संलग्न गराइँदा, देशभरि गरिएको लकडाउन तथा अन्य प्रतिबन्धहरूका कारणले औषधि उपचार तथा निदान सेवाको अभाव हुनुका साथै स्वास्थ्य सेवा प्रदायकसम्मको पहुँच नहुँदा सोको नकारात्मक तथा जटिल प्रभाव नसर्ने रोगका बिरामीमा परेको देखिन्छ ।

प्रकाशित समाचारहरूका अनुसार नसर्ने रोगका बिरामीले अस्पतालमा भर्ना हुन नै समस्या भएको र लकडाउनका क्रममा त्यस्ता अत्यावश्यक तथा आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता हुने व्यक्तिहरूका लागि कहाँ कसरी सेवा लिने भन्ने विषय नै ओझेलमा परेको देख्दा अचम्म लाग्नु स्वाभाविक हो ।

हुनत यस कोभिड–१९ महामारीको वास्तविक प्रभावबारे बुझ्न अझै बाँकी नै छ, तर महामारीकै कारणले स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर हुँदा दीर्घ स्वास्थ्य समस्या अझै जटिल हुने, अक्षमता तथा रोगको जटिलता बढ्ने, अकालमा हुने मृत्युदरमा वृद्धि र सोका कारणले राष्ट्रको करोडौंको धनराशिमा हुने नोक्सानी आदि जस्ता पक्षहरूको हिसाबकिताब गर्न बाँकी नै छ।

हुनत महामारीलाई निस्तेज पार्न रोगको रोकथाम र नियन्त्रणका विभिन्न रणनीति अपनाउन जरूरी हुने गर्छ । तर, मुलुकको स्वास्थ्य प्रणालीले महामारीको अवस्थामा पनि महामारी प्रतिकार्य तथा अत्यावश्यक स्वास्थ्य सेवाको प्रत्याभूत (विशेषगरी नसर्ने रोगहरूबाट ग्रसित भएका वृद्धवृद्धाका लागि, जसका स्वास्थ्य आवश्यकताहरू संवेदनशील हुने गर्दछन्) गराउनुपर्ने दोहोरो जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । तर, नीतिगत तहमा, नेपालको कोभिड महामारी प्रतिकार्य योजनाले नसर्ने रोगहरूबाट ग्रसित व्यक्तिहरूका लागि आवश्यक विशेष प्राथमिकता तथा प्रावधानहरूलाई संकुचित बनाएको छ ।

नेपालका नीतिनिर्माताले बुझ्न जरूरी छ कि जबसम्म कमजोर र संवेदनशील जनमानसका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चितताका लागि रणनीतिहरू अवलम्बन गरिंदैनन् तबसम्म कोभिड–१९ जस्ता महामारीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न असम्भवप्रायः छ । महामारी जस्ता जनस्वास्थ्य संकटका समयमा यस्ता रणनीति तयार पार्दा विशेषगरी महामारीजन्य तथ्य तथा तथ्यांक, स्वास्थ्य संरचना तथा प्रणालीको क्षमताका साथै उपलब्ध स्रोतसाधन बारेको यथार्थ पनि आकलन गरी निर्णय लिनुपर्ने हुन्छ ।

कोभिड–१९ महामारीका क्रममा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचमा बाधा भएको अवस्थामा सम्पूर्ण सरोकारवाला, आमनागरिक, विकासका साझेदार संस्था, स्थानीय तथा केन्द्रीय निर्णयकर्ताको सहकार्यमा अत्यावश्यक स्वास्थ्य सेवाहरूको उपलब्धता र पहुँचका नयाँ आयाम वा नमूनाहरूको मूल्यांकन र सहयोजना गर्न आवश्यक छ ।

यसरी विकास गरिएका स्वास्थ्य सेवाका नयाँ विधि वा मोडलहरूको विकास गर्दा त्यस्ता विधि वा मोडलहरू महामारीका अवधिमा तथा त्यसपछिका अवस्थामा पनि जनताका स्वास्थ्य आवश्यकता पूरा गर्न सक्षम हुन जरूरी छ । एक महत्वपूर्ण रणनीति के हुनसक्छ भने समुदायस्तरमा जनताका स्वास्थ्य सेवाका आवश्यकता परिपूर्ति गर्न प्राथमिक स्वास्थ्य सेवालाई महामारी प्रतिकार्य योजनाको केन्द्रमा राख्ने ।

‘महामारीको अवस्था’ प्राथमिक स्वास्थ्य सेवा र अत्यावश्यक औषधिलाई समुदायको पहुँचमा पुर्‍याउन विभिन्न वैकल्पिक मार्ग अपनाउनका लागि एक महत्वपूर्ण अवसर पनि हो । अत्यावश्यक स्वास्थ्य सेवा पहुँचका लागि अपनाइने यस्ता वैकल्पिक मार्गहरूमा घर–भेट सेवा, सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन, टेलिहेल्थ वा घुम्ती स्वास्थ्य सेवा, दूर स्वास्थ्य परामर्श आदि हुन सक्दछन् ।

नसर्ने रोगका कारकतत्व, नसर्ने रोगको घरमै व्यवस्थापन गर्नका लागि अपनाइने आधारभूत चरणहरूबारे सरल रूपमा स्वास्थ्य सन्देशहरू प्रवाह गर्नका लागि डिजिटल प्रविधिको प्रयोग गरी सञ्चालन गरिने स्वास्थ्य सचेतना कार्यक्रमले महामारीका समयमा नसर्ने रोगहरूको रोकथाम र स्व–व्यवस्थापनमा महत्वपूर्ण योगदान दिन सक्दछन् ।

यस प्रकारका स्वास्थ्य सचेतना कार्यक्रमले विशेषगरी महामारीका समयमा आफूलाई आवश्यक स्वास्थ्य सेवा कहाँ र कसरी प्राप्त गर्ने, धूम्रपान वा मद्यपान रहित स्वस्थ जीवनशैलीको महत्व, शारीरिक कसरत र योग, मनोसामाजिक परामर्श, सामाजिक अन्तरक्रिया आदि जस्ता विषयवस्तु समेट्दा प्रभावकारी हुने गर्दछ ।

नसर्ने रोगहरूबाट ग्रसित व्यक्तिहरूमा कोभिड–१९ महामारीको प्रभावलाई न्यूनीकरण गर्न सम्पूर्ण तहका सरकारी निकाय, सार्वजनिक तथा निजी संघ–संगठनबीच प्रभावकारी समन्वय हुन जरूरी छ । उदाहरणका लागि, सरकारी निकायले आफैंले वीरता प्रदर्शन गर्नुभन्दा देश र विदेशमा रहेका सम्बन्धित विषयविज्ञ र सरोकारवालाहरूसँग सहकार्य तथा परामर्श गर्नु उत्तम हुन्छ । उपयुक्त सहयोग र राहतको प्रत्याभूति विना नै आमनागरिकबाट सधैं बलिदानको आशा गर्नु बुद्धिमानी होइन ।

(यादव न्यू साउथवेल्स विश्वविद्यालय सिड्नीमा अध्ययनरत छन् ।)

यो पनि पढ्नुहोस लकडाउन र निषेधाज्ञाको ‘साइड इफेक्ट’ : मारमा क्यान्सर, मिर्गौला र मुटु रोगी यो पनि पढ्नुहोस ‘विज्ञ, समाज, मिडियाको ध्यान कोभिडमा मात्रै गयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment