Comments Add Comment

कास्कीमा फेरि बढ्यो कोरोना संक्रमण

फाइल तस्वीर

७ साउन, पोखरा । कास्कीमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कास्कीमा २७४ जना संक्रमित थपिएका छन् । कास्कीका ४६६ जनामा परीक्षण गर्दा ५० प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार बिहीबारसम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर १ हजार २६८ पुगेको छ । असार १४ गते जोर बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्ने निर्णय हुनुअघि यो संख्या ५३२ रहेको थियो ।

कास्कीमा मात्रै नभई लकडाउन खुकुलो भएपछि प्रदेशभर सक्रिय संक्रमितको संख्यामा दोब्बर वृद्धि भएको निर्देशनालयले जनाएको छ । निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको दिन गण्डकीमा २ हजार ७०६ जना सक्रिय संक्रमित थिए । तर, अहिले उक्त संख्या बढेर २ हजार ९२२ पुगेको छ ।

प्रदेश निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा बिहीबारसम्म सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । गण्डकीकै नवलपरासी पूर्वमा ४२८ जना सक्रिय संक्रमित छन् । गण्डकीमा हालसम्म १ हजार ४४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याँ भयो : निर्देशनालय

प्रदेश स्वास्थ्य निर्देशनालयले निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा संक्रमण दर उकालो लाग्न थालेको बताएको छ । निर्देशनालय प्रमुख खिमबहादुर खड्काले निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालनामा पनि कमी आएको बताए ।

‘निषेधाज्ञा खुकुलो भएपछि मास्क पनि लगाउन छाडिएको छ । घुलमिल उत्तिकै बढेको छ,’ प्रमुख खड्काले भने, ‘पछिल्लो समय खोप लगाइसकेको भनेर खुला हिंड्नाले पनि संक्रमण झनै बढेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment