Comments Add Comment

एमालेको स्थायी कमिटी बैठक बस्दै

३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो ।

यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । स्थायी कमिटी र दलको दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ । बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि थप छलफल हुने नेताहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment