Comments Add Comment

मेची भन्सारमा लक्ष्यभन्दा करीब ८ प्रतिशत बढी राजस्व संकलन

७ साउन, झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु १३ अर्ब तीन करोड राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट सङ्कलन भएको राजश्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ ।

कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७६-७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रु आठ अर्ब ३५ करोड राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रु १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ ।

निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंची रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रु छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रु तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment