६ साउन, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा ३ महीनादेखि भद्रगोल अवस्थामा छाडिएको खाल्डोले ऐतिहासिक दरबारको जगमा क्षति पुर्याउने जोखिम बढेको छ ।
दरबार परिसरको ढल निकासका लागि खनिएको खाल्डोले दरबार क्षेत्रलाई कुरुप मात्रै बनाएको छैन आउजाउ गर्ने स्थानीयलाई समेत समस्या परेको छ ।
गत वैशाखबाट शुरु गरिएको दरबार क्षेत्रभित्रको ढल निकासको काम कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनमा नै रोकिएको थियो । आयोजनामा कार्यरत २६ कर्मचारीमध्ये २१ जनामा कोरोना संक्रमण भएपछि वैशाख पहिलो सातादेखि जस्ताको त्यस्तै काम छाडिएको थियो ।
‘स्योरेज नेटवर्क (जमिनमुनिबाट ढलनिकास) सुधारका लागि खनिएको खाल्डो हो त्यो’ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले भन्छन् ‘काम गर्दागर्दै कोरोनाका कारण निषेधाज्ञा सुरु भएपछि काम रोकेका हौं, त्यसले दरबारलाई जोखिममा पारेको भए इन्जिनियरले खबर गर्नुपर्ने हो, अहिलेसम्म गरेका छैनन् ।’
निर्देशनालयले मूल दरबार क्षेत्रभित्र पाइप राख्ने विषयमा पुरातत्व विभाग, ललितपुर महानगरपालिका र युनेस्कोसँग समेत समन्वय गरेर सबै क्षेत्रका प्रतिनिधिलाई साथमा राखेर काम अघि बढाएको श्रेष्ठले जानकारी दिए ।
अहिले ललितपुर महानगरपालिका र निर्देशनालयको संयुक्त पहलमा कुमारीपाटी चोकबाट बगेको भलबाट ललितपुर महानगरमा पर्नसक्ने क्षति रोक्नको लागि भूमिगत पाइप राख्ने काम चलिरहेको छ । आयोजनाका अनुसार करिब १ मिटर परिधि रहेको पाइप कुमारीपाटी चोकदेखि शंखमूलसम्म बिछ्याउने काम चलिरहेको छ । जुन यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी आयोजनाको छ ।

वागमतीबाट ५०० मिटरमाथि रहेको शंखमूलसम्म भने साढे १ मिटरको हिम पाइप राखिसकिएको निर्देशनालयले जनाएको छ । पाटन दरबार क्षेत्रमा पनि प्लास्टिकको पाइप राख्नको लागि खाल्डो खनिएको श्रेष्ठले बताए ।
यो आयोजना गत आर्थिक वर्षको असोजमा सम्झौता भएर मंसिरदेखि काम सुरु भएको थियो । झण्डै ७० करोड बजेट विनियोजन गरिएको यो आयोजना चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
लापरबाहीले जोखिममा पाटन दरबार
अहिले दरबार क्षेत्रभित्र खनिएको खाल्डो पाटन दरबार क्षेत्रको मूल दरबार वा हालको म्युजियमको सम्मुखमा छ । दरबारको भित्ताबाट मुस्किलले २ मिटरको दूरीमा खाल्डो खनेर पानी जमाइएकोले ऐतिहासिक दरबारमा जोखिम बढेको सरोकारवालाहरु बताउँछन् ।
पुरातत्व विभागको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयकी निमित्त कार्यकारी निर्देशक शारदा शिवाकोटी बर्खा अघि नै पुर्नुपर्ने खाल्डो समयमा नपुर्दा जमेको पानीले दरबारको जगमा क्षति पुग्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गर्छिन् । ‘यो काम हामी सबैको संलग्नतामा गरिएको हो । तर समयमा खाल्डो नपुर्दा जमेको पानीले दरबारको जगमा असर गर्ने हो कि भन्ने चिन्ता बढ्यो ।’ शिवाकोटी भन्छिन् ‘पहिलेको दरबारमा अहिलेको जस्तो सिमेन्ट नहुने हुँदा जमेको पानी छिर्नसक्ने भएकोले यसलाई बर्खाअघि नै पुर्नुपर्ने हो ।’
त्यस्तै, चिन्ता स्थानीयको पनि छ । सँगैको भीमसेन मन्दिर पुनर्निर्माणको संयोजन गरिरहेका स्थानीय रविन कपाली लामो समयसम्म खाल्डो नपुरिँदा राति हिँडडुल गर्न र भीमसेन मन्दिरको लागि सामान ओसारपसार गर्न समेत समस्या भएको गुनासो गर्छन् ।
उनले आयोजनाका इन्जिनियरहरुलाई पटक पटक भन्दा पनि कुनै सुनुवाइ नभएको आरोप लगाए । ‘असारको पहिलो साता पानी आउँदादेखि नै हामीले खाल्डो पुर्न आग्रह गर्यौं, अहिले एक महिनापछि बल्ल २ जना मान्छे पठाएका छन्’ कपालीले अनलाइनखबरसँग भने ‘जमेको पानीले दरबारको जग जोखिममा पा¥यो भनेर म्युजियमका प्रमुखलाई पनि भनेको, कसैले सुन्दैनन् ।’
त्यस्तै, स्थानीय शिवेश शर्मा पुरातात्विक क्षेत्रमा यसरी खाल्डो छाड्दा पुराना मक्किएका इँटाले बनेको दरबारमा क्षति पुग्ने जोखिम बढेको बताउँछन् । ‘अहिले नै १/२ ठाउँमा भासिन सुरु भइसकेको छ’ शिवेश भन्छन् ‘अझै यसलाई नपुर्ने हो भने यसले थप क्षति पुर्याउन सक्छ ।’
जात्रा गर्ने बाटो समयमा नबन्ने चिन्ता
सरकारले कोरोना भाइरस महामारीका कारण जात्रा पर्वमा रोक लगाएको छ । तर अबको करिब एक महिना( भाद्र कृष्ण नवमीको दिन) पछि रहेको ललितपुरकै दोस्रो ठूलो भीमसेन जात्राको समयसम्मै यो भद्रगोल अवस्था रहने हो कि ? भन्ने स्थानीयको चिन्ता छ ।

सो जात्राको क्रममा ठूलो खट बोकेर सोही बाटो यात्रा गर्नुपर्ने हुन्छ, त्यसबाहेक पनि गाईजात्रा लगायतका कैयौं जात्रा पर्वमा यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । तर सो बेलासम्म यो बाटो नबन्ने हो कि भन्ने चिन्ता आफूहरुमा रहेको कपाली र शर्मा बताउँछन् ।
‘स्वर्णद्वारअघिको चारकुने ढुंगादेखि समग्र यो बाटो नै हरेक जात्राको लागि महत्वपूर्ण मार्ग हो’ शर्मा भन्छन् ‘यदि स्वास्थ्य मापदण्ड पालना गरेर जात्रा पर्व सञ्चालन गर्न दिने निर्णय भयो भने हामीलाई यो खाल्डोले असर गर्छ, त्यसैले यो तत्काल पुर्नु जरुरी छ ।’
उता, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख श्रेष्ठ भने यो आयोजनामा एसियाली विकास बैंकको समेत लगानी रहेको भन्दै बर्खाको समयमा कुनै पनि काम नगर्ने नीति अनुसार साउनपछिमात्रै त्यहाँको काम सुरु हुने बताउँछन् ।
स्थानीयको आस्थामा आफूहरुले कुनै समस्या सिर्जना गर्न नमिल्ने भन्दै श्रेष्ठले महानगरपालिका समेत साझेदार रहेकोले जात्रा गर्ने अवस्था आयो भने त्यतिबेलासम्म जसरी पनि काम सक्ने गरी अघि बढ्ने श्रेष्ठको भनाइ छ । दरबार क्षेत्रमा वर्षेनि आउने भलका कारण हुन सक्ने जोखिम कम गर्न ललितपुर महानगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको श्रेष्ठ बताउँछन् ।
तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4