
५ साउन, वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् ।
बौद्ध र हिन्दु धर्मावलम्बीहरुले घडीको सुल्टो दिशामा आफ्नो धार्मिक स्थलहरुको परिक्रमा लगाउने कार्यलाई कोरा भनिन्छ । नेपालमा कोरा साइकिलिङ सन् २०११ मा काठमाडौंका टुर्स एण्ड ट्राभल एजेन्सीहरुले गरेका थिए । साइकल सिटी नेटवर्क नेपालले काठमाडौंमा कोरा साइकिलिङ च्यालेन्ज नै आयोजना गर्ने गरेको छ ।
एक जर्मन नागरिकले २०१० जुलाईमा साइकलमा काठमाडौंको एक राउण्ड लगाइसकेपछि ‘कोरा साइकिलिङ’ भनेका थिए । त्यसपछि नेपालका विभिन्न स्थानका साइकल यात्रीले यसलाई निरन्तरता दिँदै आएको पाइन्छ ।
वीरगञ्जमा भने पहिलो पटक कोरा साइकिलिङ गरिएको वीरगञ्ज साइकिलिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए । कोभिड महामारीका कारण लामो दूरीको यात्रा नगरिएको उनले बताए ।
‘घण्टाघरबाट मुख्य सडक हुँदै उत्तरतर्फ चिनीमिल आवास क्षेत्रसम्म पुग्यौं, त्यहाँबाट पूर्व बाइपास सडक निस्किएर भानुचौक हुँदै दक्षिणमा रजत जयन्ती चोकसम्म गयौं । त्यहाँबाट पुनः उत्तर मकालु होटल चोकसम्म आएर यात्रा समापन गर्यौं,’ उनले भने ।
साइकिलिङमा प्रदेश ट्राफिक कार्यालय प्रदेश २ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ लगायत ६ जना महिलासहित २५ जना सहभागी भएका थिए ।
प्रतिक्रिया 4