Comments Add Comment

७० लाखमा कार किनेपछि पुष्प भन्छन्–‘सपना पुरा हुँदैछ’

नेपाली चलचित्र क्षेत्रमा नायक पुष्प खड्काको व्यस्तता दिनप्रतिदिन बढिरहेको छ । कोरोनाको कारण केही महिनादेखि चलचित्रको काम ठप्प भएपनि पुष्प म्यूजिक भिडियोमा व्यस्त छन् । उनै, पुष्प खड्काले सोमबार ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । सेतो रंगको कार खरिद गरेपछि पुष्पले अनलाइनखबरसँग भने–‘मैले यो क्षेत्रमा आउनु अगाडि केही सपनाहरु देखेको थिएँ । ती, सपनाहरु विस्तारै पुरा हुँदैछन् ।

काठमाडौंमा लामो समय बाइक चढेका पुष्पले भने–‘नेपाली मनोरञ्जन दुनियाँमा लागेर पनि आफूले सोचेका कुराहरु पुरा गर्न सकिन्छ । यसका लागि मिहिनेत र आफूमा विश्वास भने हुनुपर्छ ।’ पुष्पले चलचित्र क्षेत्रमा काम गरेरै कैलालीमा घर समेत बनाइसकेका छन् ।

उनले भने–‘मलाई दर्शक र मेकरले रुचाइदिनुभएको छ । उहाँहरुको विश्वासलाई कहिले पनि कम हुन दिन्नँ ।’ कैलालीमा जन्मिएका पुष्पले चलचित्र क्षेत्रमा आफूलाई स्थापित गराउनका लागि निकै संघर्ष गरेका छन् । म्यूजिक भिडियो हुँदै चलचित्रमा आएपनि उनको सुरुवाती दिन भने सुखद रहेन । पुष्पले ‘अझै पनि, दर्पण छाया’ लगायतका चलचित्रमा काम गर्दा उनी सफल भएनन् । उनको करिअरलाई चलचित्र ‘मंगलम’ले बदलिदियो ।

यो चलचित्रमा अभिनय गरेपछि भने पुष्पलाई पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ रिलिजको क्रममा छन् । उनलाई चलचित्रको अफरमा कुनै कमी आएको छैन । कुनै समय चलचित्र पाइन्छ कि पाइदैन भन्ने अवस्थामा रहेका पुष्प अहिले चलचित्रलाई समय दिन नभ्याउने अवस्थामा पुगेका छन् ।

मनोरञ्जन क्षेत्रमा कहिलेकाही समस्या उत्पन्न भएपनि यो क्षेत्रको विकल्प आफूले नसोचेको उनको भनाई छ । पुष्पले आफूले यही क्षेत्र भित्र नै विभिन्न विकल्पहरुको खोजी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment