Comments Add Comment

मिटर रिडिङ नगरी २० प्रतिशतसम्म जरिवाना असुलेको विद्युत उपभोक्ताको गुनासो

४ साउन, गोरखा । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले मनपरी ढंगले महसुल असुल गरेको स्थानीयले गुनासो गरेका छन् । निषेधाज्ञा अवधिको दुई महिना मिटर रिडिङ गर्न नगएको प्राधिकरणले जरिवाना शुल्क भन्दै ग्राहकसँग महसुलको २० प्रतिशतसम्म जरिवाना असुल गरेको पाइएको छ ।

गोरखा नगरपालिका–५ पस्लाङमा कृषि फर्म सञ्चालन गरेका सुमन श्रेष्ठले गत फागुनमा फर्ममा विद्युत जडान गरे पनि हालसम्म मिटर रिडिङ गर्न नआएको बताए । असार २३ गते पहिलो पटक मिटर रिडिङ गर्न आएको तर महसुल तिर्न जाँदा २० प्रतिशतसम्म जरिवाना लिएको उनको गुनासो छ ।

‘पहिलै मिटर रिडिङ गर्न आएको भए हामी महसुल तिर्न जान्थ्यौं, मिटर रिडिङ गर्न पनि नआउने अनि अहिले गएका महिनाको पनि जरिवाना लिने ?’ उनले भने ।

पस्लाङका रामबहादुर थापाले पनि विद्युत महसुल तिर्न जाँदा जरिवाना तिनुपरेको बताए । ‘वैशाख महिनादेखि मिटर रिडिङ गर्न आएको छैन, फेरि निषेधाज्ञाको बेला घरबाट निस्किन मुस्किल थियो । कसरी शुल्क तिर्न जाने ? अहिले असारमा तीन महिनाको बिल एकै पटक आयो, तिर्न जाँदा अघिल्ला महिनाको पनि जरिवाना असुल गर्‍यो,’ थापाले भने । निषेधाज्ञाको समयमा छुट दिनुको सट्टा उल्टो जरिवाना असुल गरेको उनको गुनासो छ ।

प्राधिकरण गोरखा वितरण केन्द्रले वैशाख र जेठ महिनाको मिटर रिडिङ गर्न नसकेको स्वीकार गरेको छ । ‘वैशाखदेखि असार १५ सम्म मिटिर रिडिङ गर्न सकेनौं,’ कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले भने, ‘तर अघिल्लो वर्षको सोही महिनामा जति महसुल उठेको थियो त्यही आधारमा रकम तिर्न सक्ने व्यवस्था थियो।’

असार २९ गतेसम्म महसुल तिर्न आउनेलाई जरिवाना नलिएको उनले बताए । राजश्वको कुरा भएकाले आफूहरुले केही गर्न नसक्ने भन्दै उनले भने, ‘गुनासो गर्नुहुने ग्राहकलाई निवदेन दिनु भनेका छौं, उहाँहरुको निवदेन संकलन गरेर हामी माथि पठाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment