+
+
Shares

दोहामा अफगान सरकार र तालिबानबीच उच्चस्तरीय वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १८:०१

३ साउन, काठमाडौं । अफगानिस्तानको सरकार र विद्रोही तालिबानबीच कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसा बढिरहेको समयमा वार्ता भएको हो ।

वार्ताको क्रममा उनीहरुको बीचयुद्ध रोक्ने, तालिबानी कैदी रिहाइ गर्ने र अन्तरिम सरकार बनाउने विषयमा दुवै पक्षले आ–आफ्नो मत राखेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफगानी सरकारको प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले भनेका छन्, ‘हामी सबैको प्राथमिकता पपूर्णरुपमा युद्ध समाप्त गर्ने र सर्वसम्मतरुपमा अहिलेको समस्याको समाधान निकाल्ने हुनुपर्छ । हामी सबैको ध्यान संयुक्त भविष्यमा केन्द्रित हुनुपर्छ । अफागी नागरिक त्यसको हकदार पनि छन् ।’

यसै विषयमा तालिबानको प्रतिनिधिमण्डलका नेता अब्दुल घानी बिरादरले कुनै पनि राजनीतिक सम्झौतामा पुग्नुभनदा पहिला एकअर्कामा रहेको अविश्वासको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘हामीले आफ्नो निजी स्वार्थलाई बेवास्ता गर्दै अफगानिस्तानको समग्र एकताको लागि प्रयास गर्नुपर्छ ।’

अफगानी राष्ट्रपति असर्फ घानी पनि यो वार्तामा सहभागी हुने कार्यक्रम थियो तर उनी सहभागी हुन सकेनन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जिल्मे खलिलजाद भने वार्तामा सहभागी थिए ।

डान न्युजका अनुसार तालिबानका नेताले वार्तामा धेरै प्रगति नभएको बताए । तालिबानका नेता अब्दुल घानी बिरादरले भने, ‘तर फेरि पनि हामी आशावादी हुनुपर्छ र तालिबानले वार्ताको सकारात्मक नतिजाको लागि प्रयास गर्नेछ ।’

अफगानिस्तान सरकारका प्रतिनिधिमाण्डलका प्रवक्ता नाजिय अनवरीले भने, ‘हामी यो आशा गर्छौं कि वार्ता छिटै सकियोस् र छिटै नै दुवै पक्ष कुनै नतिजामा पुगून् र अफगानिस्तानमा स्थायी शान्तिको यात्रा देख्न पाइयोस् ।’

दुवै पक्षबीच वार्ता जारी राख्ने र धेरैभन्दा धेरै सम्पर्क बढाउने विषयमा सहमति भएको छ । यद्यपि अहिले पनि वार्ता कहिलेसम्म चल्नेछ भन्ने स्पष्ट हुन सकेको छैन र यस विषयमा कुनै साझा वक्तव्य पनि आएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?