Comments Add Comment

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

१ साउन, काठमाडौं । नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन ।

यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।

नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जानकारी भने थाहा नभएको बताइन् । पछिल्लो समय बढ्दो दरमा रहेको कोरोना भाइरसको संक्रमणका कारण नेपाललाई समावेश नगरिएको हुन सक्ने सम्भावना छ ।

च्याम्पियनसिपका लागि नेपालले एक महिनादेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । शुरुमा २७ खेलाडीले प्रशिक्षण गरेकोमा अहिले १८ खेलाडी प्रशिक्षणमा छन् । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न खेलाडीदेखि संघ सबै उत्साहित थिए । तर अन्तिम समयमा नेपालको नाम हटेको हो ।

एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

किन पाएन नेपालले एसियन च्याम्पियनसिप खेल्न?

नेपाल भलिबल संघ एनभीएका महासचिव जितेन्द्र चन्दले कोरोनाका कारण नेपालले सहभागिता जनाउन नपाउने भएको बताए ।

‘फिलिपिन्समा ईन्ट्री गर्न नेपाल र भारतलाई ब्यान गरेको छ । आजसम्मको मितिमा दुई देशलाई ब्यान गरेकाले सहभागिता हुन सकेन,’ चन्दले भने, ‘आयोजकले नै ब्यान गरेपछि एभीसीले पनि केही गर्न सक्दैन । कोरोना नै मुख्य कारण हो ।,’

नेपालले यस च्याम्पियनसिपका लागि एक महिनादेखि लाखौं खर्च गरेर तयारी गरेकाले खेल्न नपाउँदा घाटा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment