Comments Add Comment

नम्रताको विवादास्पद अभिव्यक्तिः चर्चाकै लागि हो त ?

गतबर्षको लकडाउनमा नायिका नम्रता सापकोटाले दिएको एक अभिव्यक्ति चर्चामा रह्यो । नम्रताले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ भएको भन्दै बयान दिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रा कलाकार भन्दा पनि आफ्ना कलाकार चल्ने गरेको उनको तर्क थियो । परिवारबाट आएका कलाकारदेखि समुह बनाएर काम गर्ने कलाकार चलेको उनको तर्क थियो ।

नम्रताको यो अभिव्यक्तिले गाली र ताली दुबै पायो । कतिपयले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको भन्दै नम्रताको आलोचना गरे । कतिपयले भने उनको भनाईमा समर्थन जनाए ।

उनै, नम्रता यो बर्ष फेरि एउटा अभिव्यक्तिको कारण चर्चामा छिन् । नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेर दिएको अभिव्यक्तिले उनलाई फेरि चर्चामा ल्याइदिएको छ ।

कतिपयले चर्चामा आउनकै लागि उनले बेला–बेलामा विवादस्पद अभिव्यक्ति दिने गरेको भन्दै उनको आलोचना गरेका छन् भने कतिपयले उनको कुरामा समर्थन जनाएका छन् । टिकटकमा पनि उनको भनाइको सानो टुक्रा भाइरल छ ।

यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै नम्रताले भनिन्–‘मैले भन्न खोजेको कुरालाई गलत तरिकाले वुझियो । यदि मैले बिहे गरिनँ भने पनि बच्चा जन्माउँछु भनेर भन्न खोजेको थिएँ । अहिलेको यूगमा बच्चा जन्माउनका लागि बिहे नै गर्नुपर्छ भन्ने पनि छैन । बच्चा जन्माउनका लागि विभिन्न प्रविधीहरु आइसकेका छन् ।’

गतबर्षको लकडाउनमा नै नम्रताको बिहेको कुरा चलेको थियो । सो समयमा उनले बच्चा ‘कोख’ लिने सोच बनाएकी थिइन् ।

नम्रता अगाडि भन्छिन्–‘अहिलेको समयमा बच्चा जन्माउनका लागि शारीरिक सम्पर्क राख्नुपर्छ भन्ने पनि छैन । टेष्ट्यूबदेखि विभिन्न तरिकाले बच्चा जन्माउन सकिन्छ । बच्चा कोख लिन पनि सकिन्छ । तर, यो मेरो सोच मात्र हो । कुनै पनि कुरा सोच्न त पाइन्छ होला नी ।’

नम्रताले यो भनाइपछि आफूलाई विभिन्न यूवतीहरुले म्यासेज गरेको बताइन् । भनिन्–‘धेरै यूवतीहरु समाज र परिवारको डरले यो बिषयमा बोल्न चाहदैनन् । तर, उनीहरुले मलाई नेपालमा यस्तो गर्न कानुन कस्तो छ भनेर सोध्नुभएको छ । धेरैको चाहना एकल महिला बन्ने रहेछ ।’

नम्रताले आफूले चर्चामै आउनका लागि यस्तो बयान नदिएको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment