Comments Add Comment

तीज गीतमा सिरिजको लहरः ‘हङकङको साडीले’देखि ‘लरीलरीलै’सम्म

नेपाली चलचित्र क्षेत्रमा सिक्वेल वा सिरिज नौलो रहेन । थुप्रै चलचित्रका सिक्वेल वा सिरिज बनेका छन् । अब सिक्वेल वा सिरिजको लहर तीज गीतमा पनि सरेको छ ।

यसअघि आइसकेका तीज गीतको भाग २, भाग ३ भन्दै कलाकारहरुले सार्वजनिक गरिरहेका छन् । कोहीले पहिलेको गीतको फिमेल भर्सन समेत सार्वजनिक गरेका छन् । भने, कोहीले पहिलेको गीत रि–रेकर्ड गरेर बजारमा ल्याएका छन् ।

६ वर्षअघि ‘हङकङको सारीले’ बोलको तीज गीत सार्वजनिक गरिएको थियो । तिलक वली र आरती खड्काको स्वरमा रहेको उक्त गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए । यसवर्ष ६ वर्षअघिको सो गीतको भाग २ ‘हङकङको सारीले २ –कुर्ता’ सार्वजनिक गरिएको छ । यस गीतमा तिलक वली र समीक्षा अधिकारीले स्वर दिएका छन् । गतवर्ष खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा ‘लरिलरिलै रुन्छु बरिलै’ बोलको तीज गीत सार्वजनिक गरिएको थियो । गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए । यसवर्ष खेम र कमलाकै स्वरमा ‘लरिलरिलै २–हान्छु तिम्लाई लौरीले’ बोलको तीजगीत सार्वजनिक भएको छ ।

त्यस्तै गतवर्ष खेम सेञ्चुरी, शर्मीला गुरुङ, देवी घर्ती मगर र पुरुषोत्तम पौडेलको स्वरमा ‘तीज महामारी काण्ड’ सार्वजनिक गरिएको थियो । यसवर्ष ‘तीज महामारी काण्ड २ – पक्कै मरिन्छ’ सार्वजनिक गरिएको छ । यस गीतमा पनि खेम, शर्मीला, देवी र पुरुषोत्तमले स्वर दिएका छन् ।

यतिमात्र कहाँ, प्रीति आलेको स्वरमा गतवर्ष ‘फरिया लरीलै बरिलै’ बोलको तीज गीत सार्वजनिक गरिएको थियो । प्रितीकै स्वरमा यसवर्ष सोही गीतको भाग २ ‘फरिया २– सोल्टी राजाको टुम्लेट’ सार्वजनिक गरिएको छ ।

गायक दुर्गेश थापाले यसवर्ष ‘बीच्च बीच्चमा ४’, ‘बीच्च बीच्चमा ५’ ल्याउने तयारी गरेका छन् । उनले यसअघि ‘बीच्च बीच्चमा ३’ सम्म ल्याईसकेका छन् । त्यस्तै दुर्गेशले यसवर्ष ‘बीच्च बीच्चमा २’को फिमेल भर्सन ‘एउटा फोटो खिच’को फिमेल भर्सन सार्वजनिक गरिसकेका छन् । फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् ।

गायक पशुपति शर्मा र सम्झना भण्डारीले ‘मेरो माया बसेको गाउँमा’लाई यसवर्ष रि–रेकर्ड गरेर बजारमा ल्याएका छन् । केही वर्ष अगाडि सार्वजनिक गीतलाई स्रोता तथा दर्शकले रुचाएका थिए । लोकदोहोरी गायक खुमन अधिकारी पनि गतवर्ष सार्वजनिक भएको आफ्नो गीत ‘यो मान्छे चिन्छौं–कोरोना लाछैन’को भाग २ ल्याउने तयारीमा रहेको बताउँछन् । यो गीतलाई गतवर्ष स्रोता एवं दर्शकले रुचाएका थिए ।

तीज गीत ‘घरझगडा’ भाग ३ सम्म बनिसकेको छ । यसवर्ष यसको भाग ४ ल्याउने तयारी छ । लोकदोहोरी गायिका कला लम्सालले तीज गीत ‘पातली’को सिरिज ल्याउँदै आएकी छिन् । गतवर्ष ‘पातली २–एैना हेरी हेरी’ ल्याएकी उनले यसवर्ष ‘पातली ३–झिल्के भेना’ युट्युबमा सार्वजनिक गरिसकेकी छिन् । अन्य थुप्रै गायक–गायिकाले तीज गीतको सिरिज ल्याएका छन् । यसवर्ष पहिलेकै गीतको नयाँ भागको रुपमा अर्को तीज गीत ल्याउने क्रम ह्वात्तै बढेको छ ।

किन बढ्यो यो लहर ?

तीज गीतमा सिरिजको लहर शुरु भएको अहिले भने होइन । पहिले केही तीज गीतको सिरिज बनेका छन् । प्रजापति पराजुलीको ‘बेदनाको पोको’ भाग २– ३ हुँदै केही भागसम्म सार्वजनिक भएका छन् । त्यस्तै, विष्णु माझीको गीत ‘पुतलीको भट्टी’ थुप्रै भागसम्म सार्वजनिक भएको छ । पहिले केही सिमित कलाकारले तीज गीतको सिरिज ल्याएपनि पछिल्ला वर्ष यो ‘ट्रेन्ड’ ह्वात्तै मौलाएको पाइन्छ ।

‘कुनै गीत चल्यो भने एक त स्रोता–दर्शकले पनि त्यसको अर्को भाग कस्तो आउला भनेर प्रतिक्षा गरिरहेका हुन्छन्’ लोकगायक खुमन अधिकारी भन्छन् ‘चलेका गीतको अर्को भाग ल्याउँदा स्रोता एवं दर्शकले पनि नोटिस गर्छन् । सोही कारण सिरिज आईरहेजस्तो लाग्छ ।’

आफूले दर्शक स्रोताको चाहाना अनुसार (यो मान्छे चिन्छौं–कोरोना लाछैन्)को भाग २ ल्याउने तयारी गरेको उनले बताए । यद्यपी पहिले चलेको गीतको अर्को भाग ल्याउँदा चुनौती भने बढी हुने खुमन बताउँछन् ।

गायक दुर्गेश थापा आफूले ‘बीच्च बीच्चमा’लाई भाग–१० सम्म पु¥याउने र सबै गीतलाई हिट बनाउने सोँच अनुसार सिरिज ल्याईरहेको दाबी गर्छन् । चलेको गीतको सिरिज ल्याउनुको अर्को कारण धेरै दर्शकसम्म पुग्ने सम्भावनाको लोभ भने बढी रहने उनी स्वीकार्छन् ।

उनले भने, ‘एउटा गीत चलेपछि त्यसको अर्को भाग कहिले आउला, आएपछि कस्तो होला भन्ने उत्सुकता दर्शकमा हुन्छ । आफ्नो गीत धेरै स्रोता दर्शकमा पुगोस भन्ने एउटा चाहानाले पनि सिरिज ल्याएको हुँ ।’ गायक तिलक वली ‘हङकङको साडीले’ भाग २ ल्याउने पहिल्यैदेखिको सोँच रहेको यसवर्ष त्यो सोँच पुरा गरेको बताए ।

उनले पहिले चलेको गीतलाई दर्शक÷स्रोतामाझ पुर्याउन पनि सहज हुने भएकाले भाग २ रोजेको बताउँछन् । ‘सो आफैलाई मन परेको सिर्जना हो । त्यसलाई स्रोता–दर्शकले पनि निकै रुचाउनुभएको थियो । उहाँहरुलाई त्यसको भाग २ कहिले आउला ? कस्तो आउला भन्ने चासो थियो’ तिलकले भने, ‘चलेको गीतको अर्को भाग ल्याउँदा बढी दर्शकमाझ पुग्ने अपेक्षा पनि हुँदोरहेछ । आफैलाई मन परेको र स्रोता दर्शकको माग रहेको हुनाले अहिले भाग २ ल्याएको हुँ ।’

तर सुरुको जस्ता छैनन् सिरिज

कलाकारहरु तीज गीतको सिरिजमा लागेपनि पहिलो गीतजस्तै हिट हुन सकेका छैनन् । दुर्गेशको पहिलो गीत ‘बीच्च बीच्चमा’ निकै चलेको गीत हो । तर, त्यसपछाडिका गीतहरु सो गीतजति चल्न सकेनन् । त्यस्तै निकै चलेको ‘हङकङको साडीले’को तुलनामा यसको भाग २ ‘हङकङको साडीले २–कुर्ता’को चर्चा कम भयो । ‘हङकङको साडीले’ १ करोड ३८ लाख भ्यूज पाउँदा यसको दोस्रो भागको भ्यूजको गति निकै कम छ ।

यता खेम र कमलाको ‘लरिलरिलै’ भाग २ पनि पहिलो भागजस्तै चर्चित भएन् । गतवर्ष सार्वजनिक ‘लरिलरिलै’ले युट्युबमा १ करोड ३६ लाख बढी भ्यूज पाउँदा दोस्रो भागको भ्यूजको गति सुस्त देखियो । यता पशुपति र सम्झनाको रि–रेकर्ड गरिएको ‘मेरो माया बसेको गाउँमा’ तीज गीतको भ्यूज पनि सुस्त गतिमा बढीरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment