Comments Add Comment

घिमिरेलाई विद्युत् उत्पादन कम्पनीमा प्रमुखका रूपमा काम गर्न रोक

६ साउन, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रवन्ध सञ्चालक (कार्यकारी प्रमुख) अनन्तराज घिमिरेलाई प्रवन्ध सञ्चालकका रुपमा काम गर्न रोक लगाएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिएको छ । सो अवधिसम्म घिमिरेलाई कार्यकारी प्रमुखको हैसियतमा गर्ने काम गर्न रोक लगाइएको कम्पनी स्रोतले जनाएको छ ।

घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको थियो  ।

मध्यपश्चिम विश्वविद्यालयबाट अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनीमा राजनीतिक नियुक्ति लिएको समाचार अनलाइनखबरमार्फत् सार्वजनिक भएपछि घिमिरे निलम्बनमा परेका हुन् ।

‘उहाँले आफ्नो कुनै कमजोरी नरहेको र पुष्ट्याइँका लागि आवश्यक कागजात ल्याउँछु भनेपछि सञ्चालक समितिले केही समय उहाँलाई काम गर्न रोकेर समय दिएको हो,’ एक सञ्चालकले भने, ‘उहाँले दावी गरेजस्तो नपाइए कारवाहीका लागि थप निर्णय हुन सक्छ ।’

अन्य विश्वविद्यालयबाट पनि विदा लिएर अन्यत्र जागिर खाइरहेका केही प्राध्यापकहरुको उदाहरण प्रस्तुत गर्दै घिमिरेले आफू योग्य भएको दावी सञ्चालक समितिमा पेश गरेका छन् ।

तर, सञ्चालकहरुले भने मध्यपश्चिम विश्वविद्यालयको नीति र घिमिरेले लिइरहेको हुनसक्ने सुविधाबारे चासो राखेपछि अर्को निर्णय नभएसम्म घिमिरेले प्रवन्ध सञ्चालकका हैसियतमा काम गर्न नपाउने गरी निर्णय भएको छ ।

ऊर्जा मन्त्रालय स्रोत भने घिमिरेले राजनीतिक शक्तिका आडमा सञ्चालक समितिलाई पनि दबावमा पारिसकेको बताउँछ । ‘दोहोरो सुविधा लिएकोबारे विश्वविद्यालयले मन्त्रालयलाई सोधेपछि अब यो मुद्दा मिलाउन उच्च राजनीतिक शक्तिको प्रयोग गर्न खोजिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

यो पनि पढ्नुहोस अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment