+
+
चक्रीय नेपाली राजनीति :

देउवाका भेरिएन्ट ओली, ओलीका भेरिएन्ट देउवा

गणेश कार्की गणेश कार्की
२०७८ साउन ५ गते ७:४६

मैले भर्खरै एउटा अंग्रेजी श्रृंखला हेरेर सिध्याएँ । अन्तिम दृष्यमा खलनायकलाई नायिककाले छुरी रोपेर मारिदिन्छे ।

“तिमीहरु यहाँ ‘दानव’लाई मार्न आएका हौ, होइन ? तर पत्याउ, मैले तिमीहरुलाई सुरक्षित राखेको छु । र, यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।” मर्नुभन्दा ठीक अगाडि खलनायकले भनेको हुन्छ, “तिमीहरुले तानाशाहलाई घृणा गर्न सक्छौ तर टाढाको कुनै ऊभन्दा पनि खराबले त्यो खाली ठाउँ भर्छ, जुन तिमीहरुले भइरहेको तानाशाहलाई हटाएर बनाउँछौ ।”

मलाई त्यो भनाइ यस्तो लाग्यो कि मानौँ, टिभी श्रृंखलामा त्यो भनिएकै होइन । मानौँ, ऊ त्यो हो, जसलाई केही दिन अगाडि सर्वोच्चले प्रधानमन्त्रीबाट अपदस्थ गरेको छ र आफूलाई अपदस्थ गर्न हस्ताक्षर गर्ने सांसदहरुतिर, फैसला सुनाउने अदालततिर, आफ्नाविरुद्धमा आन्दोलन गर्नेहरुतिर र आफ्नाविरुद्धमा समाचार लेख्नेहरुतिर हेरेर कसैले भन्दैछ ।

प्रस्ट भन्छु, मैले ल्यापटपको स्क्रिनमा बालकोनीबाट भाषण गर्दै गरेका केपी ओलीका ओठहरु चलेको देखेँ । सायद समाचार बनाउन छुटेको हुन सक्छ, सायद ओलीले मनमै राखेका हुन सक्छन्, तर उनले पनि भन्नै पर्ने हो, ”मलाई हटाएर खुसी हुनु बेकार छ । म हटेको ठाउँ भर्न र तिमीहरुलाई शासन गर्न मभन्दा खराब अर्को तयार छ ।”

पदबाट हटेको झ्वाँकमा निस्किएको बर्बराहट पत्याउनु कसरी ?

तर नपत्याउनु कसरी ?

ओलीपछि प्रधानमन्त्रीमा देउवा आउने बित्तिकै गच्छदार धरौटीमा रिहा भएको र आलमको गाउँमा आलमको चुरिफुरि बढ्दै गएको समाचार आँखै अगाडि आइबस्छ । त्यो संयोग मात्रै कसरी मान्नु ? अनि फेरि खलनायकको त्यो संवाद पुन: कानैमा दोहोरियो, “यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।”

देउवाप्रतिको (अ)विश्वास

नेता बन्ने जनताको विश्वासले हो । एकछिन जनतालाई छोड्ने हो भने पनि नेता बन्न कार्यकर्ताको विश्वास पहिलो सर्त हुन्छ । नेतालाई कम्तिमा कार्यकर्ताले विश्वास गरेको हुनैपर्छ तर सामाजिक सञ्जाल चहार्दै गर्दा प्रस्ट देखिन्छ, देउवाप्रति उनका कार्यकर्ता स्वयम विश्वस्त छैनन् । कार्यकर्ताकै अनुमानमा पनि देउवा माइन बिछ्याएको मैदानमा हिडिरहेका सिपाही हुन्, जसले अकारण नै जानीजानी खुट्टा कुनै पनि बेला माइनमा पारिदिन सक्छन् र विष्फोट गराइदिन सक्छन् । यो उनको चारित्रिक विशेषता हो ।

जब सर्वोच्च बोल्यो, तब ओली बालुवाटरबाट फ्यालिएर बालकोटको बार्दलीबाट बोल्न पर्‍यो र देउवाले बुढानीलकण्ठ छोडेर बालुवाटारबाट बोल्न पाउने अवसर पाए

यो अविश्वासको आर्जनका लागि देउवाले विगतमा धेरै कष्ट सहेका छन् । माओवादी विद्रोहको जग बसाल्ने भागिदारी पनि उनकै भागमा पर्छ । सांसद किनबेच, सांसदलाई प्राडो पजेरो सुविधाको सुरुआत उनकै मगजको उपज हो । संसद विघटन गरेर जनमतको धुस्नो उडाउने अभ्यास उनले विगतमा गरिसकेका छन् । प्रजातन्त्रलाई किस्तीमा राखेर दरबारमा बुझाउदै गर्दा किस्ती देउवाकै हातमा थियो ।

देउवाको विगतका पराक्रमले नै हो, फरार गच्छदार जमानतमा रिहा हुन अदालत पुग्ने सामर्थ्य राख्ने । देउवाकै विगतको संघर्षको तेजले नै हो, जिउँदै मान्छेहरुलाई इँटाभट्टामा पोलेको आरोप लागेका आलमहरु सग्बगाउनलाई ऊर्जा पाउने । उपन्यास ‘द अलकेमिस्ट’मा एउटा पात्रले भन्छ, “जुन कुरा एक पल्ट हुन्छ, त्यो दोस्रो पल्ट नहुन सक्छ । तर जुन कुरा दोस्रो पल्ट पनि हुन्छ, त्यो तेस्रो पल्ट हुन्छ हुन्छ ।”

हामी उपन्यासको त्यो पात्र जस्तो अन्धविश्वासी त नहौँला तर धेरैलाई देउवाबाट अकारण पनि हुन सक्ने गडबडीप्रति धेरै हदसम्म विश्वास छ । उनीबाट पुरानै राजनीतिक कुसंस्कारको निरन्तरता हुनेमा प्राय: निश्चित नै छौँ ।

के हामीलाई ओलीको भार बिसाउँदै गर्दा देउवाको बारेमा थाहा थिएन र ? पक्कै पनि थाहा थियो ।

त्यसो भए किन देउवा नै त ? किनकि हामीलाई विकल्पहरु नै दिइँदैन । ओलीको विकल्पमा देउवा र देउवाको विकल्पको ताँतीमा केही नेताहरु पछि फेरि ओली । हामी एउटा वृतमा घुमिरहेका छौँ । विकल्पमा पुग्न पनि वृतको कुनै विन्दुबाट प्रवेश पाउनु पर्छ र त्यतिबेलासम्म पर्खिएर बस्नु पर्छ, जबसम्म विकल्प दिने मान्छे स्वयम् त्यही हटाउनु पर्ने मान्छे जस्तो भइसक्दैन । सोही नियम अनुसार देउवा नभए प्रचण्ड हुन सक्थे । अहिले देउवा प्रधानमन्त्री भइसकेकाले प्रचण्ड हाम्रो ध्यानबाट अलि पर पुगेका मात्रै हुन् । नत्र प्रचण्ड प्रति देउवा झैँ (अ)विश्वास गर्नु पर्ने पनि झन्डै उति नै कारणहरु छन् ।

बितेका केही महीनामात्रै हेर्ने हो भने पनि देखिन्छ, नेपाली राजनीति रस्साकस्सीपूर्ण रह्यो । भनाभन, पक्ष विपक्ष र तर्कको माहौल बन्यो । कसैले थोरै समय बोल्न पाए, कसैले धेरै समय बोले । कसैले बोल्दा ताली पाए, कसैले गाली पाए । कसैले बोलीमात्रै रहे, कसैले वास्ता गरेन । अन्त्यमा जब सर्वोच्च बोल्यो, तब ओली बालुवाटरबाट फ्यालिएर बालकोटको बार्दलीबाट बोल्न पर्‍यो र देउवाले बुढानीलकण्ठ छोडेर बालुवाटारबाट बोल्न पाउने अवसर पाए ।

तर श्रृंखला सकिएको छैन

खेलको श्रृंखला निक्कै लामो समयदेखि चलिरहेको छ । चक्रवतरुपमा । हामी परिधिको कुनै विन्दुमा उभिएका छौँ र त्यहाँबाट जो निकट आउँछ, त्यसलाई बढी देख्छौँ अनि त्यसकै आधारमा आफ्ना दृष्टिकोणहरु तय गर्छौँ तर पात्रहरु उनै घुमिरहेछन् । जबसम्म तपाईंले यो पूर्णचक्र देख्नु हुन्न र यो चक्रमा विश्वास गर्नुहुन्न, तबसम्म तपाईंले राजनीति चक्रको परिधिको एउटा विन्दुमा अडिएको थाहै पाउँनु हुन्न ।

संसदमा देखिएको राष्ट्रवाद, सहमति र धोका सबै क्षणिक मात्रै हुन् । दुईटा पार्टीहरु एकता गरेर हवाईजहाज बनाइयो भन्दै आफैंलाई पाइलट घोषणा गरेकाहरु पार्टी फुटाएर लाखापाखा लागेका छन् तर त्यसपछि एक भएकाहरुको अनुहार नियाल्दा देखिन्छ, कुनै बेलाका यी यति विपरीत थिए कि एकअर्काको टाउकोको मोल सम्म तोक्ने गर्थे । आगतमा कुनै सत्ताको हिसाबमा यो गठबन्धन टुटेर फेरि भर्खरै टुटेको गठबन्धन जागृत हुँदैन भन्न सक्ने आधार तिल जति पनि छैन ।

प्रचण्ड भनिरहन्छन्, “राजनीति सम्भावना खेल हो ।” देउवाको नजरमा राजनीतिमा स्थायी मित्र र शत्रु कहिलै हुँदैन । ओलीलाई फेरि ५० वर्ष नेपालमा कम्युनिष्टको शासन गर्न दुईतिहाइ चाहिन सक्छ । स्वभावत: यो चक्रमा पात्रहरु कहिले कुन दिशामा र कहिले कुन दिशामा परिरहन्छन् । एकले अर्काको लागि आफू हटेर, गिरेर र सिद्दिएझैँ गरेर फेरि अर्कोको लागि स्थान बनाइदिरहन्छन् । नत्र दुई तिहाइको विश्वास जितेर पदासिन भएका ओलीलाई पछार्दै देउवाले त्यही संसदमा उपस्थितको संख्यामा एकजना कमले मात्रै दुईतिहाइ मत ल्याउने अवस्था कसरी बन्छ ?

यो कसैले लेखेर कुशलतापूर्वक अभिनय गरिएको होइन तर उनीहरु यसमा यति अभ्यस्त छन् कि लेख्दै नलेखी पनि आफ्नो भूमिकाप्रति न्याय गर्न सक्छन् । जनताप्रति सत्य जस्तै प्रतित हुने बहानासहित अन्याय गर्न सक्छन् । यसैले त बालकोट पुगेका ओली आफ्नै बार्दलीबाट तेस्रो पल्ट बालुवाटार पुग्ने पृष्ठभूमि बनाउन थाल्छन् ।

यसरी हेर्ने हो भने देउवा आफू ओलीका भेरिएन्ट बन्छन्, ओली कुनै बेला देउवाका भेरिएन्ट बन्छन् । अथवा बीचमा अर्को नेता नयाँ भेरिएन्टका रुपमा आउँछ । उही चक्र चल्छ अनि एकअर्काको अस्तित्व जोगाइराख्छन् तर भन्न चै छोड्दैनन्, “यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।”

सधैं यस्तै नै हो त ?

कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । नैतिक दृष्टान्त कवितामा लेखनाथ पौडैलले यी पंक्तिहरु लेखेका थिए । त्यो पहिलैको कुरा भयो । प्रधानमन्त्री शेरबहादुर देउवा हिँड्ने बाटो खाली गर्न सुरक्षाकर्मीले हिजोका शक्तिशाली पूर्वप्रधानमन्त्री केपी ओलीलाई भीडसँगै छेक्दै थिए । टिभी र समाचारमा देखियो । यो अस्तिको कुरा भयो । शक्ति हातमा परेपछि अधिकतमले प्रतिपक्षमा हुँदाका आफ्नै आदर्श बिर्सिदा रहेछन् । नेपालमा यो जहिलैको कुरा भयो ।

स्थायी त केही पनि छैन । यो स्वभाव पनि सधैं नरहला तर सधैं यस्तै भइरहन नसक्ने आधार कम्तिमा अहिले देखिएको छैन । हाम्रो मिश्रित निर्वाचन प्रणालीले सधैं यस्तै खेल भइरहन सक्ने मैदान बनाइदिएको छ । यस पल्ट देउवाले विश्वासको मत पाएर अलिपछि चुनाव हुने निश्चित भए पनि वा देउवाले विश्वासको मत नपाएर तत्कालै चुनाव हुने भएको भए पनि कथानकमा खासै फरक पर्दैन थियो ।

यो देशमा केही हुन सक्दैन भनेर निराशाका शब्दहरु होइनन् । यसरी नै चै केही फरक हुन सक्दैन भन्ने स्वीकारोक्ति हो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन्सले कुनै बेला भनेका थिए, “फरक नतिजाको आशामा उही कुरा उसरी नै दोहोर्‍याइराख्नु मुर्खता मात्रै हो ।” हामी अस्थायी शान्तिका लागि कामना गर्न सक्छौँ कि देउवा यसपालि चै ‘देउवा जस्ता’ नबनून् ।

तर स्थायीरुपमा यस्तै भइरहन रोक्न कोशिस गर्ने हो भने, १. कार्यकालमा हदबन्दी लगाउनु पर्छ । २. मिश्रित निर्वाचन प्रणालीबाट समानुपातिक व्यवस्था हटाउनु पर्छ । ३. समानुपातिक जस्तो विशेष समतामुलक साधन कायम राख्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छ ।

तपाईंले पूरा लेख पढेर यहाँसम्म आइपुग्नु भयो भने तपाईंलाई वाक्क लागिसकेको पनि हुन सक्छ र, सोध्न मन भएको हुन सक्छ, ‘अब फेरि अर्को राजनीतिक परिवर्तन ? सधैं लोकतन्त्र सुधार्न भनेर दिमाग लगाइराख्नु पर्ने किन ?’

किनकि, लोकतन्त्र यस्तै हुन्छ, संवेदनशील, ध्यान खोज्ने (एटेन्सन सिकर), मर्मत सम्भार गरिराख्नु पर्ने । दुरुस्तै हाम्रो घर जस्तो ।

लेखकको बारेमा
गणेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?