Comments Add Comment

कोरोनाको कारण गुम्यो एसियन च्याम्पियनसिप खेल्ने अवसर

१ साउन काठमाडौं । पहिलो पटक पटक एसियन च्याम्पियनसिप खेल्ने अवसर, त्यसमा पनि एसियाका पावर हाउस मानिने राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने भएकाले खेलाडीहरु उत्साहित थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेप कभर्हलमा प्रशिक्षण सुरु भयो ।

दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका खेलाडीहरूमा आत्मविश्वास पनि बढिरहेको थियो । नेपालले कम्तिमा ठूला टिमसँग खेल्ने अवसरलाई सदुपयोग गर्ने लक्ष्य राखेको थियो ।

नेपालले अहिलेसम्म खेलेको ठूला टिममा दक्षिण एसियामा भारत थियो भने एसियामा इरान थियो । यस पटक कोरिया थाइल्याण्ड चाइनिज ताइपेई जस्ता टिमसंग पनि खेल्ने खेल्ने अवसर पाउँदै थियो ।

तर शुक्रबार नेपाली टोलीको खुसी बिथोलिएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) ले २१औं संस्करणको एभिसी सिनियर वुमन्स च्याम्पियनसिपका लागि समूह विभाजन गर्दा ८ टिमलार्इ मात्र स्थान दियो, जसमा नेपाल परेन ।

जबकी चीनसहित ५ राष्ट्रले नाम फिर्ता लिएपछि पनि एभिसीले १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको जनाएको थियो । तर पछिल्लो पटक ८ टिमले मात्र अगष्ट-सेप्टेम्बरमा हुने प्रतियोगिता खेल्ने भनियो, जसमा नेपालसहित भारत, जापान र हङकङ परेन ।

नेपालले एसियन च्याम्पियनसिप गुमाउनुको कारण कोभिड-१९ बन्यो । आयोजक देश फिलिपिन्सले नेपाल र भारतलाई इन्ट्री अनुमति नदिएकाले एभिसीले दुबै देशलार्इ प्रतियोगिताबाट अलग गरेको हो । नेपालले खेल्न नपाउनुको कारणबारे अनलाइनखबरले राखेको जिज्ञशामा  एभिसीले इमेलमार्फत भनेको छ, ‘फिलिपिन्स सरकारले भारत र नेपालका  नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएकाले दुवै टिम यहाँ आउन सक्दैनन् ।’

जापान र हङकङले भने कोरोनाका कारण नाम फिर्ता लिएका हुन् । अब एसियन च्याम्पियनसिपमा आयोजक फिलिपिन्ससँगै थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउने छन् ।

नेपाल भलिबल संघ (एनभीए)ले पनि नेपालका भेटिएको कोभिड-१९ को नयाँ भेरियन्ट अति संवेदनशील भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको बल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको बताएको छ ।

बन्द प्रशिक्षण स्थगित

च्याम्पियनसिप खेल्न नपाउने भएपछि नेपालको बन्द प्रशिक्षण स्थगित भएको छ । एनभीएले शुक्रबारै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको विज्ञप्तीमा जनाएको छ ।

यसपटक एनभिएले खेलाडीहरुलाई राम्रो होटलमा राखेर बन्द प्रशिक्षण गराएको थियो । यस्तै टिममा दुई प्रशिक्षक दुई जना ट्रेनर राखेको थियो । साथै फिजियो समेत राखेको थियो ।

च्याम्पियनसिपका लागि नेपालले एक महिनाअघि देखि बन्द प्रशिक्षण सुरु गरेको थियो । सुरुमा एनभीएले बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाएकोमा नेपाल पुलिसले ३ खेलाडी नपठाएपछि २७ खेलाडीले प्रशिक्षण थालेका थिए । त्यसपछि एनभिएले बनाएको खेलाडी छनोट समितिले १८ खेलाडी छनोट गरेको थियो । अन्तिम चरणमा १४ खेलाडी छनोट गर्ने तयारी थियो । तर नेपालले अब च्याम्पियनसिप खेल्न नपाउने भएपछि एनभीएले प्रशिक्षण पनि रोकेर खेलाडीहरुलाई रिलिज गर्ने जनाएको छ ।

२०७६ मा नेपालको महिला टिमले दुई ठूला उपलब्धि हासिल गरेपछि संघले एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको थियो । नेपालले २०७६ कात्तिकमा बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो भने त्यही वर्ष मंसिरमा घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जितेको थियो । दुवै नेपालको ऐतिहासिक उपलब्धि थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment